अझै सञ्चालनमा आउन सकेन बागलुङ बसपार्क
बलेवा – बागलुङको उपल्लाचौरमा निर्माण भएको आधुनिक बसपार्क पहुँचमार्ग अभावमा प्रयोगविहीन भएको छ । नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा बसपार्क प्रयोगविहीन भएको हो ।
बसपार्क निर्माण भएको महिनौं बितिसक्दासमेत प्रयोगमा ल्याउन सकिएको छैन । उन्नाइस वर्षअघि बागलुङ नगरपालिका–४ उपल्लाचौरको दावगह्रामा रहेको जग्गा एकीकृत गरेर स्थानीयले बसपार्क निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका थिए । एकीकृत गरिएको ५९ रोपनी जग्गामध्ये १७ रोपनी बसपार्क निर्माणका लागि प्रयोगमा आएको भए पनि बाँकी जग्गा जग्गाधनीलाई फिर्ता गर्न बाँकी छ ।
जग्गाधनीबाट गठन गरिएको जग्गा व्यवस्थापन तथा विकास समिति र बागलुङ नगरपालिका बीचमा बाँकी जग्गाको विकास तथा कित्ताकाटका विषयमा विवाद छ । ‘दाताको बाँकी जग्गा घडेरीका रूपमा विकास गर्न आवश्यक बजेट नगरपालिकाले विनियोजन गरेको छ, कित्ताकाट भएपछि पहुँचमार्ग निर्माण हुन्छ,’ नगरप्रमुख जनकराज पौडेलले भने, ‘तत्काल जग्गा व्यवस्थापनको काम अघि बढाउन भनेका छौं ।’
०७२ सालमा एकीकृत जग्गामध्ये नगरपालिकाका नाममा १७ रोपनी जग्गा छुट्याउँदा भएको सम्झौता कार्यान्वयन हुनुपर्ने जग्गा व्यवस्थापन तथा विकास समितिको माग छ । सम्झौताअनुसार बाँकी रहेको जग्गाको चक्लाबन्दी गर्ने, विद्युत्, पानी, सडकलगायतका संरचना नगरपालिकाले निर्माणमा गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
‘७५ लाख रूपैयाँ सोही कामका लागि छुट्याएका छौ, जग्गा व्यवस्थापन समितिले कित्ताकाट र पूर्वाधार निर्माणका काम गर्नुपर्छ,’ उनले भने, ‘नगरले त्यसका लागि पहल गरेको छ ।’ जग्गा व्यवस्थापन तथा विकास समितिले भने नगरले बजेट दिएरमात्रै काम गर्न नखोजेको आरोप लगाउँदै आएको छ ।
‘०७२ सालमा भएको १२ बुँदे सम्झौता अक्षरशः पालना हुनुपर्छ,’ समितिका सचिव ध्रूवबहादुर केसीले भने, ‘इञ्जिनीयर, अमिन चाहिन्छ, हामीलाई कार्यालयले टेर्दैनन्, नगरले कित्ताकाट, सडक छुट्याउनेलगायत काम गरिदिनुपर्छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया