अर्थ / बाणिज्य

साताको सेयर बजार

नेप्सेमा देखिएन सुधारको संकेत, साताभर ७५ अंकको गिरावट

इकागज |
माघ २९, २०७८ शनिबार १५:३५ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यस हप्ता निराशाजनक देखिएको छ । गत साता १०६ अंकले उकालो लागेको बजार यस साता भने ७५.१८ अंकले ओरालो लागेको हो । गत साता २८७६.७४ पुगरे बन्द भएको सेयर बजार परिसूचक यो बन्द हुँदा साता २८०१.५६ विन्दुमा आइपुगेको छ । अर्थात यो साता नेप्से परिसूचक विन्दु ७५.१८ अंकले घटेको हो ।

यस साता बजार सोमबार १ दिन बढेको थियो भने बाँकी ४ दिन घटेको थियो । सोमबार १५ अंकले बढेको थियो भने आइतबार, मंगलबार, बुधबार र बिहीबार घटेको थियो । सरकारले २०७९ वैशाख ३० स्थानीय निकायको चुनाव घोषणा गरेपछि यसको असर सेयर बजारमा पर्ने र यसले बजार उकालो लाग्ने कतिपय विश्लेषकको विश्लेषणलाई तिलाञ्जली दिँदै बजार ७५ अंकले घट्न पुगेको छ ।


आइतबार

साताको पहिलो कारोबारको दिन आइतबार बजार परिसूचक ४० अंकले घटेको थियो । बजार खुलेदेखि ओरालो लागेको बजार अन्त्यसम्म नै कायम रह्यो । सेयर मूल्य मापक नेप्से परिसूचक ४०.५७ अंकले घटेर २८३६.१७ विन्दुमा झरेको झरेको थियो । नेप्सेमा कारोबार रकम आइतबार ५ अर्ब ८३ करोड रुपैयाँमा सीमित थियो । आइतबार बजारमा कारोबार भएका सबै समूह परिसूचकहरू राताम्मे देखिएका थिए ।

सोमबार

सेयर बजार सोमबारको कारोबारमा १५ अंकले बढेको थियो । आइतबार ४० अंकले घटेको बजार सोमबारको कारोबारमा करेक्सन हुँदै १५.६९ अंकले बढेको थियो। सोमबारको कारोबारमा सेयर बजार परिसूचक १५.६९ अंक अर्थात ०.५५ प्रतिशतले बढ्दा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ३.०५ अंक अर्थात ०.३७ प्रतिशतले बढेर ५३५.३३ अंकमा पुगेको थियो ।

साताको दोस्रो कारोबारमा २२४ कम्पनीको ५ अर्ब २२ करोड १७ हजार १ सय ८१ रूपैयाँ बराबरको ९५ लाख १२ हजार ५ सय ८० कित्ता सेयर ६६ हजार १ सय १३ पटक खरिद बिक्री भएको थियो।

मंगलबार

साताको तेस्रो कारोबारको दिन मंगलबार गिरावट आएको थियो । निकै उतारचढाव देखिएको बजारमा बन्द हुने समयमा गिरावटमा गएको थियो। आइतबारको कारोबारमा ४० अंकले घटेको बजार सोमबार १५ अंकले बढेको थियो । मंगलबार बजार परिसूचक १६.३० अंकले ‌ओरालो लागेको थियो ।

मंगलबारको कारोबारमा सेयर बजार परिसूचक १६.३० अंक अर्थात ०.५७ प्रतिशतले घटेको थियो । तेस्रो कारोबारमा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स २.८२ अंक अर्थात ०.५३ प्रतिशतले बढेर ५३२.५० अंकमा पुगेको थियो ।

मंगलबार साताको सबैभन्दा बढी रकम कारोबार भएको थियो । २३० कम्पनीको ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९ सय ८५ रूपैयाँ बराबरको १ करोड २० लाख ५३ हजार ७ सय ५१ कित्ता सेयर ७१ हजार ३ सय ४० पटक खरिद बिक्री भएको थियो ।

बुधबार

नेप्सेमा साताको चौथो कारोबारको दिन बुधबार गिरावट निरन्तरता दिएको थियो । साताको पहिलो कारोबारको दिन आइतबार ४० अंकले घटेको बजार सोमबार भने १५ अंकले बढेको थियो । त्यस्तै मंगलबारको कारोबारमा १६ अंकले गिरावट आएको थियो । बुधबार पुन: २२ अंकले गिरावटतर्फ गएको थियो ।

बुधबार २८३५ बाट सुरु भएको सेयर बजार परिसूचक बन्द हुने समयमा परिसूचक विन्दु  २८१३ अंकमा पुगेर बजार बन्द भएको थियो । बुधबार बजार परिसूचक २२.११ अंकले ‌ओरालो लागेको थियो।

बुधबार कारोबारमा सेयर बजार परिसूचक ०.७८ प्रतिशतले घटेको थियो । त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ३.५१ अंक अर्थात ०.६६ प्रतिशतले बढेर ५३२.५० अंकमा पुगेको थियो ।

बुधबार कारोबार रकममा पनि उलेख्य गिरावट देखिएको थियो । मंगलबार ६ अर्ब २८ करोडको कारोबार भएको नेप्सेमा बुधबार ३ अर्ब ४७ करोड ११ लाख बराबर रकमको सेयर खरिद बिक्री भएको थियो ।

बिहीबार

साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजार ओरालोतर्फ नै केन्द्रीत हुन पुग्यो । अन्तिम कारोबारको दिन बजार ११ अंकले घटेर २८०१ अंकमा पुगेर साताको कारोबार बन्द भएको थियो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७ अंक घटेको थियो। बिहीबार कारोबारमा आएका २२७ कम्पनीको ६९ लाख ५० हजार कित्ता सेयर ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । बिहीबार अघिल्लो दिनको तुलनामा नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको थियो ।

कारोबार रकममा कमी

यस साता नेप्सेमा कारोबार रकम र सेयर कारोबार संख्यामा पनि संकुचन आएको छ। अघिल्लो साता २६ अर्ब ६६ करोड ५४ लाख रुपैयाँ कारोबार भएको सेयर बजारमा यो साता करिब २ अर्ब २१ करोड ९१ लाख रूपैयाँ घटेर २४ अर्ब ४४ करोड ६२ लाख रुपैयाँमा कारोबार  भएको छ । सेयर कारोबार संख्या ४ करोड ५६ लाख ८९ हजार कित्तामा सीमित भएको छ।

निरन्तर रूपमा बजार घट्दा लगानीकर्ताले सातामा एक खर्ब ५ अर्ब ७२ करोड रुपैयाँ पुँजीबजारबाट गुमाएका छन्। गत साताको अन्तिम कारोबारपछि ४० खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण यस साताको अन्तिम कारोबारको दिन बिहीबारको कारोबारपछि २.६ प्रतिशत घटेर ३९ खर्ब ५९ अर्ब ६४ करोड रुपैयाँमा सीमित छ।

यस्तो रह्‍यो साताभरको सेयर बजारको सूचकांक

 मिति

 नेप्से परिसूचक

 अंक फरक + वा - मा

 कारोबार रकम

माघ २३ आइतबार

२८३६.१७

-४०.५७

५ अर्ब ८३ करोड रुपैयाँ

माघ २४ सोमबार

२८५१.८६

+१५.६९

५ अर्ब २२ करोड रुपैयाँ

माघ २५ मंगलबार

२८३५.५८

-१६.३०

६ अर्ब २८ करोड रुपैयाँ

माघ २६ बुधबार

२८१३.४७

-२२.११

३ अर्ब ४७ करोड रुपैयाँ

माघ २७ बिहीबार

२८०१.५६

-११.९६

३ अर्ब ८२ करोड रुपैयाँ

 

 


Author

थप समाचार
x