संस्थानले धान खरिद नगरेपछि सस्ताे मूल्यमा बेच्न किसान बाध्य
फाइल तस्बिर
धनगढी - कैलाली र कञ्चनपुरका किसान सरकारले निर्धारण गरेको मूल्यभन्दा आधा मूल्यमै धान बेच्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समयमै धान खरिद सुरू नगर्दा किसान मर्कामा परेका हुन् ।
धान बेचेर गहुँ लगाउने खर्च जुटाउनु पर्ने बाध्यताका कारण सस्तो मूल्यमा धान बेच्नु परेको किसानले बताएका छन् । ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हाल सम्म पनि धान खरिद सुरू गरेको छैन,’ धनगढी उपमहानगरपालिका-१३ का किसान राम कुमार चौधरीले भने, ‘सरकारले धान नकिनेपछि गहुँ लगाउनका लागि खर्च जुटाउन व्यापारीलाई सस्तोमा धान बेच्नु परेको हो ।’
सरकारले मोटो धानको समर्थन मूल्य प्रतिकिलो २७ रूपैयाँ ५२ पैसा निर्धारण गरेको छ । तर, चौधरीले भने १३ रूपैयाँ प्रतिकिलोका दरले व्यापारीलाई धान बेचेको बताए । ‘वर्षाका कारण धान भिजेको थियो,’ उनले भने, ‘व्यापारीले भिजेको धान भन्दै १३ रूपैयाँ भन्दा बढीमा किन्न मानेनन्, खर्च नभएपछि त्यति नै मूल्यमा धान बेचेर गहुँका लागि मलखाद किन्ने योजना बनाएको छु ।’
कञ्चनपुरको लालझाडी गाउँपालिका-२ का किसान नारायण विष्टले १२ रूपैयाँमा धान बेचेको बताए । धनगढी भन्सारस्थित व्यापारीलाई धान बेचेका उनले आफ्नो क्षेत्रमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको खरिद केन्द्र नै नभएको बताए । ‘हाम्रो तिर सरकारी संस्थान छैन,’ उनले भने,‘सधैँ धनगढीमा आएर व्यापारीलाई धान बेच्दै आएका छौं । गत वर्ष २० रूपैयाँ पाए पनि यस वर्ष १२ रूपैयाँ प्रतिकिलोका दरले धान बेचेका छौं ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया