एलोन मस्क बने विश्वकै धनी
काठमाडौं: टेस्ला इंक र स्पेसएक्सका मालिक एलोन मस्क विश्वकै धनाढ्य व्यक्ति बनेका छन् । उनको खुद सम्पत्ति १८५ अर्ब अमेरिकी डलर पुगेसँगै उनले सन् २०१७ देखि विश्वका पहिलो धनाढ्य रहँदै आएका जेफ बेजोसलाई पछि पारेका छन् । बिहीबार टेस्लाको सेयर मूल्य बढेसँगै एलोन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । क्यानडाली मूलकी आमा र दक्षिण अफ्रिकी मूलका बाबुबाट सन् १९७१ जुन २८ मा जन्मेका मस्क ५० वर्षे अमेरिकी उद्यमी हुन् । उनको कार कम्पनीले आज टोयोटा, फक्सवागन, हुण्डाई, जनरल मोटर्स र फोर्डलाई समेत पछि पारिसकेको छ ।
टेस्लाले ट्वीटरमा मस्क विश्वको धनाढ्य बनेको ट्वीटमा प्रतिक्रिया दिदैं मस्कले भनेका छन्, ‘कस्तो अचम्म’ । उनले आफ्ना लागि यो अप्रत्याशित जस्तो प्रतिक्रिया दिएका छन् ।
‘मेरो आधा सम्पत्ति पृथ्वीका समस्या समाधानप्रति लक्षित छन् । मंगल ग्रहमा सहर निर्माण गरी त्यहाँ सबै प्रकारका जीवनको अस्तित्व सम्भव तुल्याउने मेरो उद्देश्य छ,’ मस्कले भनेका छन्, ‘पृथ्वीमा कुनै उल्का भयो, डायनोसर जस्तै लोप हुने अवस्था भयो वा तेश्रो विश्वयुद्धबाट आफैंले आफैंलाई ध्वस्त पार्ने अवस्था आएको खण्डमा यो एउटा विकल्प हो ।’
अमेरिकी सिनेटमा डेमोक्र्याटहरूको विजय सुनिश्चित भएसँगै टेस्लाको सेयर मूल्य बढेको हो । धितोपत्र बजार विश्लेषक डेनियल इभ्सले ‘सिनेटमा डेमोक्र्याटहरूको विजय सम्भावित परिवर्तनको वहाक हुनसक्ने’ भन्दै टेस्ला र समग्रमा विद्युतीय सवारीसाधन केन्द्रीत हरित र वातावरण मैत्री सवारी प्रवद्र्धन नीति डेमोक्र्याटहरूको एजेण्डामा रहेको बताएका छन् ।
जेम्स बेजोस पनि केही वर्षअघि देखि नै निरन्तर पहिलो धनीको सूचीमा रहेका थिए । कोरोना भाइरस महामारीका कारण उनको कम्पनी अमेजनले अनलाइन स्टोर र क्लाउड कम्प्युटीङ सेवा दुवैतर्फको व्यापार वृद्धि भएको छ । तर उनले आफ्नो व्यवसायको ४ प्रतिशत हिस्सा सम्बन्धविच्छेदपछि आफ्नी पूर्व श्रीमति मेकेन्जी स्कटलाई दिएका छन् । यसले गर्दा पनि मस्कले बेजोसलाई पछि पारेका हुन् ।
यसका अतिरिक्त, नियमनको डरले अमेजनको सेयर मूल्य अन्य कम्पनीको अनुपातमा बढेको छैन ।
टेस्लाको सेयर मूल्य गत वर्ष नै सात गुणाले बढेको थियो । जसका कारण उनको बेजोसकोझै भाग्योदय भएको हो । विद्युतीय कार निर्मार्ताको सम्पत्ति १२ महिनामै तीव्र रूपमा वृद्धि हुनुलाई औचित्यहीन उत्साहको उदाहरण पनि मानिन्छ । यसको अर्थ मस्कले आगामी पाँच वर्षभित्रै टेस्लाले अन्य मोटर उत्पादकको तुलनामा उच्च नाफा सिर्जना गर्नुपर्छ जसले बाँकी सबै कम्पनीहरूलाई संयुक्त रूपमा औचित्य पुष्टी गर्न बाध्य तुल्याओस् । विद्युतीय मोटर नै अबको भविष्य रहेको प्रक्षेपण भैरहँदा धेरैले उनको यही गतिको प्रगति कायम हुनेमा आशंका गर्छन् । २० वर्षअघि डट कम को लहर आउँदा पनि यसबाट अत्याधिक ठूला नाफा टाढाकै सपना थियो, तर जेफ बेजोसले अमेजनमार्फत् विश्वकै धनी बनेर त्यसलाई सिद्ध गरिदिए ।
(बीबीसीको सहयोगमा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया