झापामा हराउँदै कोदो, फापर खेती
फाइल तस्बिर
झापा - सरकारले अनुदानका कार्यक्रम चलाउँदा पनि झापामा कोदो र फापर खेती हराउँदै गएको छ । जिल्लाका विभिन्न ठाउँमा फापर र कोदो उत्पादन हुँदै आए पनि पछिल्लो समय यसको खेती घट्दै गएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
झापामा वर्षेनि रैथाने बाली फापरको उत्पादन घट्दै गएको छ । कृषि ज्ञानकेन्द्र झापाका तथ्यांकअनुसार आर्थिक वर्ष ०७५÷०७६ मा एक हजार ६ सय ४० हेक्टरमा फापर खेती हुँदै आएको थियो । उक्त आर्थिक वर्षमा एक हजार ७ सय २२ मेट्रिक्टर फापर उत्पादन भएको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख नीलकमल सिंहले जानकारी दिए । यस्तै, आर्थिक वर्ष ०७६÷०७७ मा घटेर एक हजार हेक्टरमा एक हजार ५० मेट्रिक्टन फापर उत्पादन भएको उनले बताए ।
यस्तै, खेती गर्ने क्षेत्रफल घटेर आर्थिक वर्ष ०७७÷०७८ मा नौ सय हेक्टरमा आएको ज्ञान केन्द्रले जनाएको छ । गत आर्थिक वर्षमा नौ सय मेट्रिक्टन मात्र फापर उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । फापरले बजार पाउन छाडेपछि खेती गर्न छाडिएको कृषक बताउँछन् ।
‘विगतमा फापरको बजार थिएन । बल्ल फापर बिक्न थालेको छ । तर, उत्पादन कम हुन्छ । लगानी पनि नउठेपछि खेती कसरी गर्ने ?,’ कमल-३ का कृषक भोजकुमार चापागाईं भन्छन्, ‘बरू यो समयमा मकै र हिउँदे धान लगायो भने उत्पादन राम्रो हुन्छ । फापरको सट्टा त धान, मकै लगाउन थालियो ।’
फापर मुख्यतः रोटीका लागि प्रयोग गरिन्छ । नेपालमा रोटी खाने संस्कार न्यून हुँदा फापरले बजार पाउन छाडेको ज्ञान केन्द्र झापाका प्रमुख सिंहले बताए । ‘मानिसहरू रोटीभन्दा खाना नै खान्छन्,’ उनले भने, ‘बजारमा फापरको माग एकदम न्यून छ । मूल्य पनि खासै पाउँदैन । बजार नपाएपछि फापर उत्पादन घट्दै गएको छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया