अर्थ / बाणिज्य

सिरुटार-बिरुवा सडक खण्डमा कालाेपत्रे सुरु

इकागज |
मंसिर १८, २०७८ शनिबार १९:१४ बजे

फाइल फाेटाे

भक्तपुर - सूर्यविनायक नगरपालिका-१ स्थित सिरुटार-बिरुवा सडक कालोपत्रे गर्न शनिबारदेखि सुरु गरिएको छ । सरकारको २० करोड रूपैयाँ लागतमा कालोपत्रेे निर्माण कार्य सुरु गरिएको हो । बागमती प्रदेश सभा सदस्य शशिजंग थापाले सो सडक शनिबार शिलान्यास गरे ।

ढलसहित ११ मिटर चौडाइ कालोपत्रेे सडकमा फुटपाथ, कुलो, सडकपेटी, हरियाली र उज्यालो सडक अभियानअन्तर्गत सडकबत्ती जडान सम्पन्न गर्ने गरी निर्माण सुरु भएको उनले बताए । ‘बालकोट र सिरुटारको सिमाना पुलबाट सिरुटार-बिरुवा सडकखण्ड पहिलो चरणमा निर्माण सम्पन्न हुँदैछ, यसका लागि प्रदेशबाट रु १५ करोडको बजेट आएको छ, बिरुवाबाट तर्खगालसम्म संघीय सरकारबाट पाँच करोड रूपैयाँ बजेट आएको छ, सडकमा ठेक्का आह्वान गर्दा आएको बिलोसहित यो सडकमा करिब रु २६ करोड बराबरको काम सम्पन्न हुनेछ,’ प्रदेशसभा सदस्य थापाले भने ।


यसअघि संघीय, प्रदेश सरकार तथा नगरपालिकाबाट समेत १२ करोड रूपैयाँको लगानीमा सडक फरोकिलो पार्ने र सडकको दायाँबायाँ पर्खाल लगाउने काम सम्पन्न भएको जनाउँदै उनले आगामी एक वर्षभित्रमा यो सडकको सम्पूर्ण निर्माण पूरा गरिने बताए । सिरुटारमा अधिकांश भित्री सडक फराकिलो पार्ने, कालोपत्रे गर्ने र ढलान गर्ने काम सम्पन्न भएको तथा केही सम्पन्न गर्ने चरणमा रहेको उनले जानकारी दिए ।

उनले संघबाट आएको ४३ करोड रूपैयाँ बजेटबाट बालकुमारीबाट बालकोट, दधिकोट, गुण्डु हुँदै रानीकोट काभ्रे सडक विस्तार भइरहेको जनाउँदै देशभरिमध्ये भक्तपुरमा धेरै बजेट ल्याएर विकासका पूर्वाधार निर्माण गरिएको दाबी गरे । -रासस


Author

थप समाचार
x