अर्थ / बाणिज्य

प्रदेश २ का तीन उद्योगलाई कारबाही

सुभाष कर्ण |
मंसिर २, २०७८ बिहीबार २१:८ बजे

जनकपुरधाम - सरकारले गुणस्तरविपरीत सामग्री बिक्री गर्ने प्रदेश २ का तीन उद्योगलाई कारबाही गरेको छ । गुणस्तर तथा नापतौल विभागले प्रदेश २ का सिमेन्ट, केबल र एलपी ग्याससहित तीन उद्योगलाई कारबाही गरेको हो । 

सिरहास्थित मारूती सिमेन्ट लिमिटेड, धनुषास्थित जानकी केवल इ. प्रालि र बाराको पिलुवास्थित श्री ग्यास वान नेपाल प्रालिलाई विभागले कारबाही गरेको हो ।विभागले ती उद्योगमा बिक्री वितरण रोक्नुका साथै बजार पठाइएका सामग्री फिर्ता लिन र १५ दिनभित्र स्पष्टीकरण पेश गर्न कारबाही पत्रमार्फत माग गरेको छ ।


ती उद्योगले बिक्री गरेका सामग्रीमा नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त वस्तुको नमूना विभागमा परीक्षण तथा उद्योगमा निरीक्षण गर्दा तोकिएको गुणस्तर नपाइएकोले नेपाल गुणस्तर (प्रमाण–चिन्ह) ऐन, २०३७ तथा नियमावली २०४० बमोजिम विभागले कारबाही गरेको जनाएको छ ।

सिराहामा रहेको मारूती सिमेन्टको ओपीसी ४३ ग्रेडको सिमेन्ट नमूनालाई परिक्षण गर्दा कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै विभागले धनुषाको जानकी केवल इन्टरनेट कम्पनीलाई ०.७ एमएम स्क्वायर र १ एमएम स्क्वायर पीभीसी केवल नेपाल गुणस्तरबमोजिम नरहेको र बाराको ग्यास वान नेपाल उद्योगको ग्यासमा सेफ्टी क्याप नलगाएको, टेर वेट नलिएको, सीभीटी मेसिन नभएको, सिलिन्डर धुने व्यवस्था नभएकोलगायत मापदण्ड पुरा नगरेको जनाएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x