रेमिट्यान्सको वृद्धिदर घटेसँगै शोधनान्तर बचत घट्यो, वैदेशिक लगानी ३१ प्रतिशतले घट्यो
काठमाडौं : बाह्य कारोबारबाट तरलता प्रवाह घट्न थालेपछि शोधनान्तर बचत घटेको छ । पछिल्लो चार महिनासम्म बढ्दै गएको शोधनान्तर बचत मंसिरमा घटेको हो । मंसिरमा शोधनान्तर बचत ४ अर्ब रुपैयाँले बचत घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
रेमिट्यान्स आप्रवाह वृद्धिदर घट्दै गएपछि त्यसको प्रभाव शोधनान्तर स्थितीमा परेको हो । मुलुकमा भित्रिने रकम कम भएपछि शोधनान्तर बचत घट्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत कात्तिकसम्म शोधनान्तर स्थिती १ खर्ब १० अर्ब रुपैयाँ बचतमा थियो । यो असोजसम्ममा १ खर्ब १ अर्ब रुपैयाँ थियो । तर, मंसिरमा शोधनान्तर बचत घटेको हो ।
असोजसम्म १२.६ प्रतिशतसम्मले बढेको रेमिट्यान्स आप्रवाहको वृद्धिदर घट्दै गएको छ । कात्तिकसम्म ११ प्रतिशतले बढेको रेमिट्यान्सको आप्रवाह मंसिरसम्ममा १० प्रतिशतमा सीमीत हुन पुगेको हो ।
पाँच महिनामा वैदेशिक लगानीमा समेत कमी आएको छ । मंसिरसम्ममा प्रत्येक्ष वैदेशिक लगानी ३१.५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनामा ६ अर्ब ५७ करोड रुपैयाँ बराबर प्रत्येक्ष वैदेशिक लगानी भित्रिएको थियो । तर, यो आवमा वैदिशक लगानी चार अर्ब ५० करोड रुपैयाँ मात्रै भित्रिएको छ ।
यो आर्थिक वर्षको सुरुवातदेखि प्रत्येक्ष वैदेशिक लगानीमा कमी आइरहेको छ । पोहोरको तुलनामा वैदिशक लगानीको ह्रासदर पनि बढ्दै गइरहेको छ । असोजसम्म २६ प्रतिशत मात्रै रहेको गिरावट दर मंसिरसम्म बढेर ३१.५ प्रतिशत पुगेको हो ।
आयात गिरावट दर र निर्यात वृद्धिदर घट्यो
गत आर्थिक वर्षको तुलनामा आयात घटिरेको छ । चालु आवको पहिलो दुई महिनाको आयातमा उच्च दरले गिरावट आएपनि आयात दर क्रमश: बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्षका महिनाहरूको तुलनामा यो आवमा आयातमा आइरहेको गिरावट दर क्रमश: घटिरहेको तथ्यांकले देखाउँछ । भदौमा २२.१ प्रतिशतको दरमा घटिरहेको आयात असोजमा आइपुग्दा यो दर घटेर १२.७ प्रतिशत पुग्यो । कात्तिकसम्ममा यो दर अझै घट्यो । १०.६ प्रतिशतको दरले घट्यो आयात । मंसिरसम्ममा त झन् यो दर ९.६ प्रतिशतमा सीमीत भएको छ ।
अघिल्लो आर्थिक वर्षको पाँच महिनामा आयातको गिरावट ४.२ प्रतिशत थियो ।
यस अवधिमा निर्यातको वृद्धिदर पनि घटेको छ । सुरुवाती दुई महिनामा १०.५ प्रतिशतले वृद्धि भएको निर्यात असोजसम्ममा यो दर १४.६ प्रतिशतसम्म पुग्यो । तर, कात्तिकमा आइपुग्दा यो १०.८ प्रतिशतमा खुम्चियो । मंसिरमा त यो वृद्धिदर ५.१ प्रतिशतमा सीमीत भयो । पाँच महिनामा निर्यात ५० अर्ब ६ करोड रुपैयाँ मात्रै निर्यात भएको छ ।
विनिमय सञ्चिति थुप्रिने क्रममा 'ब्रेक' लाग्यो
पछिल्लो चार महिनामा थुप्रिँदै गएर ऐतिहासिक रेकर्ड तोडेको विदेशी विनिमय सञ्चिति घट्न थालेको छ । चालु आर्थिक वर्षमा थुप्रिँदै गएको विनिमय सञ्चिति कात्तिक मसान्तमा १५ खर्ब ६ अर्ब रुपैयाँसम्म पुगेको थियो । यो १५ महिनाभन्दा बढी आयात बराबर थियो ।
तर यो मंसिरमा विनिमय सञ्चितिमा घटेको छ । अघिल्लो महिनाको तुलनामा विदेशी विनिमय सञ्चिति १४ खर्ब रुपैयाँ पुगेको छ । पाँच महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति १४ महिनाभन्दा बढी आयात धान्न पुग्ने रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
मुद्रास्फिति न्यून
यो वर्ष मंसीर महिनामा यो वर्षकै कम मूल्यवृद्धि रहेको छ । कात्तिक महिनामा ४.०५ प्रतिशत थियो । मंसीरमा उपभोक्ता मुद्रास्फिति २.९३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा मुद्रास्फिति ६.५५ प्रतिशत थियो । खाद्य वस्तुको भन्दा पनि गैर खाद्य तथा सेवा समूहको मुद्रास्फितिमा कमी आएसँगै समग्र मुद्रास्फिति घटेको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया