Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

अर्थ / बाणिज्य

सेयर बजारबारे फर्जी नामबाट हल्ला पिटेको दाबी, कारबाही गर्न ब्रोकरको निवेदन

इकागज |
पुस २२, २०७७ बुधबार १७:२७ बजे

काठमाडौं : सामाजिक सञ्‍जालमा फर्जी नामबाट सेयर बजारबारे अनावश्यक हल्ला पिटाउने प्रवृत्ति मौलाएकोमा ब्रोकरहरूले आपत्ति जनाएका छन् । सेयर ब्रोकरहरूको छाता संस्था स्टक ब्रोकर्स एशोसिएसन अफ नेपाल (एसब्यान)ले त्यस्ता व्यक्तिहरूलाई कारबाही गर्न माग गरेको छ ।

पछिल्लो समय सेयर बजार सूचकांक नेप्से परिसूचक ऐतिहासिक उच्च बिन्दूमा लम्किरहेको छ । यस्तोमा हल्ला पिटाएर सेयर बजारबाट लाभ लिने समूहको बिगबिगी बढ्ने सम्भावना हुन्छ ।


मंगलबार धितोपत्र बोर्डलाई निवेदन दिँदै उसले प्रहरीसमक्ष उजुरी गर्नुपर्ने बताएको छ । 'आजभोली आफ्नो नामबाट भन्दापनि काल्पनिक, परिचय नखुल्ने नाम, बेनामी, फर्जिनाम वा असम्बन्धित नामबाट सामाजिक सञ्‍जालमा धितोपत्र बजारका विभिन्न निकायका संस्था, पदाधिकारी वा व्यक्ति विशेषको नामै तोकेर अनावश्यक हल्ला फैलाउने र गाली गलौज गर्ने' प्रवृत्ति मौलाएको उल्लेख छ । लगानीकर्ताको लगानीको तथ्य र सूचनालाई गलत तरिकाले प्रकाशन गरेको उसले भनेको छ । यस्तो कार्यबाट सेयर बजारको संवेदनशीलतामा आँच आउने भन्दै कारबाहीको माग गरेको हो ।

यस्तो कार्य विरुद्ध प्रहरी समक्ष उजुरी दिने र कानुनी कारबाहीको व्यवस्था गर्न स्थायी संयन्त्र बनाउन एसब्यानको माग छ । उसले त्यस्तो संयन्त्र बनाउन नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र बोर्ड र अर्थ मन्त्रालयलाई निवदेन दिएको हो ।

पछिल्लो समयमा सेयर बजारलाई प्रभावित नै पार्ने गरी हल्लाबाजी भएको महासचिव जीएन भुषालले बताएका छन् । उनले भने, 'सामाजिक सञ्‍जालमा अत्याचार नै हुनेगरी त्यस्तो गितिविधी बढेपछि धितोपत्र बोर्डमा निवेदन दिन बाध्य भएका हौं ।'

गत भदौमा तत्कालीन अर्थ मन्त्री डा. युवराज खतिवडाले राजिनामा दिएपछि सामाजिक सञ्‍जालमा 'सेयर बजारले ऐतिहासिक रेकर्ड कायम गर्ने' हल्ला पिटिएको थियो । हल्ला पिटाएर सेयर बजारलाई प्रभावित पार्ने प्रवृत्ति निकै बढेको ब्रोकरहरू बताउँछन् । त्यसबाहेक इनसाइडर ट्रेडिङमार्फत पनि सेयर बजारमा चलखेल हुने गरेको ब्रोकरहरू बताउँछन् ।

के हो इनसाइडर ट्रेडिङ ?

कुनै व्यक्तिले कम्पनीको सार्वजनिक भइनसकेका भित्री सूचना चुहाई गरिने सेयर कारोबार इनसाइड ट्रेडिङ हो । यसरी सूचना चुहाई आफूले वा अरूलाई कारोबार गर्न लगाइन्छ ।

कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिने कानुनी व्यवस्था छ । यस्ता सूचनाका आधारमा कारोबार गर्न कानुनले वञ्चित गरेको छ ।

यस्तो कारोबार गर्नेलाई भित्री कारोबार गरेको ठहरेमा बिगोबमोजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था धितोपत्र ऐनले गरेको छ । त्यस्तो काम कारबाहीबाट कसैलाई हानि नोक्सानी पर्न गएमा त्यस्तो हानि नोक्सानीसमेत भराई दिनुपर्ने छ ।

‘भित्री सूचना वा जानकारी’ भन्नाले धितोपत्र जारी गर्ने संस्थाबाट सार्वजनिक नभएको सूचना वा जानकारी सार्वजनिक भए धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारी सम्झनुपर्छ ।


Author

थप समाचार
x