चियाको मूल्यमा गिरावट
झापा - नेपाली चियाको मूल्यमा गत वर्षको भन्दा करिब ४० प्रतिशत गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा चियाको मूल्यमा गिरावट आउँदा नेपाली चियाको मूल्यमा पनि गिरावट आएको हो । नेपाल चिया उत्पादक संघका वरिष्ठ सल्लाहकार चण्डी पराजुलीका अनुसार यसवर्ष तयारी सीटीसी चियाको मूल्य प्रतिकेजी १ सय ६० रूपैयाँ छ ।
गत वर्ष सीटीसी तयारी चिया २ सय ५० रूपैयाँदेखि ३ सयसम्म कारोबार भएको थियो । यो वर्ष हरियो पत्ति प्रतिकेजी १८ रूपैयाँदेखि २२ रूपैयाँसम्म रहेको संघका वरिष्ठ सल्लाहकार पराजुलीले जानकारी दिए । गतवर्ष हरियोपत्तिले प्रतिकेजी ३५ रूपैयाँभन्दा धेरै मूल्य पाएको उनले बताए ।
नेपालमा करिब दुई करोड केजी बढी सीटीसीचिया उत्पादन हुने गरेको छ । ५० प्रतिशत सीटीसी चिया नेपालमै खपत हुन्छ भने बाँकी ५० प्रतिशत सीटीसी चिया भारत जाने गरेको छ ।
अर्थोडक्स चिया भने ५० देखि ७० लाख केजी वार्षिक उत्पादन हुने गरेको वरिष्ठ सल्लाहकार पराजुलीले बताए । अर्थोडक्स चियाको मूल्य भने राम्रो छ । तयारी अर्थोडक्स चियाको मूल्य भने प्रति केजी करिब ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । अर्थोडक्सका लागि हरियोपत्तिको मूल्य पनि प्रतिकेजी ४५ रूपैयाँभन्दा धेरै रहेको छ ।
नेपाली चियाको कुल उत्पादनको करिब ९९ प्रतिशत चिया प्रदेश १ मा उत्पादन हुन्छ । त्यसको पनि सबैभन्दा धेरै झापा र इलाम चिया उत्पादन हुँदै आएको छ । पहाडमा अर्थोडक्स र तराईमा सीटीसी चिया उत्पादन हुँदै आएको छ । पछिल्लो समय झापामा पनि अर्थोडक्स चिया उत्पादन हुन सुरु भएको छ ।
जसको ९० प्रतिशत उत्पादन भारतमा खपत हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण चियाको मूल्यमा गिरावट आएको उनले बताए । ‘हाम्रो मुख्य बजार भारत नै हो । अरू देशमा नगण्य रूपमा चिया निर्यात हुन्छ । गतवर्ष चियाको मूल्य निकै राम्रो थियो । यसपटक गिरावट आयो,’ उनले भने, ‘भारत पनि अन्तर्राष्ट्रिय बजारकै भर पर्छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा यसको प्रभाव हामीलाई पनि पर्छ ।’ नेपालको चिया भारतबाहेकका देशमा विस्तार गर्न नसक्दा राम्रो मूल्य पाउन नसकेको पराजुली बताउँछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया