जंगलको बीचमा व्यावसायिक बाख्रापालन
खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ३ च्यास्मिटार दाल्फुका किसान भलराज राईले जंगलबीचमा बाख्रा फार्म सञ्चालन गरेका छन् । गाउँमै स्वरोजगार बन्दै आर्थिक आयआर्जनका लागि राईले सात वर्षअघिदेखि फिर्कुखोलानजिकै पर्ने धगेर्नी पाखाको जंगलबिचमा रहेको खेतमा बाख्रापालन सुरु गरेका हुन् ।
उनले धगेर्नी पाखामा बाँझो खेत किनेर धान खेतीसँगै बाख्रा पालन सुरु गरेका हुन् । उनको स्थायी बसोबास माथि गाउँमा छ । तर, गाउँबाटै आधा घण्टा तल पर्ने बेँसीमा पालिएको बाख्रालाई घाँस पानी र गोठालाको काम भ्याउने गरेका छन् । उनको बाख्रापालनमा छोरा नवीन, रविनलगायतको साथ छ । बाख्रा पालनबाट वार्षिक एक लाखको हाराहारीमा आम्दानी भइरहेको रविनले बताए ।
२४ वर्षीय युवा किसान दिपेश राई (बम्बू)ले पनि फिर्कुमा व्यावसायिक रूपमा बाख्रा पालन गरिरहेका छन् । दिपेशले भलराजसँगै सल्लाह गरेर ०७०/७१ सालदेखि व्यावसायिक रूपमा बाख्रा पालन सुरु गरेका हुन् । बाख्रा पालनबाटै घर खर्च चलाउन र सामान्य बचत गर्न पुगेको दिपेशले बताए । उनीहरूले गोठबाट छरसात महिनाको बोको र पठ्यांग्री बिक्री गर्ने गरेका छन् । खसी पाल्दा दानाले धान्न गार्हो हुने भएकाले बोको र पठेक्री बिक्री गर्ने गरिएको दिपेशले बताए ।
‘गर्दा हुँदो रहेछ । बाख्रा पालनबाट खान, लाउन र दुई चार हजार रूपैयाँ खल्तीमा राख्न समस्या छैन’, दिपेशले भने, ‘घरैमा बसीबसी वर्षमा एक लाखको हाराहारीमा आम्दानी हुन्छ । पाँच, सात महिनाको बोको १२, १५ हजार रूपैयाँमा बिक्री हुन्छ । मेहनत गर्न सके दुई, चार पैसा कमाउन टाढा जान पर्दैन रहेछ ।’
गाउँका अधिकांश स्थानीय मजदुरीको काम खोज्दै दिक्तेल, ओखलढुंगा, सोलुखुम्बुलगायतका ठाउँमा पुग्छन् । आफ्नो गाउँका साथीभाई गाउँ बाहिर गएर मजदुरी काम गरिरहँदा भलराज र दिपेशका परिवार भने फिर्कु खोला आसपासका जंगलमा बाख्रा चराइरहेका हुन्छन् । रुखमा चढेर डाले घाँस झारिरहेका हुन्छन् । च्यास्मीटारको फिर्कु पाखा, धगेर्नी पाखा, पादरेपाखा, गुर्दम, रातोडाँडा, टुटुंगे लगायतका क्षेत्र बाख्रा पालनका लागि उपयुक्त स्थान मानिन्छ । बिराली लहरा, हाडे, धयाँरीलगायतका घाँस प्रशस्त पाइने ठाउँमा उनीहरूले बाख्रा पालन सुरु गरेका हुन् ।
उनीहरू बाख्रा चराउन करिब तीन, चार किलोमिटर टाढा पर्ने दुधकोसीसम्म पुग्ने गरेका छन् । बाख्रा चराएर फर्कँदा डाले घाँसको भारी लिएर फर्कने गरेका छन् । उनीहरूको आम्दानी देखेर बाख्रा पालनमा आकर्षित हुने स्थानीयको संख्या पनि बढ्दो छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया