अर्थ / बाणिज्य

पेट्रोल, डिजेलबाट चल्ने सवारी साधन विस्थापन गरौं : अर्थमन्त्री शर्मा

इकागज |
मंसिर २२, २०७८ बुधबार २०:४५ बजे

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन विस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडाको) को ४५ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । 

स्वदेशमै उत्पादित बिजुली खपत तथा वातावरण प्रदूषणलाईसमेत न्यूनीकरण गर्न पनि इलेक्ट्रिक सवारी साधनको उपयोग वृद्धि गर्नुपर्ने अर्थमन्त्री शर्माको भनाइ छ । ‘पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनलाई विस्थापन गर्नमा हामी सबैले ध्यान दिँदै बिस्तारै पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेसनमा बदल्नुपर्छ’, मन्त्री शर्माले भने, ‘यस किसिमको प्रविधि पनि आइसकेको छ । यसो गर्दा नै हामी सबैको भलो हुनेछ ।’


यसैगरी अर्थमन्त्री शर्माले आयातमा प्रतिबन्ध लगाउन नसकिने भन्दै स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन व्यवसायीहरूलाई आग्रह गरे । ‘आयातलाई प्रतिबन्ध लगाउन आजको जमानामा सम्भव पनि छैन,’ उनले भने, ‘तर एउटा कुरा सम्भव छ, स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिन्छ, सक्नुपर्छ ।’

स्वदेशमै स्तरीय सामग्री उत्पादनका लागि सरकार र व्यवसायी सबैको ध्यान जानुपर्ने उनको भनाइ छ । अर्थमन्त्री शर्माले नेपालमै गाडी उत्पादन गर्ने उद्योग स्थापना गरी भन्सारमा आधारित राजस्व योगदानलाई परिवर्तन गर्न आग्रह गरे ।

‘अहिलेको २५ प्रतिशत राजस्वको योगदानलाई घटाएर अरू फरक किसिमले ५० प्रतिशत योगदान पुर्‍याउन तपाईंहरूलाई आग्रह छ,’ उनले प्रश्न गरे, ‘जनशक्ति, जमिनलगायत बजार पनि हामीसँग छ । त्यसैले नेपालमै तपाईंहरूले उत्पादन कार्य किन प्रारम्भ नगर्ने ?’ उत्पादनका लागि विद्युतमा सहुलियत दिने, जग्गा व्यवस्थापन गर्ने, श्रम र बजारको ग्यारेन्टी गर्नेजस्ता काममा सरकार सकारात्मक रहेको मन्त्री शर्माले बताए ।


Author

थप समाचार
x