अर्थ / बाणिज्य

१४ वर्ष दुबई बसाइपछि गाउँमै च्याउ खेतीमा रमाउँदै भुवनसिंह लिम्बू

इकागज |
मंसिर १, २०७८ बुधबार १७:२४ बजे

तेह्रथुम - तेह्रथुम म्याङलुङ–५ आम्फुवाका भुवन सिंह लिम्बू गाउँमै रमाउन थालेका छन् । वैदेशिक रोजगारबाट पीडा भोगेका लिम्बू अहिले लालिगुराँस नगरपालिका–९ लसुनेमा जापानिज सिताके च्याउ खेतीमा रमाउन थालेका हुन् ।

१० लाख लगानीमा उनले खेती सुरु गरेका हुन् । ०६१ सालमा नेपाल आर्मीमा भर्ना भएका उनी ०६६ सालमा जागिर छोडेर दुबई पुगेका थिए । १४ वर्ष दुबई बिताएका लिम्बू जुन सोचले विदेश गएका थिए, ती सोचहरू पूरा हुन सकेनन् । ‘राम्रै कमाइ हुन्थ्यो, महिनामा एक लाखभन्दा बढी तलब पाउथेँ । तर, पराइको भूमिमा अरूको खटनमा काम गर्दा मनमा शान्ति मिलेन । त्यसैले गाउँमा परिवारसँगै व्यवसाय गर्ने सोचका साथ जापानिज सिताके च्याउ खेती रोजेका हुँ’, उनले बताए । 


बजार राम्रो सम्भावना रहेको र थोरै क्षेत्रफलमा धेरै आम्दानी लिन सकिनै भएकाले पनि च्याउ खेती उनको रोजाइमा परेको बताउँछन् । लिम्बूले फेदाप तीनजुरे किनोको सिताके च्याउ उद्योग दर्ता गरी च्याउ खेती गर्दै आएका छन् । तीन रोपनी जग्गा वार्षिक ३५ हजार रूपैयाँमा भाडा लिई खेती गर्दै आएका हुन् ।  काठ स्टोर कोठा, च्याउ उत्पादन गर्ने ठाँउ र उत्पादनका लागि चाहिने कच्चा सामग्रीहरूलाई व्यवस्थापन गर्ने पहिलो चरणमा लगानी गरेका छन् । 

स्थानीय स्तरमा नै च्याउ उत्पादनका लागि कटुस, पैयुँ र उत्तिसको काठ पाउने भएकाले पनि व्यवसाय सञ्चालनमा समस्या नरहेको उनी बताउँछन् । यो खेती सुरुवात मै उनले मासिक ६० देखि ७० हजार मासिक आम्दानी लिन थालेका छन् । यहाँ उत्पादन भएको च्याउ जिल्ला सदरमुकाम म्याङलुङका साथै इटहरीको भाटभाटेनीमा निर्यात हुँदै आएको उनले जानकारी दिए । 

लिम्बूले आफ्नो उद्योगमा युवाहरूलाई रोजगारसमेत दिन थालेका छन् । प्रतिकिलो ६ सय रूपैयाँमा यहाँ उत्पादन भएको च्याउ बिक्री हुँदै आएको छ । ‘बजारमा माग बढ्दो छ, माग भएअनुसार उत्पादन गर्ने सकिएको छैन । लगानी थपेर अझ खेतीलाई विस्तार गर्ने सोचमा छु’, लिम्बूले भने । 

खेतीको सुरुवाती चरणमै राम्रो आम्दानी लिएका लिम्बू यतिबेला आफ्नै उद्योगमा रमाइरहेका छन् । लगनशील भएर गाउँमै व्यावसायिक बन्ने हो भन्ने रोजगारको लागि भौतारिनु नपर्ने गतिलो उदाहरण दिएका छन् लिम्बुले ।
 


Author

थप समाचार
x