अर्थ / बाणिज्य

हुलाकी सडक समयमै सम्पन्न नभएपछि स्थानीयबासी आन्दोलित

सुभाष कर्ण |
कात्तिक २२, २०७८ सोमबार २०:२ बजे

जनकपुरधाम – हुलाकी राजमार्ग समयमै सम्पन्न गर्नुपर्ने माग राख्दै स्थानीयबासी आन्दोलनमा उत्रेका छन् । जनकपुरको कदम चोकदेखि सिरहाको कमला पुल जोड्ने खण्ड समयमै सम्पन्न नभएपछि स्थानीयबासीले निर्माण कम्पनीविरुद्ध आन्दोलन गरेका हुन् । 

निर्माण कम्पनीले समयमै सडक निर्माण गर्न नसकेकाले  सडकमा धूलो र हिलोका कारण आवात जावतमा समस्या भएपछि सोमबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १८ भोइलका स्थानीय निर्माण कम्पनी र सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् । प्रदेशका अस्थायी राजधानी जनकपुरधाम जोड्ने मूल सडकको रूपमा रहेको हुलाकी सडकअन्तर्गत उक्त खण्ड निर्माण हुननसक्दा त्यहाँको एक सय मिटरभन्दा बढी सडक वर्षौदेखि वर्खामा हिलाम्मे र हिउँदमा धूलाम्मे रहेको छ । 


निर्माण कम्पनी, हुलाकी राजमार्ग आयोजना र जनकपुरधाम उपमहानगरपालिकालाई समयमै सडक निर्माणका लागि पटक पटक ताकेता गर्दा पनि हालसम्म कुनै चासो नलिइएका कारण बाध्य भई आन्दोलन गर्नु परेको स्थानीय युवा सरोज मण्डलले बताए ।

समयमै सडक निर्माण गर्न निर्माण कम्पनीले चासो नलिएको कारण दिनहुँ दुर्घटना हुने गरेको र वर्षातको समयमा आवागमन नै बन्द हुने गरेको स्थानीय युवा कमलेश मण्डलको भनाइ छ । ‘पटक पटक म्याद थपिए पनि हालसम्म सडक निर्माण हुन नसकेपछि हामीले विरोध प्रदर्शन गरेका हौं,’ उनले भने । निर्माण अवधि सम्झौता समाप्त भई पुनः एक वर्ष म्याद थपिए पनि हालसम्म मुश्किलले ७० प्रतिशत काम मात्र सम्पन्न भएको छ । यता हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले भने स्थानीयवासीको अवरोधका कारण निर्माण कम्पनीले सम्झौता अवधिभित्र काम नसकेको जिकिर गरेको छ ।

 

‘सम्झौता अवधि र थपिएको म्यादमा पनि काम सम्पन्न हुन नसक्नुमा निर्माण कम्पनी मात्र नभई स्थानीयबासीसमेत दोषी छन् । स्थानीयबासीकै अवरोधका कारण थपिएको म्याद पनि दुई वर्ष बितिसक्दा निर्माणकार्य सम्पन्न हुन नसकेको र अझै कति लाग्ने हो यकिन छैन,’ कार्यालयका प्रमुख कृष्ण महतोले इकागजसँग भने । 

भोइलमा नाला निर्माणका लागि स्थानीयबासीले जग्गा उपलब्ध नगराएको कारण सडक निर्माण हुन नसकेको र औरही गाउँपालिकाका कयौं स्थानमा स्थानीयले दिएको उजुरीका कारण अदालतबाट स्टे अर्डर जारी भएको कारण काम रोकिएको प्रमुख महतोले बताए । 

धेरै स्थानमा स्थानीयबासीले मुआब्जासमेत लिइसकेको छ । हालसम्म जग्गा अधिग्रहण गर्न नदिएको कारण निर्माणकार्य प्रभावित हुन गएको कार्यालयले जनाएको छ  । ‘छठ पर्व सकिएलगतै अनुगमन गरी जग्गा अधिग्रहणको काम अघि बढाइनेछ । त्यसमा पनि निर्माण कम्पनीले काम गर्न नसके कारबाही प्रक्रिया अघि बढाइनेछ,’ उनले भने । 

उक्त सडक खण्डको पेटी ठेक्का प्रदेश सभा सदस्य किशोरी साह कमलको निर्माण कम्पनी कमला कन्स्ट्रक्सनले लिएको छ । निर्माण ठेकेदार प्रदेश सभा सदस्य भएकै कारण कसैले आवाज उठाउन नसक्दा निर्माणमा ढिलासुस्ती गर्दै आएको स्थानीयको भनाइ छ । 

निर्माण सम्झौता सकिएको म्याद सकिएको तीन वर्षभन्दा बढी बितिसके पनि हालसम्म निर्माण सकिएको छैन । ०७५ असारसम्ममा तीन चरणमा निर्माण सम्पन्न गर्नुपर्ने कदम चोकदेखि औरहीसम्म पहिलो खण्ड २७ करोड ९५ लाख र औरहीदेखि सघारासम्म दोस्रो खण्ड २२ करोड ९७ लाखमा ठेक्का सम्झौता भएको थियो ।

पहिलो चरणमा कदमचोक–कपटौल हुँदै तिनकौरियासम्म १२ किमी र दोस्रो चरणमा १३ किमी गरी २५ किमी कालोपत्र र नाला निर्माण गर्न सडक लामा, रमण कन्स्ट्रक्सन कम्पनी जेभी र निर्देशनालयबीच ०७३ असार ३१ मा सम्झौता भएको थियो ।

तेस्रो चरणमा तिनकौरिया–लगमा–सघारा हुँदै कमला पुलसम्म ५ दशमलव ५८ किमी सडक बनाउन ढुकुचु कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो । सम्झौताअनुसार ०७५ असारसम्म निर्माण सक्नुपर्ने थियो । एक वर्ष म्याद थपिए पनि काम पूरा हुन सकेको छैन ।

नेपाल र भारत सरकारको लगानीमा धनुषा, महोत्तरी, सर्लाही र सिरहामा ३ सय १५ किलोमिटर हुलाकी राजमार्ग निर्माणाधीन छ । जसमा नेपाल सरकारको लगानीमा २ सय १२ किलोमिटर र भारत सरकारको लगानीमा १ सय ३ किलोमिटर निर्माण कार्य भइरहेको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x