अर्थ / बाणिज्य

सामाजिक व्यवसायबारे विश्व शिखर सम्मेलन शुरु, नेपाल फोरम मंगलबार

इकागज |
कात्तिक २१, २०७८ आइतबार ७:५० बजे

काठमाडौँ– सामाजिक व्यवसाय विश्व शिखर सम्मेलन,२०७८ को अवसरमा १४ देशमा राष्ट्रिय फोरमको आयोजना हुने भएको छ । विश्व शिखर सम्मेलन केन्याको नैरोबीमा नोभेम्बर ६ देखि शुरु भएको शिखर सम्मेलन नोभेम्बर १० सम्म चल्नेछ । ‘नयाँ अर्थतन्त्रको विजारोपण गरौंः समय अहिले हो’ भन्ने विषयमा केन्द्रित रहेर भइरहेको यस सम्मेलनको अवसरमा नेपाल लगायत विश्वका १४ वटा देशमा राष्ट्रिय फोरमको आयोजना हुन लागेको हो । 

नेपालमा स्वावलम्बन विकास केन्द्रको आयोजनामा सामाजिक व्यवसाय विश्व सम्मेलन अन्तर्गत कार्तिक २३ गते नेपाल फोरम सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ । फोरम आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठका अनुसार नेपाल फोरममा विशेष गरी वातावरण–मैत्री गाउँ निर्माण अभियान, ग्रामीण क्षेत्रका माध्यामिक विद्यालयहरुमा उद्यमी विकास केन्द्रहरूको स्थापना, यूवा केन्द्रित स्वरोजगार प्रवद्र्धन, अति विपन्न विपन्न लक्षित कर्जा प्रवाह, तीन शून्य (शून्य गरिबी, शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जन)  क्लबको गठन र विकास र शैक्षिक संस्थाहरु र लघुवित्त संस्थाहरु विचको सहकार्यमा ग्रामीण भेगमा यूवाहरु लक्षित स्वरोजगार प्रवद्र्धन लगायतका विषयमा विषयगत विज्ञ सहितको छलफल हुनेछ । 


‘यी विषय मार्फत मुख्यतया तीन शून्यको अभियानलाई योगदान पुर्‍याउने प्रयास रहनेछ,’ श्रेष्ठले भने, ‘नेपाल फोरमलाई विशेष वक्ताको रुपमा नोबेल विजेता प्राध्यापक मोहम्मद यूनुसले सम्बोधन गर्ने कार्यक्रम छ ।’ 

सो फोरमले ११औँ समाजिक व्यवसाय दिवस नेपाल फोरमले पारित गरेको कार्ययोजना कार्यान्वयनबारे पनि छलफल गर्ने उनले जानकारी दिए । नेपाल फोरममा बैंक तथा वित्तीय क्षेत्र, शिक्षा, संचार, वातावरण, युवा, महिला तथा विपन्न समूदायका प्रतिनिधिहरु, उद्योगी तथा व्यावसायीक घराना, गैर सरकारी क्षेत्र, नीतिगत तथा नियामक निकाय लगायत सबै क्षेत्रका सरोकारवालहरुको सहभागिता रहने बताइएको छ । 

विद्यमान आर्थिक प्रणालीले विश्वमा धेरै किसिमका विकृति, विसंगति र असमानताहरु पैदा गरेको भन्दै सामाजिक न्याय, समावेशीकरण र वातावरणमैत्री आर्थिक–सामाजिक विकासमा यो फोरमले जोड दिने संयोजक श्रेष्ठको भनाई छ । 

‘विश्वको ९० प्रतिशत पूँजी तथा प्राकृतिक साधन श्रोतमा १ प्रतिशत धनीहरुले राज गरेका छन् । धनीले थप धनी वन्ने होडमा साधन स्रोतको अत्याधिक उपभोग हुँदा जैविक विविधतामा पनि ह्रास आएकोे छ । हरितगृह ग्याँसको अत्याधिक उत्सर्जनले तापमान अनियन्त्रित रुपमा वढेको र जलवायु परिवर्तन लगायत अन्य वातारणीय समस्या पैदा भएका छन्,’ उनी भन्छन्, ‘धनी र गरीबीचको दूरी बढ्दो छ । धनी अझ धनि वन्दै जाने गरीब झन्झन गरीब हुदै जाने अवस्था सिर्जना भैरहेको छ । प्राकृतिक स्रोतको अत्याधिक दोहनले प्राकृतिक प्रकोप र रोगव्याधिहरु वढेका छन् ।’

हालै सम्पन्न विश्व जलवायु सम्मेलनमा पनि वैज्ञानिकहरूले विश्वव्यापी तापमान १.५ डिग्री सेल्सियसभन्दा धेरै बढे यसले पृथ्वीमा विपत्तिका श्रृंखला निम्त्याउने बताएका छन् । औद्योगिकरणको समयदेखि अहिलेसम्म पृथ्वीको तापमान १.१ डिग्री सेल्सियस बढेको छ । पछिल्लो एक दशकमा कार्बन उत्सर्जन १ प्रतिशतले बढीरहेको छ र यही मात्रामा कार्बन उत्सर्जन भैरहे सन् २१०० सम्म पृथ्वीको तापमान औद्योगिकरणको समययता ३ डिग्रीले बढ्नेछ । जसले हिमालहरू पग्लने, मौसमको अनियमितता, खेती प्रणालीमा ह्रास, तथा अन्टार्कटिका लगायतका क्षेत्रमा हिउँ पग्लेर समुद्रको सतह बढ्दा तटीय क्षेत्र जोखिममा पर्ने बताइएको छ । 

आगामी दिनमा पूँजीप्रधानभन्दा पनि समानतामूलक आर्थिक प्रणालीको आधार तयार गर्नुपर्ने विषयमा अहिले विश्वव्यापी बहस भैरहेको छ । सोही सन्दर्भमा अहिले सामाजिक व्यवसाय सम्मेलन हुन लागेको हो । 

बंगलादेशको यूनुस सेन्टरले सामाजिक व्यवसायको यो अवधारणा विकास तथा प्रवद्र्धन गर्ने क्रममा हरेक बर्ष सामाजिक व्यवसाय विश्व शिखर सम्मेलन आयोजना गर्दै आएको छ । यो अवधारणासँग संस्थाहरूले जस्तै नेपालमा स्वावलम्बन विकास केन्द्र र अन्य संघ संस्था तथा व्यवसायिक घरानाहरूले पनि सामाजिक व्यवसायको अवधारणा प्रवर्धन गर्ने जमर्को गर्दै आएका छन् । 


Author

थप समाचार
x