अर्थ / बाणिज्य

डेपुटी गभर्नर बन्न सबै शक्तिकेन्द्रतर्फ उत्तिकै दौडधूप

इकागज |
माघ ९, २०७७ शुक्रबार १७:३१ बजे

काठमाडौँ: डेढ महिनापछि नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पद रिक्त हुँदैछ । फागुन १८ बाट रिक्त हुने उक्त पदका लागि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूको दौडधूप शुरु भएको छ । 

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइको क्रममा रहेकाले वर्तमान सरकारकै निरन्तरताको कुनै सुनिश्चितता छैन । अर्कोतर्फ, यही सरकार निरन्तर रहे प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य दलको नैतिक समर्थन जुटाउने क्रममा प्रमुख प्रतिपक्षीसँग पनि पदीय भागबण्डा गर्न सक्ने अनुमान पनि कायमै छ । सर्वोच्च अदालतको कुनै निर्णय नआउँदै निर्वाचनमा होमिन नेता तथा कार्यकर्तालाई परिपत्र गरिसकेकाले पनि सरकारसँग नेपाली कांग्रेस नेतृत्वको गोप्य साँठगाँठ रहेको आशंका गर्नेहरू पनि छन् । 


राजनीतिक लबिङ र शक्तिको आधारमा प्राप्त हुने पद भएकाले डेपुटी गभर्नर बन्नका लागि सबै शक्ति केन्द्रमा उत्तिकै दौडधूप भइरहेको छ । वर्तमान सरकारकै निरन्तरता भएमा अर्थमन्त्री विष्णु पौडेलका सल्लाहकार रहेका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ र राष्ट्रपति विद्यादेवी भण्डारीको समेत रोजाइ रहेकी र प्रधानमन्त्री केपी शर्मा ओलीकी गृह जिल्ला (झापा)की नीलम ढुङ्गाना तिमल्सिना रहेकी छिन् । त्यस्तै, अर्का कार्यकारी निर्देशक देव कुमार ढकाल पनि डेपुटी गभर्नरको तीव्र आकांक्षी हुन् । 

प्रकाशकुमार श्रेष्ठले यसअघि लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । उनलाई मन्त्री पौडेलले अहिले सल्लाहकार बनाएका छन् । 

यसअघि युवराज खतिवडा गभर्नर छँदा अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशकका लागि सल्लाहकारमा ढुङ्गानालाई नपठाएर राष्ट्र बैंकका कनिष्ठ कर्मचारी आफ्ना छोरीज्वाइँ रामशरण खरेललाई पठाएका थिए । यसपटक राष्ट्रपति भण्डारीले उनलाई अन्याय गर्न नहुने भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीलाई ढुङ्गानाको नाम सिफारिश गरिसकेको बताइन्छ । प्रतिनिधिसभा पुनर्स्थापना भएको खण्डमा भने मिलिजुली सरकार बन्न सक्ने भएकाले डेपुटी गभर्नर दुईओटा दलले आपसमा बाँडेर नियुक्त गर्नेछन् । त्यसखण्डमा राष्ट्रपतिको भागबण्डा रहनेछैन । 

राष्ट्र बैंकका १७  कार्यकारी निर्देशकहरूमध्ये ९ जनाले डेपुटी गभर्नर बन्नका लागि प्रतिस्पर्धा तीव्र पारेका छन् । श्रेष्ठ, ढुङ्गाना, ढकालसहित भुवन कँडेल, पिताम्बर भण्डारी र सुमनकुमार अधिकारी पनि डेपुटी गभर्नर बन्ने दौडमा छन् । यसअघि चिरञ्जीवि नेपाल गभर्नर छँदा अनुसन्धान विभागको नेतृत्व पाएका गुणाकर भट्टलाई पनि नेपाली कांग्रेसँगको भागबण्डामा सम्भावित उम्मेद्वारको रूपमा हेरिएको छ 

यसअघि २०७२ फागुनमा वर्तमान डेपुटी गभर्नरहरूको नियुक्तिका बेला पनि केपी शर्मा ओलीको नेतृत्वको सरकारमा विष्णु पौडेल अर्थमन्त्री थिए । त्यसबेला, गभर्नर नेपालले चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठलाई डेपुटी गभर्नर सिफारिश गरेका थिए । शिवाकोटी प्रधानमन्त्री ओलीका निकट थिए । यद्यपि, ओलीले उनलाई गभर्नर भने बनाएनन् । डेपुटी गभर्नरबाट सेवानिवृत्त हुन लागेका शिवाकोटी बीमा कम्पनीहरूको नियामक बीमा समितिको अध्यक्ष हुन लबिङमा छन् ।  डेपुटी गभर्नरमा वरिष्ठ कार्यकारी निर्देशकहरूबाट गभर्नरले दुई जनालाई अर्थमन्त्रालयमार्फत् सिफारिश गर्छन् र मन्त्रिपरिषदबाट नियुक्ति हुन्छ ।


Author

थप समाचार
x