अर्थ / बाणिज्य

मनिषकाे आत्मविश्वासले जन्मेकाे फ्याक्टस् नेपाल, दृढ अठाेटले स्थापित

कमल धिताल |
फागुन १४, २०७८ शनिबार १४:४२ बजे

करिअरको सुरुवती चरणमा उनी चरम द्वविधामा थिए । ‘आफैं केही गर्ने कि अरुको जागिर खाने ?’ यो प्रश्नले उनलाई बारम्बार सताइरहन्थ्यो । उनी अर्थात् ‘फ्याक्ट्स नेपाल’का कार्यकारी प्रमुख मनिष झा । उनको मान्यता ३०–३५ वर्ष एकै ठाउँमा बसेर काम गर्ने थिएन । उनी धेरै ठाउँमा काम गरेर थुप्रै कथा बटुल्न चाहन्थे । 

सुरुमा उनले ‘थमसन नेपाल’ र ‘समृद्धि फाउन्डेसन’मा काम गरे । यसताका उनी आफैँ केही गर्न सकिन्छ कि भन्नेबारे सोचिरहन्थे । यसैबीच उनले नेपालको ‘रेटिङ कल्चर’बारे चासो दिन थाले । ‘काठमाडौँमा सबैभन्दा राम्रो अस्पताल कुन हो भन्न सक्ने अवस्था थिएन,’ उनले भने, ‘तर, कुनै संस्थाले केही १० ओटा सूचक (इन्डिकेटर) बनाएर यो अस्पताल उत्कृष्ट भनेर छुट्याउँदा कति राम्रो होला भनेर सोच्न थाल्यौँ ।’ 


त्यसका लागि मनिषले के गर्न सकिएला भनेर सोच्‍न थाले । यही सोचले जन्मियो, अध्ययन अनुसन्धानमा केन्द्रित संस्था– ‘फ्याक्ट्स नेपाल’ ।  

मनिषलाई अझै याद छ, दुई कोठाबाट फ्याक्ट्स नेपालको कार्यालयको औपचारिक सुरुवात भएको थियो । जसको भाडा मासिक ९ हजार रुपैयाँ थियो । अफिस खोल्न कोठा त मिल्यो तर, सेटअपका लागि फर्निचर व्यवस्था गर्नुपर्ने थियो । उनले समृद्धि फाउन्डेसनमा थन्किएर बसेका फर्निचर ल्याए । उनी त्यसताका ८० प्रतिशत समय फ्याक्ट्स नेपाल र २० प्रतिशत समय समृद्धि फाउन्डेसनलाई दिन्थे । पछि बिस्तारै आफ्नो जिम्मेवारी अरुलाई नै हस्तान्तरण गरेर पूरै समय नै फ्याक्ट्स नेपालका लागि दिन थाले । 

अरुको अफिसमा काम गर्नु र आफैँले खोलेको अफिसमा काम गर्नुमा ठूलो भिन्नता थियो । अन्यत्र कामदारको रूपमा काम गर्दा महिनैपिच्छे तलब बुझे हुन्थ्यो, यहाँ अफिसको भाडासमेत आफैँले तिर्नु पर्थ्यो । अफिसका लागि उनले घरकै पर्दा र ल्यापटप ल्याए । कार्पेटको लागि एकजना साथी पछि पैसा तिर्ने हिसाबले सहयोग गरे । मनिषसहित तीन जना (हेम र सरला)को टिम बन्यो । उनीसँग अफिसका लागि भनेर जम्मा गरेको एक लाख रूपैयाँ थियो । त्यसबाट हेमका लागि ५५ हजारको ल्यापटप किने । बाँकी रहेको ४५ हजार कम्पनी रजिस्ट्रेशन लगायतका काम गर्दैमा सकियो ।

रिसर्च (अध्ययन अनुसन्धान) गर्ने भनेर कम्पनी सुरु गरिएको थियो । तर, केको विषयमा रिसर्च गर्ने भन्ने अत्तोपत्तो थिएन । अफिसको भाडा तिर्ने समय नजिकिसकेको थियो । त्यही समयमा उनीहरूको नेपाल इन्जिनियर एसोसिएसनसँग सम्पर्क भयो ।  नेपालमा कति इन्जिनियर छन् ? कुन–कुन जिल्लामा छन् ? कुन देशबाट पढेर कति आएका छन् ? लगायतका तथ्यांक संकलन गर्ने जिम्मेवारी उनीहरूलाई आयो । तर, उनको आठ वर्षे अनुभवले पनि त्यो यो योजना पूरा हुने देखेका थिएनन् । पहिलो प्रोजेक्टस्वरुप एउटा बैंकको शाखा विस्तारका लागि सम्भाव्यता अध्ययनको काम उनीहरूले गरे । पहिलो प्रोजेक्टबाट २५ हजार रुपैयाँ फाइदा भयो । 

मनिषको टिमले रिसर्च कम्पनी सुरु गर्दा नेपालमा ४१ ओटा रिसर्च कम्पनी थिए । उनीहरूले पुराना र अनुभवी कम्पनीसँग प्रतिस्पर्धा गर्नु थियो । ‘मेरो भर्खरै बच्चा जन्मिएको थियो । फेरि अर्कोतर्फ आमा बिरामी हुनुहुन्थ्यो,’ उनले भने, ‘त्यो बेला आर्थिक रूपले म निकै धरासायी भएको थिएँ ।’ कम्पनी सुरु भएको एक वर्षपछि मनिषलाई आर्थिक भारले थिच्दै लग्यो । तर, उनका एकजना ‘मेन्टर’ले हौसला दिए । उनका मेन्टरले भने, ‘तिमीलाई पानीमा डुबाउँदा सास फेर्न छाड्छौ कि सास फेर्न कोसिस गर्छौ ? हो, यो त्यस्तै पानीमा डुबेको जस्तै अप्ठ्यारो परिस्थिति हो । यो परिस्थितिसँग हार मानेर आफ्नो सपना त्याग्छौ कि चुनौतीको डटेर सामना गर्छौ ?’ त्यो तिम्रै हातमा छ ।’

त्यसपछि उनले त्यो परिस्थितिसँग जुझ्ने संकल्प गरे । बिहान कलेज पढाउन थाले । दिउँसो विभिन्न कम्पनीमा पार्ट टाइम काम गर्न थाले । आर्थिक स्थितिमा बिस्तारै सुधार आउन थाल्यो । ‘त्यसदिन मैले बुझेँ, कम्पनी खोल्दा दुई–तीन वर्षमै हार खाइयो भने वर्षौंको इतिहास बनाउन सकिँदैन,’ उनले भने । 

कम्पनीलाई अगाडि बढाउने क्रममा उनीहरूले थुप्रै चुनौती व्यहोरे । सरकारसँग भएका तथ्यांक पाउन निकै हन्डर खानु पर्थ्याे । ‘अरबौं रुपैयाँ कर संकलन गर्ने सरकारले उपत्यकमा कति प्रतिशतले सार्वजनिक र कति प्रतिशतले निजी सवारी प्रयोग गर्छन् भन्ने तथ्यांक दिन सक्दैन,’ उनले भने, ‘सरकारले तथ्यांकमा संकलनमा लगानी नै गरेको छैन । त्यसमाथि भएका तथ्यांक पनि नागरिक सुसूचित हुन्छन् भनेर दिन मान्दैनन् ।’

मनिषको नजरमा नेपालमा रिसर्चको क्षेत्रमा थुप्रै चुनौती छन् । मानिसहरूमा अझै पनि व्यावसाय गर्नु पूर्व अध्ययन गर्नुपर्छ भन्नेमा विश्वास गर्दैनन् । नेपालमा रिसर्च विषय पढाइ हुने कलेजहरू पनि छैनन् । ‘विदेश पढ्न गएकाहरू उतै राम्रो बजार भएकाले हत्तपत्त फर्किदैनन्,’ उनले भने । त्यस्तै, नेपालमा तथ्यांकमा आधारित अभ्यास नभएको मनिषको बुझाई छ । ‘हामी जेमा पनि लाखौँ, करोडौँ भन्न रुचाउँछौँ,’ उनले भने, ‘कुनै राजनीतिक दलले खुल्लामञ्चमा लाखौं जनता उतारेको दाबी गर्छ । तर, त्यहाँको क्षमता ३०–४० हजारभन्दा हुँदैन ।’ यसरी हेर्दा हाम्रो सामाजिक अभ्यास तथ्यांकभन्दा पनि अनुमानमा आधारित भएको उनले बताए । ‘तीन करोड नेपाली भनेर वर्षौंदेखि भन्दै आएका थियौँ तर, जनगणनामा त्यो पुगेन,’ उनले भने, ‘हामी फ्याक्ट्समा आधारित भएर बोल्दैनौँ ।’

‘मलाई सबै कुरा थाहा छ’ भन्ने मानसिकताले धेरैलाई बिगारेको उनले बताए । ‘हामीले रिसर्च गर्दा हार्ने चान्स भएर केही राजनीतिक नेतालाई आफ्नो निर्वाचन क्षेत्रमा नलड्नुस् भनेका थियौँ,’ उनले भने, ‘तर, उहाँहरूले तिमीहरू जन्मिदा हामीले राजनीति शुरु गरेको भनेर खिल्ली उडाएका थिए । पछि हाम्रो रिसर्च अनुसारकै नतिजा आयो  ।’

त्यस्तै, अध्ययन नगरी व्यापार/व्यवसाय सुरु गर्दा धेरैजना पछुताएको उदाहरण मनिषले देखेका छन् । विदेशबाट साथीहरूले पठाएको पैसामा ‘बास्केट फन्डिङ’ गरेर एकजनाले नेपालमै केही गर्ने सोच बनाएका थिए । ‘बाहिरबाट दुःख गरेर कमाएको पैसा रिसर्च गरेर मात्र लगानी गर्नूस् भनेर मैले सल्लाह दिएँ,’ उनले भने, ‘सुरुमा त मान्नुभएन । पछि थोरै पैसा लिएर भएपनि हामीले उहाँहरूको आइडियामा रिसर्च गर्‍याैं ।’ तराईका भ्यागुता र गड्यौलालाई काठमाडौँको साइन्स कलेजका प्रयोगशालामा आपूर्ति गर्ने योजना उनीहरूको थियो । अध्ययनपछि के थाहा भयो भने, यो वन्यजन्तु संरक्षण ऐनभित्र पर्ने रहेछ । ओसारपसार गर्दा उनीहरूलाई कानुन लाग्ने रहेछ । ‘उहाँहरूले बिना अध्ययन लगानी गरेर काम सुरु गर्नुभएको भए पक्राउ पर्ने सम्भावना हुन्थ्यो,’ उनले भने । व्यवसायका प्रक्रियामा आउनसक्ने कानुनी र प्रशासनिक जटिलतामात्र होइन, बजारदेखि अन्य धेरै सम्भावना र जोखिमको विश्लेषणका लागि पनि राम्रो अध्ययन हुन आवश्यक छ । 

नेपालमा हालसम्म कुनैपनि व्यावसाय गर्दा यसको लागत वा अन्य विषयमा अनुसन्धान नहुने उनले बताए । फ्याक्ट्स नेपालले हामीले हाल चार ओटा भर्टिकलमा काम गरिरहेका छौं । आरएमएस अर्थात् रिटेल मेजरमेन्ट सर्भे, कस्टमाइज रिसर्च, डेटा डेसिमिनेशन, क्याम्पेन/कम्युनिकेसन स्ट्राटेजी । 

आरएमएस– रिटेल मेजरमेन्ट सर्भे

कुनैपनि वस्तु उत्पादन गर्ने संस्थालाई बजारमा कति सामान पठाउँदैछु भन्ने थाहा हुन्छ । तर, बजारमा उत्पादित वस्तको धारणा के छ ?, उत्पादकहरूसँगको तुलना/विश्लेषण के छ ? आदि थाहा हुँदैन । फ्याक्ट्स चेकले यसको अध्ययन गर्छ । यसले बजारको अवस्थाबारे जानकार बनाउँछ । 

कस्टमाइज रिसर्च 

कस्टमाइज रिसर्च डिजाइनमा ग्राहकको इच्छा अनुसारको रिसर्च हुन्छ । जस्तैः कुनै व्यवसायिक भवन बन्न लागेको छ  भने त्यसको लागि चार वर्ष लाग्छ । चार वर्षपछिको बजारको अवस्थाबारे यसमा अध्ययन हुन्छ । 

डेटा डेसिमिनेशन 

यसमा फ्याक्टस् बुकहरू निकालिन्छ । भाइबर, ट्विटर लगायतका सोसल मिडियाबाट तथ्यांक सार्वजनिक गरिन्छ । जसले गर्दा आम मानिसमा पनि तथ्यांकबारे जानकारी होस् ।

क्याम्पेन/कम्युनिकेसन स्ट्राटेजी

यसमा कुनै संस्था वा राजनीतिक दललाई चाहिने क्याम्पेनहरू गरिन्छ । यसमा स्थानीय निकायको चुनावमा उठ्नेहरूले अध्ययन गरिदिन आग्रह गरिरहेका छन् । 
अहिले भने धेरै मानिसहरू आफ्नो व्यवसाय सुरु गर्नुभन्दा पहिला ज्योतिषलाई देखाउनभन्दा फ्याक्ट्स नेपालमा पुग्छन् । मनिष आफ्नो कामलाई ट्राफिकको कामसँग तुलना गर्छन् । ‘ट्राफिक प्रहरीले सडक दुर्घटनाबाट बच्‍न हेलमेट लगाउनस्, स्पिडमा नचलाउनुस् भनेर ट्राफिक नियम सिकाउँछन्,’ उनले भने, ‘हामी व्यवसायमा डुब्नुभन्दा पहिला अध्ययन गरेर व्यवसायिक दुर्घटनाबाट जोगिन उनीहरूलाई मद्दत गर्छौँ । अध्ययन र अनुसन्धानका आधारमा यथोचित परामर्श दिन्छौं ।’ 

एक लाख रुपैयाँबाट सुरु भएको फ्याक्ट्स नेपालको बजार भ्यालू अहिले २० करोड रुपैयाँ पुगेको छ । अहिले फ्याक्ट्स नेपालमा  ७० जना कार्यरत छन् ।


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x