रि-पोलिसिङको हल्ला चलेको चामल खानयोग्य पुष्टि भएपछि बिक्री खुला
सुर्खेत - रि–पोलिसिङ गरेर पठाइएको भन्दै बिक्री वितरणमा रोक लगाइएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि बिक्री गर्ने भएको छ । सो चमालको नमूना परीक्षण गर्दा गुणस्तरीय पाइएपछि बिक्री खुला गरिएको हो ।
काठमाडौं थापाथलीस्थित कम्पनीको गोदाममा कुहिएको चामललाई ‘रि पोलिसिङ’ गरी सुर्खेत पठाइएको भन्ने सूचना आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले उक्त चामलको बिक्री वितरणमा रोक लगाएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डिभिजन कार्यालय सुर्खेतलाई उक्त चामलको ल्याब परीक्षणका लागि नमूना संकलन गर्न निर्देशन दिएपछि संयुक्त अनुगमन टोली सुर्खेतले चामलको नमूना संकलन गरी नेपालगञ्जस्थित प्रयोगशालामा नमूना पठाई गरिएको परीक्षणमा चामल खानयोग्य रहेको रिपोर्ट पाइएपछि आइतबारदेखि बिक्री खुला गरिएको हो ।
खाद्यको डिभिजन कार्यालय सुर्खेतले शुक्रबार कम्पनीको सुर्खेतस्थित प्रादेशिक कार्यालयमा रहेको १ हजार ९ सय ७५ क्विन्टल बासमती चामल नेपालगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा खानयोग्य पुष्टि भएपछि बिक्री खुल गरिएको कार्यालयका लेखा सहायक विनोद पौडेलले जानकारी दिए । ‘काठमाडौंबाट आएको चामल सडेको भन्ने सूचनाका आधारमा सिल गरिएको थियो’ पौडेलले भने, ‘उक्त चामल प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरीय भएको पाइएकोले भोलिदेखि बिक्री गर्न लागेका हौं ।’ उनले असोज ६ गते बिक्री वितरणमा रोक लगाइएको उक्त चामलको प्रयोगशालामा परीक्षण गर्दा मिसावट नभएको र खानयोग्य पाइएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया