फेरि उकालो यात्रामा फर्कियो सेयर बजार
ऐतिहासिक उचाइमा पुग्दा पनि पाँच राताम्मे, फाइनान्स र बीमा कम्पनी मालामाल
काठमाडौं : मंगलबार सामान्य अंकले घटेको सेयर बजार फेरी उकालो लागेको छ । बुधबारको कारोबारमा सेयर बजार सूचक नेप्से १४ अंकले बढेको हो । ० दशमलव ६१ प्रतिशतले बढेको नेप्से २३४१ बिन्दूमा पुगेको छ । सामान्य वृद्धि भएपनि नेप्से बिन्दू ऐतिहासिक उचाइमा पुगेको हो । यसअघि सोमबारको कारोबारमा २३३२.३२ बिन्दूमा पुगेर कीर्तिमानी कायम गरेको नेप्सेले बुधबार फेरी रेकर्ड तोडेको छ ।
नेप्सेले ऐतिहासिक उचाइ हासिल गरिरहँदा ६ समूहका परिसूचक भने ऋणात्मक छन् । बैंकिङ, ट्रेडिङ, होटल, म्यानुफ्याक्चरिङ र अन्य समूहका परिसूचक घटेका छन् । सबैभन्दा बढी निराश होटल समूहका लगानीकर्ता छन् । होटल समूहको परिसूचक १.१२ प्रतिशतले घट्यो । २२.७७ अंकले घटेको यो परिसूचक २००५.९१ बिन्दूमा पुगेको छ ।
प्री-ओपन सेसनको कारोबारमा पहिरो
प्री-ओपन सेसनमा देखिएको उछालमा हौसिएर लगानी गर्ने साना लगानीकर्ताले ठुलै नोक्सानी व्यहोर्नुपर्यो । सुरुको कारोबारमा निकै बढेको नेप्से १५ मिनेट पनि टिकेन । यो अवधिमा ४० अंकको पहिरो गयो । यस्तो कारोबारमा केही ठुला लगानीकर्ताले हल्ला पिटाएर 'चलखेल' गर्ने भएकाले साना लगानीकर्ताहरूले ठुलै नोक्सानी व्यहोर्नुपर्ने हुन्छ ।
फाइनान्स र बीमा कम्पनीका लगानीकर्ता मालामाल
यसबीच सबैभन्दा बढी कमाउने फाइनान्स र बीमा कम्पनीका लगानीकर्ता हुन् । सात वटा समूहमा देखिएको वृद्धिमा सबैभन्दा बढी वृद्धिदर यी दुई समूहको परिसूचकमा हो । फाइनान्स समूहको परिसूचक ४.२६ प्रतिशतले बढेको छ भने जीवन बीमा समूहको परिसूचक ४.६७ प्रतिशतले बढ्यो । जलविद्युत समूहमा ३.०५ प्रतिशतले वृद्धि भएको छ ।
१५ कम्पनीको सेयरमा उच्च वृद्धिदर
बुधबारको कारोबार नेप्सेलाई उचाइमा पुर्याउन १५ कम्पनीहरूले मुख्य भुमिका निर्वाह गरे । यी कम्पनीका सेयरमूल्य ९ प्रतिशतभन्दा बढी अंकले बढे ।
बेस्ट फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स लिमिटेड, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, कर्णाली डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड लगायतका कम्पनीहरूको सेयर मूल्यमा उच्च वृद्धि भएको हो । त्यस्तै रिलायन्स फाइनान्स लिमिटेड, सेन्ट्रल फाइनान्स लिमिटेड, सिन्धु विकास बैंक, प्रोग्रेसिभ फाइनान्स लिमिटेड र महिला सहयात्रा माइक्रोफाइनान्स लिमिटेडको सेयरमूल्यमा पनि ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।
६ अर्बको कारोबार
मंगलबार नेप्से परिसूचक घटेपनि कारोबारमा उच्च वृद्धि देखिएको थियो । ७ खर्बभन्दा बढी कारोबार भएको थियो । तर बुधबार नेप्से १५ अंकले बढ्दा पनि कारोबार ६ अर्ब २१ करोडमा सीमीत भएको छ ।
बुधबार सबैभन्दा बढी सेयर कारोबार नेपाल लाइफ इन्स्यवरेन्स कम्पनीको भएको छ । ६१ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको कम्पनीको मूल्य दुई हजार ८ सय ८५ रुपैयाँ पुगेको थियो । त्यसबाहेक प्रभु बैंक, पुनर्बीमा कम्पनी, एनआइशी एशिया बैंक र नेपाल टेलिकमको सेयर कारोबार उच्च रह्यो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया