कोरोना प्रभावितलाई गण्डकी सरकारको निर्ब्याजी ऋण : कुन व्यवसायीलाई कति ?
काठमाडौं : कोभिड-१९ बाट प्रभावित पर्यटन, यातायात, कृषि, सेवा क्षेत्रका उद्यमी तथा व्यवसायीलाई उकास्न गण्डकी प्रदेश सरकारले निर्ब्याजी ऋण दिने भएको छ ।
५० लाख वा सोभन्दा कम कारोबार भएका उद्यमी र व्यवसायीलाई यस्तो कर्जा उपलब्ध गराउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । माघ २१ गतदेखि फागुन २० गतेसम्म बैंकहरूमा निवेदन पेश गर्न कार्यालयले आह्वान गरेको छ ।
सोमबार गण्डकी सरकारले व्यवसाय जीवन रक्षा कोष (सञ्चालन) कार्यविधि २०७७ जारी गरेको थियो । कोभिड-१९ उद्योग तथ व्यवसायलाई जोगाउन बैंकहरूले लिने ब्याज शोधभर्ना हुनेगरि गण्डकी मुख्यमन्त्री कार्यालयले १ अर्ब रुपैयाँको जीवन रक्षा कोष स्थापना गरेको छ ।
कोरोनाले साना उद्यम व्यवसायमा परेको प्रतिकूल प्रभाव, पुनरुत्थान हुन लाग्ने अनुमानित समय तथा त्यस्ता उद्यम व्यवसायले अर्थतन्त्रमा दिने योगदानलाई अनुमान गरी प्रभावित क्षेत्रलाई वर्गिकरण गरेको छ । लघु घरेलु तथा साना उद्यम व्यवसाय कर्जा, साना पर्यटन व्यवसाय कर्जा, साना यातायात व्यवसाय कर्जा र साना सेवा व्यवसाय कर्जा गरि तीन क्षेत्र निर्धारण गरिएको छ ।
कुन व्यवसायीलाई कति कर्जा ?
कर्जाको प्रकार |
न्यूनतम रकम (रुपैयाँ) |
अधिकतम रकम (रुपैयाँ) |
कर्जाको अवधि |
लघु, घरेलु तथा साना उद्यम व्यवसाय कर्जा |
१ लाख |
१५ लाख |
३ वर्ष |
साना पर्यटन व्यवसाय कर्जा |
१ लाख |
१५ लाख |
३ वर्ष |
साना यातायात व्यवसाय कर्जा |
५० हजार |
१० लाख |
३ वर्ष |
साना सेवा व्यवसाय कर्जा |
५० हजार |
१० लाख |
३ वर्ष |
वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कारोबार गर्ने उद्यमी, व्यवसायीलाई निर्ब्याजी कर्जा नदिने भनिएको छ ।
मुख्यमन्त्री कार्यालयले राष्ट्र बैंकमा खोलेको शोधभर्ना खाताबाट बैंकहरूलाई सम्बन्धित बैंकको आधार दरमा ३ प्रतिशत ब्याज थप गरी शोधभर्ना दिने उल्लेख छ । १० लाखभन्दा बढी कर्जा माग भएमा नियमित ब्याजदरमा कर्जा लिने कार्यालयले जानकारी दिएको छ ।
धितो
निर्ब्याजी कर्जाको लागि धितो स्विकार गर्नुपर्ने व्यवस्था छ । सामूहिक जमानी वा व्यक्तिगत जमानीमा धितो लिन पाउने व्यवस्था छ । व्यवसायमा रहेको जिन्सी स्टक तथा उपकरण र ईक्यूपमेन्टहरू, सवारीसाधन तथा अन्य यातायातका साधन, घर, जग्गा, जमीन, सुनचाँदी, सेयरहरू धितो राख्न पाउने उल्लेख छ । घर तथा जग्गा धितो राख्दा बैंकहरूले मालपोत कार्यालयमा ठाडो रोक्का राख्नुपर्नेछ ।
२५ प्रतिशत अग्रीम जम्मा
कार्यविधिअनुसार व्यवसाय जीवन रक्षा कर्जा प्रवाह गर्न मुख्यमन्त्री कार्यालयले राष्ट्र बैंकमा शोधभर्ना खाता खोली कोषको २५ प्रतिशत रकम अग्रीम जम्मा गर्नेछ ।कर्जाको साँवा भुक्तानी तालिका बैंकहरूले ऋणीको आय र नगद प्रवाहको आधारमा ऋणीसँग छलफल गरी तय गर्नेछ ।
साँवाको भुक्तानी गर्न सुरुको ग्रेस अवधि ६ महिना राख्न सक्छ । ग्रेस अवधिको किस्ता रकम त्यसपछिको चार त्रैमासको अवधिमा समानुपातिक रुपमा भुक्तानी गर्न सक्नेछ । बैंकहरूले ३ वर्षभन्दा बढीको अवधिका लागि कर्जा प्रवाह गरेमा कार्यविधिअनुसार सुविधा नपाइने उल्लेख छ ।
कार्यविधिअनुसार कोष सञ्चालनलाई सहजीकरण, समन्वय र नियमनका लागि प्रदेश प्रमुख सचिवको संयोजकत्वमा निदर्शेक समिति हुन्छ । यसमा राष्ट्र बैंकका निर्देशक र राष्ट्र बैंकले तोकेको प्रतिनिधि समेत सहभागी हुन्छन् ।
कारबाही
कर्जा समयमा चुक्ता नगरेमा बैंकले ऋणीलाई कालो सूचीमा राख्न सक्छ । ऋणीको बैक तथा वित्तीय संस्थाहरुमा रहेको खाता रोक्का गर्न सक्नेछ । बैंकले ऋणीको नाममा रहेको कुनै चल अचल सम्पति बिक्री गर्न बन्देज लगाउनका लागि सम्बन्धित निकायमा लेखी पठाउनसक्नेछ ।
ऋणीले प्रदेश सरकारबाट पाउने सुविधा रोक्का समेत हुनसक्ने उल्लेख छ । त्यसबाहेक ऋणीको राहदानी रोक्का राख्ने र कारबाहीको लागि सिफारिस गरेमा सम्बन्धित निकायले सो सिफारिस कार्यान्वयन गर्नु पर्नेछ ।
क) लघु, घरेलु तथा साना उद्यम अन्तर्गतका उद्यम व्यवसायहरु
हस्तकला, चित्रकला एवम् सौंगातका सामान बनाउने उद्यम व्यवसायहरु, परम्परागत धातुका मूर्ति बनाउने उद्यम व्यवसायहरु, स्थानीय कृषि उत्पादनमा आधारित जुस, अचार, मह, सस आदि उत्पादन गर्ने उद्यम व्यवसायहरु, दुग्ध पदार्थ प्रशोधन गरी सोमा आधारित चिज, घिउ, मखन, छुर्पी आदि उत्पादन गर्ने, घरेलु हाते तान आदि प्रयोग गरी कपडा बुन्ने तथा होजीयारी समेत, ढाका उद्योग, बुटिक व्यवसाय, जुत्ता चप्पल, पोते बुन्ने, झोला, पर्स बनाउने, अल्लो प्रशोधन गर्ने, गुडिया, अगरबत्ती, चाउमिन बनाउने, जाम, जेली, चिप्स, पापड आदि बनाउने साना उद्यम व्यवसायहरु । बाँस, निगालो, पराल, गहुँको नल, बाबियो, मकैको भुत्ला, केराको रेसा आदि प्रयोग गरी श्याण्डिक्राफट सम्बन्धी वस्तुहरु उत्पादन गर्ने उद्यम व्यवसायहरू ।
स्थानीय जडिबुटीहरु जस्तै नीम, तुलसी, एलोभेरा आदि प्रशोधन गरी सौन्दर्यका पदार्थ उत्पादन गर्ने सात्ता उद्यम व्यवसायहरु, कुखुरा पालन व्यवसाय, पशुपंछी, मौरी तथा मत्स्यपालन व्यवसाय, तयारी पोशाक, हस्तकला तथा सीपमूलक व्यवसाय, नर्सरी, बन तथा खनिज उद्योग, मूलभूत रुपमा सडेर गलेर जाने वस्तु जस्तैः तरकारी, फलफुल, पुष्प, माछामासु, दाना, दुध तथा दुग्धजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरण, स्थानीय खाद्यवस्तु उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण ।
ख) साना पर्यटन व्यवसाय अन्तर्गतका उद्यम व्यवसायहरू
ट्राभल एजेन्सी तथा ट्रेकिंग व्यवसाय, पर्वतारोहण, र्याफ्टिङ, क्याम्पिङ, टुर अपरेटर, साहसिक पर्यटन जस्तै: बन्जी जम्पिंग, जिप फ्लायर, क्यानोनिङ रक क्लाइम्बिङ्घ, प्यारा ग्लाइडिंग, अल्ट्रा लाइट, स्किईङ, ग्लाईडिङ, हट एयर बेलुनिङ, घोडचढी, साना होटल, होम-स्टे, रेष्दुरेन्ट तथा बार, गजल दोहोरी साँझ जस्ता सांस्कृतिक मनोरञ्जन दिने व्यवसाय, गार्मेन्ट, ट्रेकिङ इक्वीपमेन्ट बिक्री गर्ने पसल व्यवसायहरु, पर्यटकीय किताब पसलहरु, डुंगा व्यवसाय, पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसाय, मसाज, स्पा आदि ।
ग) साना यातायात व्यवसाय अन्तर्गत बर्गीकरण भएका व्यवसायीहरू
ट्याक्सी व्यवसाय, बस, ट्रकमिनि बस/ माइक्रो बस, जीप, भ्यान, ट्रयाक्टर, अटोरिक्सा, रिक्सा,
घ) सेवामूलक व्यवसाय
यान्त्रिक कार्यशाला वर्कसप, ब्युटीपार्लर हेयर कटिङ्ग व्यवसाय, छापाखाना तथा छपाई सम्बन्धि सेवा, ४. सिलाई बुनाई, सिनेमा हल, ड्राईक्लिनिङ व्यवसाय, व्यायामशाला (जीमखाना), निजी विद्यालय, सञ्चार गृह, निर्माण व्यवसाय, शैक्षिक सामाग्रीको कारोवार गर्ने व्यवसाय
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया