अर्थ / बाणिज्य

कहिलेदेखि चल्‍छ जयनगर-जनकपुर रेल ?

सुवास कर्ण |
माघ २६, २०७७ सोमवार १७:५३ बजे

जनकपुरधाम : जयनगर-जनकपुर (कुर्था) रेल सञ्‍चालनमा अन्‍यौल देखिएको छ । सरकारले चाँडै सञ्‍चालन हुने दाबी  गरे पनि जनशक्ति व्यवस्थापन हुन नसक्‍दा सञ्‍चालनमा अन्‍यौल देखिएको हो । सोह्र सय एचपी पावरको इलेक्ट्रिक ईन्जिन किनेर असोज २ गते परीक्षण गरिए पनि ४ महिनादेखि सीमावर्ती धनुषाको ईनरुवा स्टेशनमा थन्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही साताअघि धनुषाको ढल्केवरमा आयोजित कार्यक्रममा चाँडै नै रेल उद्घाटन गर्न जनकपुर आउने बताएका थिए । 

तर, भारतीय पक्षले जनशक्ति व्यवस्थापन अभावको कारण देखाउँदै रेल सञ्‍चालन बारे अन्‍यौल रहेको जनाएको छ । गत शुक्रबार राज्य सभामा भारतीय सत्तारुढ दल बिजेपीका सांसद् शुशिलकुमार मोदीको नेपालमा कहिलेदेखि रेल सञ्‍चालन हुन्‍छ भन्‍ने जिज्ञासामा भारतीय रेल मन्त्री पियुस गोयलले जनशक्ति आभावले सञ्‍चालनमा अनिश्चितता रहेको लिखित रुपमै जवाफ दिएका थिए । उनले रेल सञ्‍चालनका लागि मानक परिचालन प्रक्रिया (एसओपी) तयार गरी विदेश मन्त्रालयद्वारा नेपाल रेलवेलाई टिप्पणीका लागि पठाइ सकिएको जानकारी दिएका थिए । तर हालसम्म नेपालबाट कुनै प्रतिक्रिया नआएकोले रेल सञ्‍चालन कहिलेदेखि सुरु हुने भने निश्चित हुन नसकेको उनको जवाफ थियो । 


हुनत जनशक्ति व्यवस्थापनका लागि नेपाल रेलवे कम्पनीले रेल परीक्षणअघि कर्मचारी भर्नाको विज्ञापनसमेत निकालेको थियो । तर विज्ञापनको आधारमा हजारौं निवेदन परे पनि हालसम्म कर्मचारी छनोट हुन सकेको छैन । कर्मचारी परिचालनको कार्यविधिसमेत तयार हुन नसकेको बुझिएको छ । 

यता जयननगर जनकपुर (कुर्था) रेल सञ्‍चालनका लागि प्राविधिक तयारी पूरा भइसकेकोले औपचारिकरूपमा उद्घाटन गर्नासाथ नियमित सञ्चालन
हुने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भारत सरकारले नेपाल सरकारलाई केही समयपछि औपचारिकरूपमा संरचना हस्तान्तरण गर्ने भए पनि अहिले सञ्चालनका लागि जिम्मेवारी लिन लागिएको बताए । 

उनकाअनुसार कम्पनीसँगको समन्वयमा भारतबाट २६ जना प्राविधिक कर्मचारी ल्याउन लागिएको छ । रेल नियमित सञ्‍चालनका लागि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्नेगरी छलफल भइरहेको छ ।

रेल सञ्‍चालनको लागि भाडादर र टिकटका विषयमा यसअघि नै टुङ्गो लगाइ मन्त्रालयमा पठाइ सकिएको छ र कम्प्युटरलगायतका आवश्यक सामग्री खरिद भइसके पनि त्यसलाई सेट गर्न बाँकी छ ।


Author

थप समाचार
x