अर्थ / बाणिज्य

कोभिड-१९ : नेपालमा आर्थिक वृद्धिदर ०.६ प्रतिशत, ४० लाख बेरोजगार

इकागज |
असोज २२, २०७७ बिहीबार २२:० बजे

काठमाडौं :  चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ उत्पादन ०.६ प्रतिशतले विस्तार हुने अनुमान विश्व बैंकले सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ०.२ प्रतिशत मात्र आर्थिक वृद्धिदर हासिल भएको विश्व बैंकको अनुमान छ ।

गत आर्थिक वर्षमा चैत ११ देखि आर्थिक वर्षको अन्त्यसम्म बन्दाबन्दी कायमै भएकाले आर्थिक गतिविधिहरु ठप्पप्राय रहेका थिए । केन्द्रीय तथ्यांक विभागले भने जेठदेखि आर्थिक क्रियाकलाप पूर्ववत अवस्थामा फर्कन सक्ने आँकलनका आधारमा २.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रारम्भिक अनुमान दिएको थियो । यसको संशोधित अनुमान सार्वजनिक हुने क्रममा छ ।


विश्व बैंकले बिहीबार सार्वजनिक गरेको ‘साउथ एसिया इकोनोमिक फोकस’ ले नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष २०७८/७९ मा २.५ प्रतिशतले बढ्ने उल्लेख गरेको छ । 
नेपाल सहित दक्षिण एसियामा अनौपचारिक क्षेत्रका धेरै कामदार बेरोजगार भएकाले गरिबी बढ्ने विश्व बैंकले जनाएको छ । नेपालमा  यातायात क्षेत्र, निर्माण क्षेत्र र अन्य व्यवसायमा दैनिक ज्यालादारीमा काम गर्ने झण्डै ४० लाख श्रमिक व्यवसाय ठप्प प्रायः हुँदा लामो समयदेखि बेरोजगार छन् ।

पर्यटन लगायतका संगठित क्षेत्रमा पनि जीवन निर्वाहका लागि न्यून पारिश्रमिकको व्यवस्था गरिएको लामो समय भइसकेको छ । अनौपचारिक क्षेत्रका कामदार र तिनमा आश्रितहरुमा उत्पन्न जोखिमबाट दक्षिण एसिया ग्रस्त रहेको उल्लेख गर्दै विश्व बैंकको अर्धवार्षिक प्रकाशन ‘साउथ एसिया इकोनोमिक फोकस’ ले दक्षिण एसियामा लाखौं मानिसहरु चरम गरीबीमा धकेलेको छ ।

अघिल्लो पाँच वर्षमा ६ प्रतिशतले विस्तार भएको दक्षिण एसियाली अर्थतन्त्र सन् २०२० मा भने ७.७ प्रतिशतले खुम्चने विश्व बैंकको प्रक्षेपण छ । ‘सन् २०२१ मा भने क्षेत्रीय अर्थतन्त्र ४.५ प्रतिशतले बढ्ने अनुमान छ,’ विश्व बैंकले भनेको छ, ‘प्रतिव्यक्ति आयमा भने महामारी अन्त्यभएसँगै मात्र सुधार आउनेछ ।’यो भन्दा अघिल्ला मन्दीहरुमा भने लगानीमा कमी र निर्यातले अर्थतन्त्रलाई अधोगतितर्फ धकेलेका थिए भने महामारीमा निजी उपभोगमा कमी अर्थतन्त्रमा गिरावटको मुख्य कारण रहेको छ । दक्षिण एसियाको आर्थिक विस्तारमा उपभोग मेरुदण्ड जस्तै हो भने यहाँको आर्थिक कल्याणको मुख्य सूचक पनि हो ।

नेपालले अहिलेसम्म रेमिट्यान्स खासै गिरावटको सामना गर्नुपरेको छैन । गएको फागुन र चैतमा रेमिट्यान्स घटेको भएपनि त्यसपछि क्रमशः सुधार देखिएको छ । ‘नेपालमा महामारीको आर्थिक परिणाम सबैभन्दा बढी अनौपचारिक क्षेत्रका कामदारमा देखिएको छ । उनीहरुलाई कुनै सामाजिक सुरक्षा सहयोग नहुँदा चरम गरिबी धकेलिने जोखिम बढ्दै गएको छ,’ विश्व बैंकका तर्फबाट नेपाल, श्रीलंका र मालदिभ्सका लागि राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने, ‘उनीहरुलाई आयको व्यवस्था गर्न, सामाजिक सुरक्षा र रोजगारी आवश्यक छ ।’

नेपालमा आधाजसो अनौपचारिक व्यवसायहरु छन् र तिनीहरु सबैभन्दा ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने स्रोत हुन् । ग्रामीण क्षेत्रमा भन्दा सहरमा अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार घरपरिवारहरु बढी जोखिममा रहेका छन् । अनौपचारिक क्षेत्रका कम्पनीहरुको बचत कम हुन्छ । लकडाउनका कारण यस्ता व्यवसाय धेरै मारमा परेका छन् ।

साउथ एसिया इकोनोमिक फोकसले नेपाल सहित यस क्षेत्रका राष्ट्रका सरकारहरुलाई उच्चतम उत्पादकत्व, सीप विकास र मानव पुँजीलाई लाई समेत सघाउने सामाजिक सुरक्षा योजना डिजाइन गर्न आग्रह गरेको छ । ‘यो पहलमा अन्तर्राष्ट्रिय र आन्तरिक लगानी परिचालनले सरकारलाई यस्तो महत्वपूर्ण कार्यक्रम सञ्चालन गरी पुनस्र्थापनालाई गति दिन सहयोग मिल्ने थियो,’ साउथ एसिया इकोनोमिक फोकसले भनेको छ, ‘दीर्घकालमा भने, डिजिटल प्रविधिहरुले अनौपचारिक क्षेत्रका कामदारहरुका लागि नयाँ अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । यसले दक्षिण एसियालाई अझै बढी प्रतिस्पर्धी र आपसमा एकीकृत गर्नेछ ।’

विश्व बैंकका दक्षिण एसिया प्रमुख अर्थशास्त्री हान्स टीमले नेपाल र दक्षिण एसियामा महामारी सिर्जित असरका दागहरु लामो समय रहने भएपनि अर्थतन्त्रको उत्थानशीलतातर्फ चाँदीको घेरा पनि देखिएको बताएका छन् । ‘यसले दक्षिण एसियाली देशहरु विश्वव्यापी मूल्य श्रृंखलामा आवद्ध हुने सम्भावनालाई उजागर गरेको छ, टीमर ले भनेका छन्, ‘यसले प्रतिस्पर्धी प्रविधि सम्बन्धि सेवाहरु, पर्यटन जस्ता सेवाहरुको विश्वव्यापी माग अभिवृद्धि गर्नेछ ।’
 


Author

थप समाचार
x