गण्डकीका उद्योगको क्षमता उपयोग ४०% मात्र
काठमाडौँ– गण्डकी प्रदेशका उद्योगको औसत क्षमता उपयोग ४० प्रतिशत मात्र रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको वार्षिक प्रतिवेदनमा समेटिएको गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययन अनुसार गण्डकीका उद्योगको क्षमता उपयोग ४० प्रतिशत मात्र रहेको उल्लेख छ ।
आर्थिक वर्ष २०७६/७७ का तुलनामा २०७७/७८ मा क्षमता उपयोग झिनो अन्तरमा बढेको देखिएको छ । २०७६/७७ मा क्षमता उपयोग ३९.९ प्रतिशत रहेकोमा ७७/७८ मा ४० प्रतिशत पुगेको हो ।
औसत क्षमता उपयोग भन्दा बढी क्षमता सञ्चालन भएका उद्योगमा चकलेट उद्योग (८०.२ प्रतिशत), बिस्कुट उद्योग (७२.६ प्रतिशत), वियर उद्योग (५६ं.६ प्रतिशत), इट्टा उद्योग (५५ प्रतिशत), चुरोट उद्योग (४९.५ प्रतिशत) र खाने तेल उद्योग छन् । अरु उद्योगहरु भने औसत क्षमता भन्दा कममा सञ्चालनमा आएको प्रतिवेदनमा जनाइएको छ ।
क्याप्सुल उद्योगको क्षमता उपयोग ४४.८ प्रतिशत), ट्याब्लेट उद्योगको ३७.१ प्रतिशत, लिक्विड औषधीको ३२.२ प्रतिशत र सिमेन्ट उद्योगको २०.७ प्रतिशत क्षमता उपयोग रहेको पाइएको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा चाउचाउ, औषधीतर्फ ओइन्टमेन्ट, ड्राइ सिरप र लिक्विड औषधीको उत्पादन घटेपनि अरु उद्योगहरूमा भने उत्पादन बढेको छ । तोरीको तेलको उत्पादन ३.६ प्रतिशत, दूधको ३५.३ प्रतिशत, बिस्कुटको ९ प्रतिशत, वियरको ३१.७, इट्टाको ६२.४ प्रतिशत उत्पादन वृद्धि भएको छ ।
गण्डकीको औद्योगिक क्षेत्रमा ६१ अर्ब ६९ करोड रुपैयाँ कर्जा परिचालन
२०७७ असार मसान्तको तुलनामा २०७८ असार मसान्तसम्म गण्डकीमा ७ प्रतिशतले औद्योगिक कर्जा बढेको देखिएको छ । गण्डकीमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित औद्योगिक कर्जा ६१ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
२०७६ असार मसान्तबाट २०७७ असार मसान्तसम्म भने औद्योगिक कर्जा ३६.७ प्रतिशतले वृद्धि भएको थियो । राष्ट्र बैंकले कोरोनाका कारण औद्योगिक कर्जाको मागमा कमी आएका कारण औद्योगिक कर्जा वृद्धिदर कम भएको जनाएको छ । ‘कोभिड १९ को प्रभावका कारण औद्योगिक कर्जा वृद्धिदर कम भएको हो,’ प्रतिवेदनमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकले गरेको विभिन्न नीतिगत व्यवस्थाहरुका कारण औद्योगिक क्षेत्रतर्फ प्रवाहित कर्जामा विस्तारै वृद्धि हुँदै गएको छ ।’
गण्डकीमा औद्योगिक कर्जा शीर्षकमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी लगानी निर्माण क्षेत्रमा गरिएको छ । निर्मांण क्षेत्रमा कुल ४१ अर्ब अर्थात् ६८.१ प्रतिशत लगानी गरिएको हो । कृषि, वन तथा पेय पदार्थ उत्पादनमा १२.६ प्रतिशत, गैरखाद्य वस्तु उत्पादनमा १२.२ प्रतिशत, धातका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोेनिक उत्पादनमा ४.७, विद्युत, ग्याँस तथा पानी उत्पादनमा १.९ प्रतिशत र खानी सम्बन्धी उत्पादनमा ०.५ प्रतिशत कर्जा लगानी रहेको छ ।
गण्डकीमा प्रवाहित औद्योगिक कर्जाको आधा भन्दा बढी हिस्सा कास्कीमा रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । कास्कीका ५९.०१ प्रतिशत औद्योगिक कर्जा प्रवाहित भएको हो । कास्कीपछि तनहुँमा सबैभन्दा बढी औद्योगिक कर्जा प्रवाह भएको छ ।
कमजोर पूर्वाधारले उत्पादन लागत बढायो
प्रतिवेदनले गण्डकीका उद्योगलाई भौतिक पूर्वाधार उपलब्ध गराउनुपर्ने चुनौती आंैल्याएको छ । प्रतिवेदनमा उद्योगहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक विद्युत, कच्चा पदाथको उपलब्धता, उचित बजार लगायत अन्य भौतिक पूर्वाधार उपलब्ध गराउनु पर्ने चुनौती रहेको उल्लेख छ ।
उद्योग स्थापना गर्दाका प्रक्रियागत जटिलता रहेको र सूचना प्रविधिको प्रवद्र्धन गर्नुपर्ने चुनौती रहेको पनि उल्लेख गरिएको छ । ‘उद्योग स्थापना गर्दा, नवीकरण गर्दा, करदस्तुर बुझाउँदा प्रक्रियागत जटिलता छन् । समय तथा लागत कम गर्न एकल बिन्दु सेवाको कार्यानवयन गर्नुपर्ने चुनौती छ,’ राष्ट्र बैंकले भनेको छ ।
उद्योग क्षेत्रमा दक्ष श्रमशक्तिको अभाव रहेकोले गण्डकीका उद्योगले श्रमशक्तिको अभाव खेपिरहनुपर्ने अवस्था रहेको पनि राष्ट्र बैंककले जनाएको छ । औद्योगिक क्षेत्रमा वैदेशिक लगानी आकर्षिक गर्न चुनौती रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
गोरखकाली टायर कारखानालाई निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन गर्न सके, पर्यटन क्षेत्रमा खपत हुने मुख्य वस्तुहरु उत्पादन गरे प्रदेशको दीगो अर्थतन्त्र निर्माण र समृद्धि हासिल गर्न सक्ने सम्भावना रहेको पनि प्रतिवेदनाम भनिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया