प्रधानमन्त्री रोजगार कार्यक्रमको पैसा खर्च गर्न अर्थमन्त्रीको आग्रह
काठमाडौं: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरेका छन् ।
अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह अनुरोध गरेका हुन् ।
स्थानीय तहहरुमा पुगेको रकम मध्ये १ सय २६ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । अर्थमन्त्री पौडेलले खर्च हुन बाँकी रहेको रकम खर्चेर गाउँपालिका र नगरपालिकाहरुमा विकासलाइ गति दिन आग्रह गरे । यसैबीच अर्थमन्त्री पौडेलले कोभिड-१९ बाट अतिप्रभावित जोखिममा रहेका परिवारलाई सहयोग गर्न पनि अनुरोध गरे । उनले प्रधानमन्त्री रोगजार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमूलक बनाउन आग्रह गरे ।
उता, अर्थमन्त्री पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फे, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु सहितको बैठकमा भूमि सम्बन्धी समस्या समाधान आयोगको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
आयोगले भूमि समस्या समाधानका लागि ४७ जिल्लाका १९३ वटा पालिकासँग सम्झौता गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री तुम्बाहाम्फेले बाँकी रहेका पालिकाहरुमा सम्झौता गर्ने र काम सुरु गर्ने पनि जानकारी गराएकी छिन् ।
अर्थमन्त्री पौडेलले भूमिसुधार मन्त्रालयसँगको समन्वयमा केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गरी भूमि सम्बधी समस्यालाई स्थायी रुपमा समाधान गर्नेतर्फ अघि बढ्न आग्रह गरेका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री तुम्बाहाम्फेले काम स्थानीय तहमै हुने भएकाले स्थानीय तहको विशेष सकृयता जरुरी रहेको उललेख गरिन् । भेटमा नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जुले समयतालिका बनाएर काम गर्दा बढी प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए भने गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहमा नै सम्पर्क व्यक्ति (फोकल पर्सन) राखेर काम गर्न जरुरी रहेको उल्लेख गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया