अर्थ / बाणिज्य

काठेखोलामा कृषि तथा पशु उद्यमशील परियोजना सुरु

इकागज |
मंसिर १९, २०७८ आइतबार १४:२५ बजे

फाइल तस्‍बिर

बागलुङ - बागलुङको काठेखोला गाउँपालिकाले कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सुरु गरिएकाे छ । गाउँपालिकाले हेफर इन्टरनेशनलसँगको सहकार्यमा उक्त परियोजना सुरु  गरेको हो । गाउँपालिकाका आठवटै वडाका कृषकको हितलाई ध्यानमा राखेर तीन करोड ७३ लाख ३३ हजार रूपैयाँ लागतमा उक्त परियोजना सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले बताए ।

‘कृषकको चाहनामा आधारित उद्यम सञ्चालनका लागि हामीले कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सञ्चालन गर्न लागेका हौं,’ उनले भने, ‘कृषकलाई कृषि र पशुपालनका क्षेत्रमा संगठित गर्दै उत्पादन बढाउनका लागि यो परियोजना धेरै उपयोगी हुने अपेक्षा गरेका छौं ।’


कृषकले कृषि र पशुपालनका क्षेत्रमा आफूले चाहेको व्यवसाय गर्न पाउने गरी सञ्चालन हुन लागेको तीनवर्षे यो परियोजनाका लागि गाउँपालिकाका अध्यक्ष थापा र हेफरका सहनिर्देशक दुर्गा केसीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यो परियोजनाको व्यवस्थापन भीमापोखरा युवा क्लब (विवाइसी) ले गर्ने भएको छ परियोजनाका लागि वडास्तरमा कृषि समूह गठन गरी उद्यमीको प्रवद्र्धन, उद्यमीले उत्पादन गरेका उत्पादनको बजारीकरण गरिने विवाइसीका कार्यक्रम संयोजक चुडामणि उपाध्यायले जानकारी दिए ।


Author

थप समाचार
x