Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

अर्थ / बाणिज्य

बुक क्लोजको पूर्वसन्ध्यामा सेयर हात पार्नेको ओइरो

सोमबारको तुलनामा बढ्यो कारोबार, ५.५७ अंकले बढ्यो नेप्से

इकागज |
पुस १४, २०७७ मंगलबार १५:२६ बजे

काठमाडौं :  विभिन्न कम्पनी, बैंक तथा वित्तीय संस्थाहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सेयर बजार सामान्य वृध्दि भएको छ । मंगलबारको कारोबारमा नेप्से परिसूचक ५ दशमलव ५७ अंकले बढेर २०१२.८९ पुगेको छ । यो सोमबारको तुलनामा ०.२८ प्रतिशत वृध्दि हो ।  

पुस मसान्तसम्म अधिकांश संघसंस्था तथा कम्पनीहरूको वार्षिक साधारणसभा छ । बुधबारसम्म ती कम्पनीहरूले बुक क्लोज गर्नुपर्ने हुन्छ । बुक क्लोज गरेका  कम्पनीको सेयर किन्‍नेले नाफाका लागि वर्षदिन पर्खनुपर्ने हुन्छ । बुक क्लोज भइसकेपछि कारोबारमा शिथिलता आउने गरेको विगतका गतिविधिले देखाउने गरेको छ । जसकारण बुक क्लोजको पूर्वसन्ध्यासम्म सेयर बजारमा लाभांश सुरक्षित गर्न लगानीकर्ता ओइरिने गरेका छन् ।


पुसपछि आयकरको किस्ता, बिमाको किस्ता लगायत विभिन्‍न भुक्तानी गर्नुपर्ने भएकाले पैसाको आवश्यकता पर्छ । जसकारण लगानीकर्ताले भएको सेयर बच्‍ने गर्छन् । यसले बजार घट्ने सम्भावना रहन्छ ।

सेयर बजारमा लगानी गर्ने र लगानी सुरक्षित गर्ने अलग अलग रणनीति हुन्छन् । घट्दो बजारमा लगानीकर्ताहरू यस्ता रणनीति बनाउन अझै बढि सक्रिय हुन्छन् । अहिले बजारमा भने हकप्रद वा बोनस आफ्नो नाममा पार्ने अनि मूल्य नघट्दै बेचिहाल्ने रणनीति अपनाउने प्रवृत्तिले सेयर बजारमा प्रभावित हुने गरेको छ ।

सूचीकृत कम्पनीहरूले लाभांश तथा हकप्रद तथा अन्य विशेष निर्णयका लागि लाभग्राही सेयरधनीहरूको सूची तयार गर्न बुकक्लोज मिति तोक्छ । बोनस तथा हकप्रद सेयर वितरण हुने अवस्थामा बुक क्लोज मितिको अघिल्लो दिनसम्म किनेका लगानीकर्ताहरूले मात्र तोकिएको बोनस तथा हकप्रद पाउँछन् । अझ बोनस तथा हकप्रदको दरमा आधारमा मूल्यसमेत समायोजन हुने हुँदा बुकक्लोजको बारेमा लगानीर्ताहरू चनाखो भएर बस्छन् ।

बुकक्लोज गर्ने अन्तिम दिन भएका कारण पनि सेयर अघिल्लो दिनको तुलनामा धेरै खरीदबिक्री भएको छ । पछिल्लो समयको बजार हेर्दा अल्पकालिन लगानीकर्ता नाफा बुक गर्दै पुन: सेयर खरीद गर्नेतर्फ लागेका छन् ।

सोमबार सेयर कारोबार ३ अर्ब ८५ करोड रुपैयाँमा मात्रै सीमीत रहेको कारोबार मंगलबार बढेर चार अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकले यो वर्ष नगद लाभांशमा कडाइ गरेपछि अधिकांश कम्पनीले बोनस सेयर घोषणा गरेका छन् । ती कम्पनीबाट सेयरधनीहरूले पुँजीगत लाभ लिनसक्नेछन् । कम्पनीको लाभांश कुर्नुभन्दा अहिले बिक्री गरेर समायोजनपछिको सस्तो मुल्यमा सेयर किन्ने लगानीकर्ताहरूको रणनीतिले गर्दा पनि सेयर बजारमा अपेक्षाकृत वृध्दि हुनसकेको छैन ।

बुक क्लोजले गर्दा बैंक तथा वित्तीय संस्थाहरूको सूचक घटेको छ । बैंकिङ समूहको परिसूचक ९.७ अंकले घटेको छ । मंगलबार कारोबारमा आएका १२ समूहमध्ये चार वटा समूहका परिसूचक मात्र बढेको छ ।

नागरिक लगानी कोषको सेयरमूल्य सर्किट लेभलमा बढ्यो । ८२ दशमलव ८४ प्रतिशत हकप्रदका लागि सेयरमूल्य समायोजन भएपछि यो दिन कोषको मूल्य ९ दशमलव ९९ प्रतिशत बढेर ३ हजार ६२ रुपैयाँ पुगेको छ । कारोबारको डेढ घण्टामा कोषको सेयर खरीद चापका कारण मूल्यमा उच्च बृध्दि भएको हो ।

कोषले हकप्रद सेयर प्रयोजनका लागि मंगलवार बुक क्लोज गरेको छ । ८२ दशमलव ८४ प्रतिशत हकप्रदका लागि शेयर कायम गर्ने अवधि सकिदा पनि कोषको सेयर खरीदमा लगानीकर्ताहरुको उच्च आकर्षण देखिन्छ ।

बिक्री गर्नेको भन्दा सेयर खरीद गर्ने माग छ । नेप्सेले मंगलवार कोषको हकप्रदपछिको शेयरमूल्य पुस १३ गतेको अन्तिम सेयरमूल्य  ५ हजार ८ को आधारमा  २ हजार ७८४ रुपैयाँ तोकेको हो । यस दिन कोषको शेयर कारोबार रू. २ हजार ९२३ देखि खुला भएको थियो ।

यस अवधिसम्म नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । नबिलको ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको सेयरमूल्य १ हजार ३८६ रुपैयाँ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ । कम्पनीको २७ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर खरीदविक्री भएको छ । ग्लोबल आइएमई बैंकको २३ करोड ५० लाख रुपैयाँ बराबरकव सेयर कारोबार भएको छ ।


Author

थप समाचार
x