अर्थ / बाणिज्य

कर्मभूमि समाज र सिटीजन्स बैंकबीच ‘सहुलियतपूर्ण’ कर्जा प्रदान गर्ने सम्झौता

इकागज |
माघ २६, २०७७ सोमबार २०:४ बजे

काठमाडौँः कर्मभूमि समाज र सिटीजन्स बैंक इन्टरनेशनलबीच कर्मभूमि समाजले सिफारिश गरेका व्यवसायहरूमा कर्जा लगानी  गर्ने सम्झौता भएको छ ।

हात्तीवन–१५ ललितपुरमा अवस्थित कर्मभूमि समाज हातमा सीप भएकाहरूलाई उद्यमशील बनाउन बैंक तथा वित्तीय संस्थामार्फत् वित्तीयकरण सुविधा उपलब्ध गराउन मध्यस्थकर्ताको काम गर्दै आएको संस्था हो । 


देशमा उद्यमशीलता प्रवर्धन गरी गरिबी निवारण तथा विपन्न क्षेत्रलाई माथि उकास्ने काममा क्रियाशील कर्मभूमि समाज र सिटीजन्स बैंकबीच साना, मझौला उद्यम (एसएमईज्), व्यावसायिक कृषि र पशुपालन कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केकालाई परियोजना कर्जा, सहुलियतपूर्ण महिला उद्यमशीलता कर्जा र दलित समुदाय उद्यमशीलता कर्जा प्रदान गर्ने सहमति भएको हो ।

कर्मभूमि समाजले कर्जाको आवश्यकता रहेका उद्यमी, व्यवसायी पहिचान गरी ऋण लिनेका तर्फबाट बैंकको आवश्यकता अनुसारका कागजात, प्रस्ताव बैंक समक्ष पेश गर्नेछ । कागजातहरूको पहिलो चरणको जाँचबुझ समाजले गर्नेछ । समाजले नेपाल राष्ट्र बैंकको निर्देशिकाले तोकेबमोजिम शर्तहरू पालना गरी कर्जाका लागि ऋणग्राहीका तर्फबाट उक्त कागजातहरू पेश गर्ने  समाजले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

ऋण लिने पक्ष र बैंकबीचको पुलको रूपमा समाजले ऋण लिने पक्षका क्रियाकलापहरू नजिकबाट अनुगमन गरी सहजकर्ताको भूमिका निर्वाह गर्नेछ । ऋण लिने पक्षका नाममा कर्जा बुकिङ गर्दा समाजको सिफारिशमा भएको हुनेछ । तर कर्जा प्रवाह गर्दा बैंकले आफ्नो आन्तरिक कार्यविधि, जोखिम मूल्यांकन, नेपाल राष्ट्र बैंकको निर्देशिका तथा आफ्नो विवेक प्रयोग गर्ने सम्पूर्ण अधिकार बैंकमा निहीत रहेको हुने सम्झौतामा उल्लेख छ ।  

कर्जा भुक्तानीको प्राथमिक दायित्व ऋणीको हुनेछ । कर्मभूमि समाजले कर्जाको भूक्तानी सेड्युल अनुसार साँवा, ब्याज तथा शुल्क भुक्तानीमा पूर्ण रूपमा सहयोग गर्ने बताइएको छ । 

नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार ब्याजदर र जोखिम बापत्को शुल्क बैंकले निर्धारण गर्नेछ र राष्ट्र बैंकको निर्देशन अनुसार यो परिवर्तन हुन पनि सक्ने उल्लेख गरिएको छ । 

उक्त सम्झौतापत्रमा कर्मभूमि समाजका तर्फबाट कार्यकारी सल्लाहकार राजेन्द्र काफ्ले र सिटीजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन् । 


Author

थप समाचार
x