ब्रोकर कमिसन घट्यो
काठमाडौैं : पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाएको छ । नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाल व्यवसायीले कारोबारको आकार अनुसारको सेवा शुल्क (कमिसन) लिन पाउने व्यवस्था भएको छ ।
बोर्डले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, त्यसभन्दा माथि पाँच लाखसम्मको कारोबार ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाख सम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख देखि एक करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र एक करोड माथिको कारोबारमा ०.२७ प्रतिशत सेवा शुल्क लिन पाउने व्यवस्था भएको छ ।
नेपाल सरकार वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र तथा सस्थागत ऋणपत्रको खरिद बिक्री कारोबारमा धितोपत्र दलाली बापत् पाँच लाख रुपैँयासम्मको कारोबारमा ०.१० प्रतिशत, पाँच लाख देखि ५० लाख सम्म ०.०५ प्रतिशत, ५० लाख देखि माथिको कारोबार ०.०२ प्रतिशत कमिसन लिन पाउने व्यवस्था भएको छ ।
यसका अतिरिक्त संगठीत संस्था र नेपाल सरकारको जमानतमा जारी हुने बाहेकका अन्य सामूहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको हकमा धितोपत्र दलाली बापत पाँच लाख सम्म ०.१५ प्रतिशत ५ लाख देखि ५० लाख रुपैयाँसम्म ०.१२ प्रतिशत र ५० लाख माथि ०.१० प्रतिशत कमिसन लिन पाउनेछन् ।
धितोपत्र दलालले ग्राहकबाट पाउने सेवा शुल्क १० रुपैयाँभन्दा कम नहुने धितोपत्र बोर्डले उल्लेख गरेको छ । प्रत्येक आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र उक्त आर्थिक वर्षमा धितोपत्र दलालले प्राप्त गरेको कूल सेवा शुल्कको शून्य दशमलव छ प्रतिशत रकम नियमन शुल्कको रुपमा बोर्डलाई बुझाउनु पर्ने व्यवस्था भएको छ ।
साथै, धितोपत्र दलालले कारोबार सेवा प्रदान गरे वापत यस अनुसूचीमा उल्लेखित सेवा शुल्क बाहेक अतिरिक्त रकम ग्राहकबाट असुल्न पाउँछैन । साथै, धितोपत्र व्यापारीले धितोपत्र कारोबार दस्तुर वापत कारोबार रकमको ०.०२ प्रतिशत रकम धितोपत्र बजारमा बुझाउनु पर्नेछ ।
धितोपत्र बजारको सुधार तथा विकासका क्रममा धितोपत्र दलाल व्यवसायीले सानो रकमको कारोवार गर्ने साना लगानीकर्ताहरुलाई कारोवार सेवा वापत लिदै आएको न्यूनतम शुल्कमा ६० प्रतिशत, सरकारी तथा संस्थागत ऋणपत्र, सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोवारमा लिदै आएको शुल्कमा ५० प्रतिशत र संगठित संस्थाको सेयरको खरिद तथा बिक्री कारोवारमा लिदै आएको शुल्कमा ३३ प्रतिशतसम्म कम हुने गरी गरिएको पुनरावलोकनबाट सेयर, ऋणपत्र, सामूहिक लगानी योजना लगायत अन्य धितोपत्रको कारोबारमा वृद्धि हुनुका साथै नयाँ लगानीकर्ताहरु समेत बजार प्रवेशका लागि प्रोत्साहित हुने र यसबाट समग्र धितोपत्र बजार गतिशील एवं प्रतिस्पर्धी हुने बोर्डले जनाएको छ । यसअघि धितोपत्र दलाल व्यवसायीले कारोबार रकमको सवा २ प्रतिशतसम्म कमिसन लिदैं आएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया