कैलालीका किसानलाई रासायनिक मल अभाव
सहकारीका कर्मचारी भन्छन्- डीएपी छैन यूरिया लैजाउ
धनगढी – कैलालीका किसानलाई रसायनिक मल अभाव भएको छ । गहुँबाली लगाउन रासायनिक डीएपी मल नपाएपछि उनीहरू चिन्तामा छन् । ‘खेत जोतेर गहुँ छर्न ठिक्क पारिएको छ । तर रासायनिक मल नपाउँदा गहुँ छर्न ढिलाइ भइरहेको छ,’ धनगढी उपमहानगरपालिका– ११ का किसान भवराज मिश्रले भने, ‘रासायनिक मलका लागि हरेक दिन सहकारी संस्था धाए पनि पाउन सकिएको छैन ।’
यस्तै धनगढी–३ का किसान कृष्ण ढुंगेलले पनि डीएपी नपाउँदा गहुँबाली लगाउन ढिलाइ भएको बताए । सरकारी अनुदानप्राप्त मल आएपछि गहुँ लगाउने भनेर किसान बसेको तर मल नपाउँदा समस्या भएको उनले गुनासो गरे । ‘बाहिरबाट किनेको मल राम्रो हुँदैन,’ उनले भने, ‘सरकारले दिने मलका लागि पर्खेर बसेको गहुँ लगाउन ढिलाइ भएपछि किसानहरू निराश छौं सहकारीका कर्मचारीले डीएपी छैन यूरिया लैजाउ भन्ने गरेका छन् ।’
यसै महिना परेको बेमौषमी वर्षाका कारण धानबालीमा क्षति भोगेका किसानलाई मल नदिएर सरकारले झनै पीडा दिएको धनगढी–३ का किसान देवबहादुर विष्टले बताए । ‘धानबालीको क्षतिपुर्ति दिने त आशा नै छैन्,’ विष्टले भने, ‘रासायनिक मल पनि नदिएर सरकारले किसानलाई पीडामाथि पीडा थपिदिएको छ ।’
डीएपी मल मंसिर पहिलो सातामात्रै : साल्ट ट्रेडिङ
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका शाखा अधिकृत रामचन्द्र जोशीले ठेक्का लगाउन ढिलाइ हुँदा यसवर्ष डीएपी आउन ढिला भएको बताए । अन्तराष्ट्रिय बजारमा मुल्य वृद्धि हुँदा मुल्य समायोज गर्नु परेको र त्यसले ठेक्का लगाउन ढिला भएकाले नेपालमा मल नआएको उनले बताए ।
अहिले यूरियामात्रै रहेको बताउँदै उनले मंसिर पहिलो सातासम्म डीएपी आउने बताए । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत सुदूरपश्चिम प्रदेश सरकारले सुपर नामक रासायनिक मलमा अनुदान दिएर बिक्री वितरण गर्दै आएको थियो । तर, अहिले सुपर मल सकिएको शाखा अधिकृत जोशीले बताए । ‘अहिले यूरिया बाहेक कुनै पनि मल छैन,’ उनले भने, ‘मंसिरसम्ममा डीएपी आउन सक्छ ।’ उनले मंसिर पहिलो सातासम्म पनि गहुँ लगाउन सकिने भएकाले किसानलाई नआत्तिन आग्रह गरे ।
रासायनिक मलको अर्को बिक्रेता संस्था कृषि सामग्री केन्द्र लिमिटेडमा पनि डीएपी मौज्दात शुन्य छ । लिमिटेडका लेखापाल रुपबहादुर कुँवरका अनुसार असोजदेखि नै डीएपी मलको मौज्दात सकिएको हो । अहिले मल लिन आउने सहकारी संस्थालाई रित्तै फर्काइने गरिएको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया