साना सेयर लगानीकर्ता विशेष प्राथमिकतामा : रमेश हमाल
काठमाडौँ- सरकारले नयाँ नियुक्त गरेका धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पदबहाली गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माबाट पद तथा गोपनीयताको सपथ पश्चात आज पदबहाली गरेका हुन् ।
नवनियुक्त बोर्ड अध्यक्ष हमाललाई बोर्डका कर्मचारीहरुले स्वागत गरे। पदवहालीसँगै अध्यक्ष हमालले बोर्डको संस्थागत क्षमता अभिवृद्धि आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन्। यसका लागि उनले कर्मचारीको मनोबल उच्च राख्ने र बोर्ड भवनको उचित व्यवस्थापनका साथै सूचना प्रविधिको विकासका लागि ठोस कार्य गर्ने योजना रहेको बताए।
यो साझा लक्ष्य हासिल गर्न सम्पूर्ण कर्मचारीहरू बिना पूर्वाग्राह एक ढिक्का भै लाग्नुपर्ने आवश्यकता रहेको समेत औल्याए। मन्तव्यको क्रममा उनले आजको समयमा धितोपत्र बजार नेपाली समाजको एक महत्वपूर्ण हिस्सा भएको बताउँदै बजारको विकास, विस्तार र स्थायित्य कायम गर्ने ठूलो जिम्मेवारी बोर्डको काँधमा भएको बताए।
हमालले हाल बजारमा संस्थागत तथा उपकरणगत विविधता नभएका कारण सानो धक्काले पनि बजारलाई अस्थिर र उत्तारचढावपूर्ण बनाउने गरेको खुलासा गरे।यसका लागि बजारलाई रिजिलियण्ट बनाउन आफू लागि पर्ने बताउँदै यस कार्यमा सबैको साथ, सहयोग र समन्वय रहने विश्वास समेत व्यक्त गरे।
धितोपत्र बजार सर्वसाधारणको जिवनसँग जोडिएको हुनाले साना लगानीकर्ताको सुरक्षालाई विशेष प्राथमिकता दिने बताए। साथै, बोर्ड उनले सम्पूर्ण कर्मचारीहरुलाई उच्च मनोबलका साथ जिम्मेवारीपूर्वक कार्य गरी संस्थाको गरिमा अभिवृद्धि गर्न निर्देशन समेत दिए।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया