अर्थ / बाणिज्य

कोइलावास नाका : पहिले गुलजार, अहिले सुनसान

खानेपानीका लागि पनि भारत नै जानुपर्ने बाध्यता

इकागज |
मंसिर १७, २०७८ शुक्रबार २०:२२ बजे

दाङ - दाङको कोइलावास नाका अहिले सुनसान छ । राप्तीको प्रमुख प्रवेशद्वार मानिने कोइलावास नाकामा अहिले चहजपहल छैन । रुकुम, सल्यान, प्युठान, दाङलगायत ठाउँबाट नूनदेखि सुनसम्म खरिद बिक्री गर्न व्यापारी र उपभोक्ताहरूका लागि कोइलावास नाका प्रमुख बजार थियो । तर, अहिले यही कोइलाबास नाकाका नागरिक सामान किनमेल गर्न भारत जानुपर्ने बाध्यता छ । टाउको दुख्दा सिटामोल लिनसमेत भारतमै पुग्नुपर्ने बाध्यता छ । यतिमात्र हाेइन खानेपानीका लागि पनि भारत नै जानुपर्ने बाध्यता छ । 

गढवा गाउँपालिका- ८ मा पर्ने कोइलावासका नागरिकले अहिले धेरै दुःख पाएको बताउने गरेका छन् । नेपाली भूमिमा भएर पनि बजारका लागि भारत जानुको विकल्प उनीहरूका लागि छैन । त्यहाँका जनता कोइलावासबाट करिब २४ किलोमिटरको दूरीमा रहेको भारतको तुलसीपुरमा बजार जान बाध्य छन् । 


कोइलावास नाका पुग्दा अधिकांश घरहरू पुराना र भग्नावशेष अवस्थामा पुगिसकका छन् । नयाँ निर्माण छैनन् । पक्की घरहरू समेत जीर्ण भएका छन्् । धेरै घरहरू रूखले ढाकिएको अवस्थामा छन् । सशस्त्र सीमा सुरक्षा बल, नेपाल प्रहरी अहिले पनि कोइलावासमा छन् । 

कोइलावास ‘मृत सहर बन्नुको खास एउटै कारण यहाँको सडक हो । त्यहाँका मानिस सडककै कारण कोइलावास सुकेको बताउँछन् । २०३०-०४० सालसम्म सडक नभएपछि व्यापारीहरू त्यहाँबाट अन्यत्र बसाइँ सर्न थाले । त्यही अवस्थामा कपिलवस्तुको कृष्णनगर नाका खुल्यो । त्यो बाटो नियमित चल्न थालेपछि व्यापारीहरू त्यही भन्सार प्रयोग गर्न थाले । विस्तारै कोइलावास शून्य हुँदै गयो । मानिसहरूको भिडभाड हुन छाडेपछि व्यापार चौपट भयो । केही उपाय नलागेका मात्र त्यहाँ बसे ।

कुनै बेला कोइलावासको जनसंख्या २० हजारभन्दा बढी थियो । तर, अहिले यहाँ मुस्किलले एक हजार ३ सय मात्र जनसंख्या छ । २०७४ सालको स्थानीय निर्वाचनमा जम्मा मतदाता ३५० मात्र थिए । तीमध्ये पनि करिब ५ सय जना नागरिकताविहीन छन् । कोइलावास नाकाबाट दाङ लमही ३३ किलोमिटरको दूरीमा रहे पनि अहिलेको अवस्थामा पनि सवारीसाधनमा लमही पुग्न दुईदेखि तीन घण्टा लाग्छ । त्यही कारण यहाँका जनता भारतमा निर्भर छन् ।


Author

थप समाचार
x