Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

अर्थ / बाणिज्य

कीर्तिमानी उचाइ चुमेर ओरालो लाग्यो बजार

तीव्र उतारचढावले सर्वसाधारण लगानीकर्ता घाटामा

इकागज |
पुस २०, २०७७ सोमबार १५:५७ बजे

काठमाडौं : सोमबारको प्रीओपनीङ कारोबारमा (बिहान ११:०६ मा) ४१ अंकले बढेर नेप्से २२१६.४४ अंक पुग्यो । तर नियमित कारोबार हुँदै गर्दा बजार लगातार ओरालो लाग्यो । बिहानी ६ मिनेटको कारोबारमा कीर्तिमानी उचाइ कायम गरेको बजार ६२ अंकसम्म घट्यो ।

पछिल्लो समय लगातार बुलिश ट्रेन्ड देखिएको बजारमा लोभिएर बिहान हतारिएर किन्‍ने धेरै लगानीकर्तालाई ठूलो नोक्सानी बेहोर्नुपरेको छ ।


गत बिहीबारदेखि लगातार बढिरहेको बजार बुलिश ट्रेन्डमा पुगेकाले अब निरन्तर उकालो लाग्‍ने हल्ला पिटिएको थियो । समग्रमा नेप्से ६ दशमलव ३६ अंकले घटेपनि कारोबारको बीचको समयमा भएको उतारचढावले धेरै लगानीकर्तालाई डुबाएको छ ।

सोमबार नेप्से परिसूचक ० दशमलव २९ प्रतिशतले घटेर २१६९.०४ बिन्दुमा रोकिएको छ । बिहानीपख बजारमा जुर्मुराएका लगानीकर्ताको आशा ६ मिनेट पनि टिकेन ।

ठूला राजनीतिक, आर्थिक एवम् प्राकृतिक घटनाहरूले सेयर बजारलाई अस्वाभाविक प्रभाव नपारोस् भनेर नेप्सेमा सुरुदेखि नै ‘प्रि-ओपन सेसन’ सञ्‍चालनमा ल्याएको छ ।

आमलगानीकर्ताको अनुमानविपरीत सोमबार बजार बढ्न सकेन । केही ठूला लगानीकर्ताको चलखेलले बजार प्रभावित हुनेगरेको विश्लेषकहरू बताउँछन् । लगानीकर्ताहरूले बजार उकालो लाग्ने हल्ला गरेर आफ्नो सेयर भने बेच्‍न थालेपछि यस्तो अवस्था आएको हो । साधारण लगानीकर्ता बजार बढ्ने आशामा सेयर किन्‍न झुम्मिए पछि सस्तोमा सेयर किनेर बसेका ठुला लगानीकर्ताले बेच्‍न थालेका छन् ।

समग्रमा नेप्सेमा सामान्य गिरावट आएपनि सोमबारको तिव्र उतार चढावले साना तथा नयाँ लगानीकर्तालाई डुबाएको छ ।

प्री ओपन सेसनमा उच्च बिन्दूमा पुगेका लगभग सबै समूहको परिसूचक अन्तत: ओरालो लाग्यो । पहिलो ६ मिनेटमा बैंकिङ समूहको परिसूचक १६८५.९५ बिन्दुमा पुगेको थियो । साढे दुई बज्दा यो परिसूचकमा ५२ अंकको गिरावट आयो । यद्यपि अन्तिम कारोबार १६४४.९४ बिन्दुमा सीमीत रहन पुग्यो । सोमबारको कारोबारमा विकास बैंक, हाइड्रोपावर, फाइनान्स, निर्जिवन बीमा र अन्य समूह बाहेक सबै समूहको परिसुचक घटेको छ ।

सोमबारको कारोबारमा मुख्यगरी नेशनल माइक्रोफइनान्स वित्तीय संस्था, नेपाल फाइनान्स लिमिटेड, एभरेष्ट बैंक, मल्टीप्रपोज फाइनान्स, शिवम् सिमेन्टका लगानीकर्ताले घाटा बेहोर्नुपरेको छ ।


Author

थप समाचार
x