अर्थ / बाणिज्य

मर्दी हिमालको आधार शिविरमा स्की महोत्सव

इकागज |
पुस १९, २०७८ सोमबार १५:२ बजे

पोखरा -  कास्कीको मर्दी हिमाल आधार शिविरमा विन्टर स्की महोत्सव हुने भएको छ । दीगो हिमालयन कोष नामक संस्थाको आयोजनामा माघ २७ देखि फागुन ३ गतेसम्म ( फेब्रुवरी १० देखि १८ ) सम्म स्की महोत्सव गर्न लागिएको हो ।

नेपालमा स्की पर्यटनको विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक संस्थाका सदस्य प्रभात अधिकारीले जानकारी दिए । संस्थाले हरेक वर्ष फरक-फरक स्थानमा महोत्सव गर्दै आएको छ । नेपालको विन्टर सिजनमा पर्यटन प्रवद्र्धन गर्दै अगाडि बढ्ने संस्थाको अवधारणा छ । 


संस्थाले मर्दीमा गर्न लागेको महोत्सव आठौं चरणको हो । यसअघि धौलागिरी हिमालमा डाउनहिल स्की अभियान, अन्नपूर्ण आधार शिविर, मुक्तिनाथ क्षेत्र, थोरङ्लापास, याला हिमाल मनास्लु, थोराङ भञ्ज्याङ, गोसाईंकुण्ड, मिरा हिमाल, लगायतका स्थानमा स्की पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रमहरू सम्पन्न गरिसकेको छ । अन्तर्राष्ट्रिय स्की प्रशिक्षक कृष्ण थापा मगरको प्रशिक्षण तथा सहजीकरणमा यो महोत्सव हुन लागेको उनले जानकारी दिए । 

महोत्सव सम्पन्न गर्न १६ देखि १७ लाख रुपैंया खर्च लाग्ने अनुमान गरिएको छ । उक्त खर्च अन्तरगत सबैभन्दा बढी बिमामा छुट्टाइएको छ । महोत्सवमा भाग लिनेहरूको बिमाका लागि २ लाख २० हजार रुपैंया विनियोजन गरिएको अधिकारीले जानकारी दिए । महोत्सव अवलोकनका लागि प्रति व्याक्ति ३०देखि ३५ हजारसम्मको प्याकेज बनाइने उनको भनाइ छ । 

महोत्सवमा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, नेपाल सरकार अन्तर्गतका संघसंस्था सँगै पोखरामा भएका पर्यटनसँग सम्बन्धीत विभाग, कार्यालय तथा संस्थाहरूसँग सहकार्य गर्ने अधिकारीले बताए । महोत्सवअन्तरगत पदयात्रा, आधारभुत स्की तथा स्नोबोर्ड तालिम, जीवनरक्षा तालिम, स्थानीय समुदायसँग अन्तरक्रिया तथा स्की सम्बन्धी बृत्तचित्रहरू प्रदर्शन गरिने अधिकारीले जानकारी दिए ।

स्की महोत्सवले मर्दी हिमाल पदयात्रालाई झनै प्रचार प्रसार गर्ने स्थानीय व्यवस्थापक सुदीप गौतमले जानकारी दिए । महोत्सवले नेपालको आन्तरिक पर्यटनको प्रवर्द्धन हुने, नेपालको पर्यटनमा नयाँ क्रियाकलाप थपिने, स्की सम्बन्धी सीप हस्तान्तरण हुने उनको धारणा छ । नेपालमा सबै मौसम पर्यटकका लागि उपयुक्त छ भन्ने सन्देश महोत्सवले दिने उनले बताए । 


Author

थप समाचार
x