अर्थ / बाणिज्य

लघुवित्तमा मर्जर र प्राप्तिको लहर, कुन-कुन गाभिँदैछन् ?‍

इकागज |
पुस ८, २०७७ बुधबार १३:२७ बजे

काठमाडौं : पुस लागेसँगै थुप्रै लघुवित्त वित्तीय संस्थाहरू एक आपसमा गाभ्‍ने/गाभिने र प्राप्ति प्रक्रियामा गएका छन् । पुस मसान्तसम्ममा साधारणसभा डाकेका ती लघुवित्तहरुले मर्जर र प्राप्तिलाई प्राथमिकताका साथ एजेन्डामा राखेका छन् ।

लघुवित्तको संख्या धेरै भएपछि अस्वस्थ प्रतिस्पर्धा, ग्राहकको दोहोरोपन, खराब कर्जामा वृद्धि जस्ता कारणले भविष्यमा नियामकीय कारबाही व्यहोर्नुपर्ने भयले समेत लघुवित्तलाई मर्जर र प्राप्तिमा जान प्रोत्साहन गरेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लघुवित्त वित्तीय संस्थाहरूलाई मर्जरमा जानका लागि प्रोत्साहन गर्दै आएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको ईजाजत दिने कार्य स्थगन गरेको थियो । साथै, इजाजतको प्रक्रियामा रहेका लघुवित्त वित्तीय संस्थाहरुको इजाजत प्रकि्रया समेत रद्द गरेको थियो । जस च्याउ सरह नयाँ लघुवित्त खोल्ने प्रक्रियामा ब्रेक लाग्यो ।

कुन-कुन लघुवित्त छन् मर्जर प्रक्रियामा ?

घरेलु लघुवित्त वित्तीय संस्थाले पुस १४ गते साधारणसभा बैठक डाकेको छ । उसको एजेन्डा छ, समता लघुवित्तसँग गाभिने । एक आपसमा गाभिने प्रयोजनका लागि मुल्यांकनकर्ताबाट गाभिने संस्थाको चल अचल सम्पत्ति र दायित्त्व मुल्यांकन (डीडीए)को आधारमा निर्धारण गरिएको सेयर स्वाप रेसियो पारित गरी मर्जरलाई स्वीकृत दिने प्रस्ताव छ । गाभिएपछि लघुवित्तको नाम समता घरेलु लघुवित्त वित्तीय संस्था रहनेछ ।

ग्लोबल आइएमई लघुवित्तले पनि पुस २९ गते बस्ने साधारणसभाको बैठकमा स्पर्श लघुवित्तलाई प्राप्ति गर्ने एजेन्डा छ । ग्लोबल आइएमई लघुवित्तले प्राप्तिका लागि मूल्यांकनकर्ताको तर्फबाट चल-अचल सम्पत्ति तथा दायित्वको मुल्यांकन गरी प्राप्त प्रतिवेद (डीडीए)को आधारमा सेयर स्वाप रेसियोलाई स्वीकृत गर्नेछ ।

ग्लोबलको १ कित्ता सेर बराबरको स्पर्श लघुवित्तको ०.९० कित्ता कायम हुने गरी सेयर स्वाप रेसियो कायम गर्नेछ ।

घोडीघोडा लघुवित्तको पुस २९ गते बस्‍ने पाँचौं साधारणसभामा पनि मर्जर तथा प्राप्तिको एजेन्डा छ । घोडीघोडा र यूनिक नेपाल लघुवित्तले पनि नियमनकारी निकायबाट मर्जर वा प्राप्ति गर्ने सम्बन्धमा अनुमति लिने बताएको छ ।  

गत कात्तिक २३ मा कम्पनी रजिष्ट्रार कार्यालयबाट महुली लघुवित्त र नव किरण लघुवित्त एक आपसमा मर्जरमा जाने स्वीकृती पाएको थियो । मंसिर ८ गतेदेखि एकीकृत कारोबारसमेत सुरु भइसकेको छ । दुवै संस्थाको सहमति बमोजिम स्वीकृत सेयर आदान प्रदान अनुपात १००:९५ छ । नव किरणको नामबाट जारी भएका संस्थापक सेयरहरू रद्द गरी महुली लघुवित्तको नामबाट अभौतिक रुपमा सेयर प्रदान गर्न बाँकी रहेको लघुवित्तले जानकारी दिएको छ ।

सिवाईसीले पनि पुस २८ मा बस्ने साधारणसभामा मर्जर तथा प्राप्तिका लागि काम गर्ने गरी सञ्चालक समितिलाई अख्तियारी दिने बताएको छ ।

वोमी लघुवित्त र ग्रामीण स्वंयसेवक लघुवित्तले एक आपसमा गाभिने सम्बन्धमा प्रतिवेदन आ-आफ्ना साधारणसभामा पेस गर्नेछन् ।  

पुस २८ मा बस्‍ने ९औं साधारणसभाले संयुक्त मर्जर समितिले कायम गरेको संशोधित सेयर आदान प्रदान अनुपात (सेयर स्वजप रेसियो ) लाई एक बराबर एक पारित गरी मर्जरलाई स्वीकृत प्रदान गर्ने उल्लेख छ ।

वोमी लघुवित्तको बोनस वितरणपछि चुक्ता पुँजी ३६ करोड १२ लाख २ हजार ४ सय रुपैयाँ पुग्‍नेछ । ग्रामीण स्वयंसेवकको असारसम्मको चुक्ता पुँजी चार करोड २० लाख रुपैयाँ छ । मर्जर पछि ४० करोड ३२ लाख २ हजार चार सय रुपैयाँ कायम गरी एकिकृत कारोबार गर्नेछ ।

राष्ट्र बैंकको निर्देशन अनुसार ग्रामीण स्वयंसेवक लघुवित्तको संस्थापक सेयरधनीले राखेको 'कल इन एड्भान्स' मा रहेको ८७ लाख ४२ हजार रुपैयाँमा सेयरमा गाभेर ४१ करोड १९ लाख ४४ हजार ४ सय रुपैयाँ कायम गर्ने उल्ले छ ।

राष्ट्र बैंकका अनुसार असोजसम्म २०७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा संलग्न भई ५० संस्था कायम भएका छन् । यस अवधिमा १५७ संस्थाको इजाजत खारेज भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ लघुवित्त वित्तीय संस्थाहरु गाभ्‍ने/गाभिने प्रक्रियामा संलग्‍न भई ६ संस्था कायम भएका छन् ।



Author

थप समाचार
x