अर्थ / बाणिज्य

हल्ट प्राइज च्यालेन्जमा जुटेका ‘वीरगन्‍ज गर्ल्‍स'

पुष्पराज आचार्य |
माघ २४, २०७७ शनिबार १८:२९ बजे

वीरगन्‍ज: वीरगन्‍ज भन्‍ने बित्तिकै सबैको ध्यान उद्योग र व्यापारले खिचिहाल्छ । नेपालको प्रमुख व्यापारिक नाका भएकाले देशका प्रमुख उद्योगधन्दा पनि बारा, पर्सा औद्योगिक करिडोरमा प्रशस्त पाइन्छन् । वीरगन्ज ले आफ्नो परिचयलाई निरन्तर उद्यम र व्यवसायसँग जोडेकाले पनि होला वीरगन्ज स्टार्टअप्सहरूको केन्द्र भएको छ । 

वीरगन्जका पल्लबी शाह, रिफत बानु र स्वाती अग्रवाल वीरगन्‍ज पब्लिक कलेजका विद्यार्थी हुन् । शाह र बानु बीबीए र अग्रवाल बीबीएस अध्ययन गर्छन् । यिनीहरूले हल्ट प्राइज च्यालेन्जमा भाग लिदैंछन् । आफ्नो स्टार्टअप्सको अवधारणा र प्रस्तुतीकरण सहित । हल्ट प्राइजका लागि मात्र होइन, अध्ययन सकिएपछि उनीहरू यी अवधारणालाई उद्यममा परिणत गर्दैछन् । त्यसको प्रारम्भिक तयारी उनीहरूले शुरु गरिसके । 


हल्ट इन्टरनेशनल विजनेस स्कुलले एमबीए र कलेजका छात्रछात्राहरूका लागि आयोजना गर्ने सामाजिक प्रभाव सहितको व्यवसायिक सोचको प्रस्तुतीकरणमा उनीहरू जुटेका छन् । सामाजिक उद्यम विकासका लागि १० लाख डलर राशीको पुरस्कार पाउँछन् । यसका लागि विश्‍वभरबाट दशौं लाखले भाग लिन्छन् ।

हल्ट इन्टरनेशनल विजनेस स्कुल र युनाइटेड नेसन्स फाउण्डेसनको साझेदारीको यो अवसरमा भाग लिनु नै एउटा अवसर हो । जित्‍न सकियो भने त ‘महाअवसर’ । पूर्व अमेरिकी राष्ट्रपति विल क्लीन्टनले यो स्पर्धाको शीर्षक छान्‍ने र विजेता घोषणा गर्दै आएका छन् ।

लघुवित्तका माध्यमबाट बंगलादेशमा गरिबी निवारणको अनुपम प्रयोग गरेर देखाएका नोबेल पुरस्कार विजेता बंगलादेशी प्राध्यापक मुहम्मद युनुसले त ‘हल्ट प्राइज’ लाई विद्यार्थीहरूका लागि नोबेल पुरस्कार भनेका छन् । त्यसो त हल्ट प्राइजले धेरै युवाहरूलाई उद्यमी बन्‍न सघाएको छ । 

यसपटक हल्ट प्राइज च्यालेन्जको शीर्षक ‘फुड फर गुड’ छ । त्यही अनुसार यिनीहरूले स्टार्टअप्सका सोच, यसका लागि आवश्यक स्थलगत रिसर्च, व्यवसायको थ्रीडी एनिमेसनहरू समेत तयार गरिसकेका छन् । यद्यपि वीरगन्‍जका यी तीन छात्राहरू यो अवधारणालाई आफ्नो जीवनमा अघि बढाउन दृढ छन् । 

‘उद्यमशीलता भन्दा पनि रोजगारीमै विश्वास गर्ने हाम्रो समाज छ । त्यसलाई बदल्न पनि युवाहरूले उद्यमशीलतामा आउनुपर्छ,’ पल्लबीले भनिन्, ‘आफू रोजगार हुनेभन्दा पनि अरुका लागि समेत रोजगारी सिर्जना गर्नु महत्वपूर्ण हो ।’ 

‘अल्केमिस्ट’ पुस्तकका लेखक पाउलो कोहेलोले भनेका छन्, ‘हरेक कुरालाई असम्भव र भयंकर देखाउने संस्कारले मानिसहरूलाई सफल हुनबाट रोकेको हुन्छ ।’

त्यसो त युवाहरूले जोखिम पनि लिन सक्छन् । २५-३५ वर्षका युवाले जोखिम लिएर नयाँ-नयाँ काम गर्न सक्छन् । त्यसमा कति सफल हुन्छन् । विश्‍वव्यापी रूपमै हेर्ने हो भने पनि स्टार्टअप्सहरूमा २० प्रतिशतले उद्यमको स्वरुप समात्छन्, अनि त्यही २० प्रतिशतको पनि २० प्रतिशत सफल हुन्छन्  । 

युवाहरूको उत्साह र आकर्षण देखिएपनि न सरकार न त निजी क्षेत्र/कर्पोरेटहरूले नै यसलाई प्रवर्धन गरेका छन् । न त उद्यशीलताको इकोसिस्टम र अनुसन्धान तथा विकासमा लगानी छ । यहाँका युवाहरू आफ्नै मेहनतले इन्टरनेटबाट सिक्दैछन् । फिल्ड रिसर्चबाट उद्यमको सम्भावना पत्ता लगाउँछन् । 

पल्लवी, रिफत र स्वातीमध्ये पल्लवी बाहेक दुई जना उद्यमीकै परिवारबाट हुन् । यद्यपि उनीहरू एकदमै नयाँ अवधारणामा आफैं संघर्ष गर्न चाहान्छन् । ‘सेल्फ–स्याटिस्फ्याक्सन हुन्छ नि !’ कुराकानीको क्रममा रिफतले अगाडि भनिन्, ‘यो सोच सम्भाव्य छ भन्‍ने फिल्ड रिसर्चले भन्छ भने किन त्यसमा काम नगर्ने ?’ 

त्यसो त ‘अल्केमिस्ट’ पुस्तकका लेखक पाउलो कोहेलोले भनेका छन्, ‘हरेक कुरालाई असम्भव र भयंकर देखाउने संस्कारले मानिसहरूलाई सफल हुनबाट रोकेको हुन्छ ।’ बुझ्नै नखोज्‍ने, आँट र आत्मविश्‍वास नराख्‍नेअनि कतिपय कुरालाई रहस्य मानेर बस्‍ने चलनबाट नेपाली समाज पनि ग्रसित छ । तर यी युवाहरू रोजगारी भन्दा पनि उद्यमी अनि व्यवस्थापन र समाजमा नेतृत्व गर्न चाहान्छन् । 

‘चुनौती केही छ भने शुरुवाती लगानी हो । यदि कोही लगानी गर्न चाहान्छ भने हामी त्यसको प्रतिफल पनि दिन्छौं’ पल्लबीले भनिन्, ‘हामी आफ्नो आइडीयाले उद्यमको स्वरुप ग्रहण गर्न सक्छ कि सक्दैन भनेर अध्ययन अनुसन्धान गर्न सक्छौं । त्यसलाई सफल बनाउन सक्छौं ।’  तर फेरि सफल बनाउन सकिन्छ भन्दैमा अन्ट्रपेन्यारसीप ‘केक वाक’ भने नभएको उनले बताइन् ।

युवाहरूको उत्साह र आकर्षण देखिएपनि न सरकार न त निजी क्षेत्र/कर्पोरेटहरूले नै यसलाई प्रवर्धन गरेका छन् । न त उद्यशीलताको इकोसिस्टम र अनुसन्धान तथा विकासमा लगानी छ ।

बाह्य मुलुकहरूमा भने कर्पोरेटहरूले पनि स्टार्ट अप्सलाई फण्डिङ गर्छन् । किनकी नयाँ-नयाँ व्यवसायको सम्भावना त असीमित हुन्छ । जसले व्यावसायिक साम्राज्य नै बनाउन सक्छ । फेसबुक, गुगल, नाइकी । सबै स्टार्टअपबाटै उदाएका हुन् । हामीकहाँ पनि राष्ट्रिय योजना आयोगले उत्कृष्ट र सम्भाव्य स्टार्टअप्स आइडियालाई ५० लाख रुपैयाँसम्मको अनुदान उपलब्ध गराउने कार्यक्रम कार्यान्वयन गरिरहेका छ । 

‘हामीकहाँ उद्यमशीलतालाई प्रवर्धन नै गरिदैंन । फेरि महिलाका लागि त झन् परिवारले नै सहयोग गर्दैन,’ स्वाती भन्छिन्, ‘नेपालमा धेरै महिला उद्यमी नहुनुमा अवसरको कमी र प्रोत्साहन नहुनु नै हो ।’

पल्लबी, रिफत र स्वाती तीनै जना उद्यमी बन्न चाहान्छन् । पल्लबीले वीरगन्जमा 'द ढिडों हाउस' को आउटलेट खोल्ने र त्यसलाई विस्तार गर्न चाहेकी छिन् । ‘स्वस्थकर र पोषणका हिसाबले पनि महत्वपूर्ण फापर, कोदो तथा थकाली खाना सेट बेच्‍ने,’ उनी भन्छिन्, ‘परम्परागत खानाका परिकार बेच्‍ने रेष्टुरेन्ट वीरगन्जमा रहेनछन्, त्यो हामीले फिल्ड रिसर्च पनि गरिसक्यौं ।’ 

स्वातीले भेज्‍जी कार्टको अवधारणा ल्याएकी छिन् । वीरगन्‍जको ५० होटलसँग उनको टिमले २० प्रकारका तरकारी बेच्‍न डिल पनि गरिसक्यो । ‘हामीसँग मागको तथ्यांक छ, त्यो भेज्‍जी कार्टले किसानसँग थोक मूल्यमा किनेर होटलहरूलाई बेच्छ,’ उनले भनिन्, ‘यसरी किसानलाई निश्चित आम्दानीको सुनिश्‍चितता पनि भयो । भेज्‍जी कार्टले खरिद गर्नेभन्दा बढी परिणाम उत्पादन गरे उनीहरूले अन्यत्र पनि बेच्‍न सक्छन् ।’

बिचौलियाको नाफा भेज्‍जी कार्टले पाउँछ, जसमध्ये अधिकांश हिस्सा लगानी गरी किसानका लागि सहकारी खोलिदिने र किसानलाई पनि निश्‍चित हिस्सा त्यसमा लगानी गर्न लगाउने । ‘त्यो सहकारीका सदस्य भेज्‍जी कार्टको नेटवर्कका किसान हुन्छन् । उनीहरूकै आफ्नो सहकारी पनि हुन्छ, जसले उनीहरूलाई आवश्यकता पर्दा पैसाको अभाव हुन दिदैंन,’ स्वातीले आफूहरूले सुरु गर्न लागेको स्टार्टअप्स भेज्‍जी कार्टको विस्तृत अवधारणा सुनाइन् । 

रिफत र उनको टिमले भने ट्यारो गर्ल्स स्टार्टअप्स शुरु गर्न चाहेको छ । ट्यारो अर्थात् कर्कलो । पोषण र औषधीय गुणका दृष्टिले महत्वपूर्ण कर्कलो भान्सामा कमै उपयोग हुन्छ । उच्च रोग प्रतिरोधात्मक क्षमता विकास गर्न, स्वस्थ ढङ्गले तौल घटाउन र पाचन प्रणाली सुदृढ गर्न महत्वपूर्ण कर्कलो फाइबरयुक्त खानेकुरा हो । जसमा भिटामीन ‘सी’, ‘बी-६’ र भिटामिन ‘इ’ पाइन्छ । 

कर्कलोलाई उनीहरूले तरकारीको रूपमा मात्र होइन । अचार, पाउडर लगायतका रूपमा पनि मार्केटिङ गर्ने बताएका छन् । ‘तरकारी बजारमा कर्कलो त्यति लोकप्रिय छैन किनकी मानिसहरूलाई यसको फाइदाबारे जानकारी नै छैन,’ ट्यारो गर्ल्सकी अर्की सदस्य विज्ञा चालिसेले अगाडि भनिन्, ‘जहाँसुकै फल्ने भएपनि खानयोग्य छ, छैन भन्ने चाहिं छुट्याउनुपर्छ । हामी त्यसको खेती पनि प्रवर्धन गर्ने सोच राखेका छौं । यसको उत्पादन र बाइप्रडक्टसको व्यापार गर्ने भएपछि उत्पादन (ब्याकवार्ड लिंकेज) पनि चाहिन्छ ।’

ट्यारो अर्थात् कर्कलो । पोषण र औषधीय गुणका दृष्टिले महत्वपूर्ण कर्कलो भान्सामा कमै उपयोग हुन्छ । उच्च रोग प्रतिरोधात्मक क्षमता विकास गर्न, स्वस्थ ढङ्गले तौल घटाउन र पाचन प्रणाली सुदृढ गर्न महत्वपूर्ण कर्कलो फाइबरयुक्त खानेकुरा हो ।

कर्कलोको पाउडर प्रोटीन सप्लिमेन्ट बनाउन प्रयोग हुन्छ । यसलाई उनीहरूले बजारीकरण गर्न सम्भाव्यता अध्ययन गरिरहेका छन् । प्रोटीन सेक बनाउनेहरूले माग पनि गरेका छन् । ‘आन्तरिक मात्र होइन, ठूलो परिणाममा उत्पादन गर्न सके निर्यातको पनि सम्भावना छ कि भनेर अध्ययन गर्दैछौं,’ विज्ञाले सुनाइन् । यसका अतिरिक्त बाह्य मुलुकहरूमा ट्यारो बबल टी, ट्यारो चिप्स पनि लोकप्रिय छ । त्यसलाई पनि उनीहरू यहीं विकास गर्ने सोचमा छन् । 

बाँयाबाट क्रमशः वीरगन्‍ज पब्लिक कलेजका विद्यार्थीहरू पल्लबी शाह, रिफत बानु, स्वाती अग्रवाल 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x