अर्थ / बाणिज्य

२६०० अंकको बाटोमा सेयर बजार

३७ अंक छलाङ मार्दै २५६१.४७ बिन्दूमा, १० अर्ब १७ करोड कारोबार

इकागज |
माघ २६, २०७७ सोमबार १५:४३ बजे

काठमाडौं : पछिल्लो समय तिव्र वृद्धि भइरहेको सेयर बजार सुचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबार पनि नयाँ रेकर्ड कायम गरेको छ । ३७.४८ अंकले वृद्धि भएको नेप्से २५६१.४७ बिन्दूको नयाँ शिखरमा पुगेको हो ।

ग्रामिण विकास लघुवित्त र प्रभु बैंकको सेयर मुल्यमा ९ प्रतिशतले वृद्धि भयो । प्रभु बैंकको प्रोमोटर सेयर, सनराइज बैंक र माछापुच्छ्रे बैंकमा ८ प्रतिशतको वृद्धि रह्यो । ७ प्रतिशतले मुल्यवृद्धि हुने कम्पनीमा छ्याङ्दी हाइड्रोपावर र गरिमा विकास बैंक छन् ।


आइतबार नेप्से ४८ अंकले बढेपनि बैंकिङ समूह र विकास बैंक समूहका परिसुचक घटेको थियो । तर, साताको दोस्रो दिन सोमबार बैंकिङ र विकास बैंक समूहमा उच्च दरमा परिसुचक बढेको छ ।

बैंकिङ समूहमा ३.६५ प्रतिशतले वृद्धि भएको छ भने विकास बैंक समूहमा वृद्धिदर ३.४७ प्रतिशत छ । आइतबार उच्‍चदरमा बढेका निर्जीवन बीमा र फाइनान्स समूहका परिसुचक घटेका छन् ।  

बैंकको सेयर किनबेच बढ्यो

आइतबार सेयर कारोबार रकम १० अर्ब नाघेको थियो । सोमबार पनि यो कारोबार १० अर्ब माथि नै छ । सबैभन्दा बढी कारोबार हुनेमा प्रभु बैंकको सेयर छ । यो ५८ करोड रुपैयाँ बराबर किनबेच भएको छ ।

त्यसपछि अत्यधिक कारोबार हुनेमा नबिल बैंक छ । यो बैंकको ३२ करोड २२ लाख रुपैयाँ बराबरको किनबेच भएको छ । ३१ करोड ३५ लाख रुपैयाँ बराबर नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ भने डेप्रोस्क लघुवित्तको ३१ करोड २८ लाख रुपैयाँ बराबर किनबेच भएको छ ।

यसबीच कुल कारोबार रकम १० अर्ब १७ करोड ६५ लाख ९१ हजार ३ सय २७ रुपैयाँ पुगेको छ । ८८ हजार ३ सय ८३ पटकको कारोबारमा १ करोड ९३ लाख ३२ हजार ७ सय २६ कित्ता सेयर किनबेच धएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।

मुल्यसँगै किनबेचमा समेत अगाडी प्रभु बैंक

४० अंकले बढेको प्रभु बैंकको सेयर प्रति कित्ता चार सय ७६ रुपैयाँ पुग्यो । ९ दशमलव १७ प्रतिशतले बढेको यो बैंकको सेयर सर्वाधिक वृद्धि हुने कम्पनीको सुचीमा दोस्रो स्थानमा छ ।

मुल्य मात्र होइन, कारोबारमा समेत प्रभु बैंकको सेयर अगाडी छ । ५८ करोड रुपैयाँ बराबर किनबेच भएको प्रभु बैंकको सेयर सर्वाधिक कारोबार हुने कम्पनीको सुचीमा अग्रस्थानमा परेको हो ।


Author

थप समाचार
x