अर्थ / बाणिज्य

चिनियाँ कम्युनिष्ट पार्टीको कोपभाजनमा परेका ज्याक मा जस्तै अर्बपतिहरू

इकागज |
पुस २४, २०७७ शुक्रबार १३:५७ बजे

तस्वीर साभारः वाल स्ट्रीट जर्नल

काठमाडौंः विश्वविख्यात अलिबाबा कम्पनीका सहसंस्थापक चिनियाँ अर्बपति ज्याक मा सार्वजनिक मञ्चहरूबाट एकाएक हराएपछि विभिन्न अड्कलबाजीले सामाजिक सञ्जाल तातेको छ । ज्याक मा कहाँ छन् भन्ने विषय अज्ञात छ, न त अलिबाबाले नै यो विषयमा जानकारी दिन्छ ।

आम मानिसहरूले उनलाई अक्टोबर महिनामा सांघाईमा सम्पन्न बण्ड सम्मेलनमा देखेका थिए । जहाँ उनले चिनियाँ नियामक निकायहरूले नवप्रवर्तनको घाँटी निमोठ्ने काम गरेको भनेर आलोचना गरेका थिए । यो घटनापछि नोभेम्बर ३ मा उनले वित्तीय प्रविधि (फाइनान्सियल टेक्नोलोजी) कम्पनी एन्ट ग्रुपको प्राथमिक सेयर निष्काशन (आईपीओ)लाई नै थाती राख्नुपर्ने अवस्था भयो । कारोबार सुरु हुने भनेर घोषणा भएको दुई दिन अघि एन्ट ग्रुपलाई आईपीओ निष्काशनमै रोक लगाइयो । 
चीन सरकारलाई अलिबाबाले बजारमा एकाधिकार व्यवहार गरेको भन्दै अनुसन्धान गरिरहेको भनेर धितोपत्र बजार नियामक संस्थाले जानकारी दिएको छ । त्यसयता ज्याक मा कतै देखापरेका छैनन् । अलिबाबा र एन्ट ग्रुपले यससम्बन्धमा कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि, ज्याक मा निकटका व्यक्तिहरूले सीएनबीसीलाई ज्याक मा हराएको नभइ निष्क्रिय बसेको प्रतिक्रिया दिएका छन् । 


‘सरसर्ती हेर्दा उनको स्वतन्त्र अभिव्यक्तिलाई लिएर उनको व्यवसायमार्फत् आर्जन गरेको शक्तिमाथि कुठाराघात गर्ने प्रयास भएको देखिन्छ,’ कोलम्बिया विश्वविद्यालयमा चिनियाँ राजनीतिका प्राध्यापक एन्ड्रयू नाथनले भने, ‘उनी स्वेच्छाले निष्क्रिय बसेका हुन् वा चिनियाँ कम्युनिष्ट पार्टीको कोपभाजनमा परेका हुन् ।’ 
सार्वजनिक मञ्मा ज्याक माको अनुपस्थिति एउटा ठूलो खेलकै एउटा भाग हो । विश्वका धनाढ्यहरूमा केन्द्रीत फोब्र्स म्यागेजिनका अनुसार, पछिल्ला केही वर्षयता आधा दर्जन चिनियाँ अर्बपतिहरू सार्वजनिक जीवनबाट गायब भैसकेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको कोपभाजनका परेका केही अर्बपतिहरूको सम्बन्धमा डिसेम्बर २०१५ मा एउटा रिपोर्ट बाहिर आएको थियो । गुओ ग्वाङचाङ, जो फुसोन इन्टरनेशनलका संस्थापक अध्यक्ष थिए । उनी पाँच वर्षदेखि गायब छन् । सार्वजनिक जीवनमा कतै देखापरेका छैनन् । सामाजिक सञ्जालहरूमा गुओलाई सांघाई विमानस्थलबाट प्रहरीले लिएर जाँदै गरेको देखिएको सम्बन्धी पोष्टहरू पनि आएका थिए । 

चीनका वारेन बफेट भनेर चिनिने गुओको हङकङ स्टक एक्स्चेन्जमा सूचीकृत ११५ अर्ब अमेरिकी डलर सम्पत्ति भएको फर्ममार्फत् एसिया, युरोप र अमेरिकामा लगानी गरेका थिए । गुओले न्यायलयमा अज्ञात ढङ्गले छानबिनमा सघाएको समाचार बाहिरिएपछि सरकारले उनको कम्पनीको सेयर कारोबार नै निलम्बन गरिदिएको थियो । गुओ पछि कम्पनीमा फर्के तर कुनै पनि जवाफ दिएनन् । गुओ चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रष्टाचार कारबाही अभियानताका गायब भएका थिए । गुओको अहिले खुद सम्पत्ति ७.५ अर्ब अमेरिकी डलर छ र उनी आज पनि फुसोन कम्पनीका अध्यक्ष छन् । 

जनवरी २०१६ मा सांघाई मिटर्सबोन फेसन एण्ड एकसेसरीजको सेयर कारोबार केही समय रोकियो । यसको कारण यसका संस्थापक झाउ चेङजीआनलाई प्रशासनले खोज्दा फेला नपरेको भन्ने थियो । चीनको सरकारी समाचार संस्था चाइना डेलीले झाउलाई इन्साइडर ट्रेडिङमा संलग्न भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । मिटर्सबोनको उक्त घटनाका सम्बन्धमा झाउले कहिले पनि कुनै अभिव्यक्ति दिएनन् । झाउ १२ वर्षको उमेरमा विद्यालय छाडेर काठ र इटाको काम थालेका थिए । पछि उनी टेलरिङ व्यवसायमा लागे पछि आफ्नै व्यवसाय शुरु गरे । उनको वार्षिक आम्दानी सन् २०१९ मा ८० करोड अमेरिकी डलर पुगेको थियो । अहिले उनको व्यवसाय छोरीले हेर्छिन् । यद्यपि झोउसँङ्ग अझै पनि ठूलो परिणाममा सेयर छ र १.३ अर्ब डलर सम्पत्ति । 

अरु धेरै व्यवसायीहरू पनि हालसालै गायब भएका छन् । रियलस्टेटमा जमेका व्यवसायी रेन झिकिङ्ग मार्च महिनामा महामारी व्यवस्थापनमा चिनियाँ सरकारको भूमिकासम्बन्धि एउटा लेख प्रकाशन भएयता सार्वजनिक मञ्चमा कतै देखापरेका छैनन् । उक्त लेखमा उनले चिनियाँ राष्ट्रपति सीको नाम उल्लेख त गरेका छैनन् तर उनले बारम्बार चिनियाँ नेतालाई ‘जोकर’ भनेर टिप्पणी गरेका छन् । उनका साथीले न्यूयोर्क टाइम्सलाई बताए अनुसार चिनियाँ नेताहरू उनलाई खोजिरहेका थिए । रेन आफैं पनि लामो समयदेखि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) कास सदस्य हुन् । यद्यपि, जुलाइमा सरकारले उनलाई पार्टीबाट अयोग्य भनी निलम्बन गरेको घोषणा ग¥यो । उनको सम्पत्ति जफत गरी सेप्टेम्बर १८ मा जेल हालियो । उनलाई शक्तिको दुरुपयोग गरी राज्यको स्वामित्वमा रहेको रियल स्टेट ग्रुपको नेतृत्वमा रहेर घुस लिएको लगायतका आरोप लगाइएको थियो । उसका सहयोगीहरू उनले राष्ट्रपति सीको विरोधमा बोलेकाले दण्डित भएको बताउँछन् । 

अर्का यस्तै अर्बपतिले पनि समान नियति व्यहोरेका छन् ।  टुमारो ग्रुपका सीआओ जीन्ह्वालाई हङकङबाट केही स्पष्टीकरणका लागि नियन्त्रणमा लिइएको थियो । जनवरी, २०१७ मा सीआओ चीनको फो सीजन होटलमा ह्वीलचेयरमा देखापरेका थिए । उनको टाउको ढाकिएको थियो । टुमारो ग्रुपले जुलाइ २०२० मा सरकारलाई अनुसन्धानमा सघाइरहेको वक्तव्य वीच्याटमार्फत् पठाएपनि त्यो तत्कालै डिलिट गरिएको थियो । सरकारले टुमारो ग्रुपसँग सम्बन्धित दर्जनौं व्यवसाय आफ्नो नियन्त्रणमा लिइसकेको छ । त्यी मध्ये केही कम्पनीहरूलाई सेयरधनी र होल्डिङ कम्पनीरूको सूचना लुकाएको आरोप लगाइएको थियो । सिआओको चीनका राजनीतिक उच्चतहसँग सम्बन्ध थियो, उनले तिनीहरूको कारोबारलाई पनि सहजीकरण गर्दै आएका थिए । टुमारो ग्रुपका प्रवक्ताले भने यससम्बन्धमा कुनै टिप्पणी गरेनन् । 

प्रिन्सटन विश्वविद्यालयका राजनीति र अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक एरोन फ्रेडवर्गले ज्याकमा को नियति पनि रेन, सिआओ लगायतको झैं हुने हो कि भन्ने आशंका गरेका छन् । सरकारको विरोध गर्नु चिनियाँ नागरिकका लागि अभिशाप नै हुन्छ । ‘सम्पत्ति आर्जन गरेकाहरूले राज्यका निकायहरूको विरोध गर्नु, वा कोही व्यक्ति प्रभावशाली बन्दै गएर पार्टीका लागि चुनौती हुने अवस्थामा ज्याक माको जस्तै समस्या धेरैले व्यहोरेका छन्,’ फ्रेडवर्ग भन्छन्, ‘सीको नेतृत्वमा पछिल्लो केही वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीले नियमित रूपमा उनीहरूका लागि जोखिम हुनसक्ने मानिसहरूलाई नियन्त्रणमा लिने र सम्पत्तिबाट अलग गर्ने काम गर्दै आएको छ । हरेक व्यक्तिले आक्रमण भोग्नुका विविध कारण भएपनि सीपीसीको एउटै सन्देश हो– कोही पनि व्यक्ति पार्टीबाट माथि वा यसको प्रभावबाट बाहिर जान सक्दैन ।’ 
(फोर्ब्सबाट)

यो पनि पढ्नुहोस्,

विश्वकै ठुलो सेयर निष्काशनमा किन ‘ब्रेक’ लगाउँदैछ चीन ?


Author

थप समाचार
x