अर्थ / बाणिज्य

आयात नियन्त्रणले पनि सुध्रिएनन् अर्थतन्त्रका सूचक, बाह्य क्षेत्र स्थायित्वमा दबाब कायमै

इकागज |
माघ २६, २०७८ बुधबार १७:११ बजे

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार उपभोक्ता मूल्यवृध्दि ५.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति दर ३.५६ प्रतिशत रहेको थियो । समिक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृध्दि दर ४.९२ प्रतिशत पुगेको छ भने गैर-खाद्य तथा सेवा समूहको मूल्यवृध्दि ६.२३ प्रतिशत रहेको छ ।

त्यस्तै, पुससम्मको तथ्यांकअनुसार विप्रेषण (रेमिट्यान्स) आप्रवाह ५.५ प्रतिशतले कमी आएको छ । यस अवधिमा ४ खर्ब ६८ अर्ब ४५ करोड रेमिट्यान्स भित्रिएको छ । २०७८ को असारमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय संञ्चिति १६.७ प्रतिशतले कमी आएर पुस मसान्तसम्मको अवधिमा ११ खर्ब ६५ अर्ब ८० करोड कायम भएको छ । अमेरिकी डलरको संञ्चिति गत असारमा ११ अर्ब ७५ करोड रहेकोमा पुस मसान्तसम्म १५.९ प्रतिशतले कमी आएर ९ अर्ब ८९ करोड रहेको छ ।


पुससम्मको तथ्यांकअनुसार वैदेशिक व्यापारमा कुल वस्तु निर्यात भने बढेको छ । गत वर्षको सोही अवधिको तुलनामा ९५.५ प्रतिशतले वृद्धि भई ११८ अर्ब ८५ करोड रुपैयाँ बरावरको वस्तु निर्यात भएको छ । गन्तव्यको आधारमा भारततर्फ १२१.८ तथा अन्य मुलुकतर्फ ३०.२ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

६ महिनाको अवधिमा कुल वस्तु आयात ५१.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा आयात ४.८ प्रतिशतले घटेको थियो । आयातमा चीनबाट ५१.५ प्रतिशत भारतबाट ३७.५ प्रतिशत र बाँकी अन्य मुलक रहेका छन् ।

 राष्ट्र बैंकको तथ्यांकअनुसार व्यापार घाटा ३५.४ अर्ब ७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ५१ अर्ब ६८ करोड घाटामा रहेको थियो । 

पुस मसान्त सम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २१.१ प्रतिशतले बढेको छ । यसमा वाणिज्य बैंक कर्जा प्रवाह ११.८ प्रतिशत, विकास बैंकहरूको कर्जा प्रवाह १२.७ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह २१ प्रतिशतले बढेको छ ।

६ महिनाको अवधिमा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रमा १३ प्रतिशत, औद्योगिक उत्पादनतर्फ ११.९ यातायात तथा सञ्चार तथा सार्वजनिक सेवातर्फ ८.५ प्रतिशत थोक तथा खुद्रा व्यापारतर्फ १२.७ प्रतिशत र सेवा उद्योगतर्फ ५.१ प्रतिशतले बढेको छ ।

६ महिनाको अवधिमा रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन तथा उपकरणमार्फत ३१ अर्ब ६५ करोड गरी ६० अर्ब तरलता प्रशोचन गरिएको छ । गत वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत  ८९ अर्ब ५४ करोड र निक्षेप संकलनमार्फत १ खर्ब ५१ अर्ब ८० करोड गरी २ खर्ब ४१ अर्ब ३४ करोड तरलता प्रशोचन भएको थियो ।

६ महिनामा वाणिज्य बैंकहरूको १६ खर्ब २६ अर्ब ४ करोड अन्य वित्तीय संस्थाहरूबाट (वाणिज्य बैंकहरू बाहेक) २ खर्ब १३ अर्ब ५० करोड गरी कुल १८ खर्ब ३९ अर्ब ५४ करोड अन्तर बैंक कारोबार भएको छ । गत वर्षको सोही अवधिमा २ खर्ब ९० अर्ब ७८ करोड अन्तर बैंक कारोबार भएको थियो ।


Author

थप समाचार
x