अर्थ / बाणिज्य

सेयर बजारमा ‘करेक्सन’

इकागज |
माघ २७, २०७७ मंगलबार १५:३४ बजे

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार सामान्य ओरालो लागेको छ । गत साता बिहीबार र यो साताको दुवै कारोबार दिनमा लगाता बढेको नेप्सेमा मंगलबार २७.११ अंकले करेक्सन भएर २५३४.३६ अंकमा रोकिएको छ । नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीहरूको मूल्य मापन गर्ने सेन्सेटीभ इण्डेक्स १.०१ प्रतिशतले घटेर ४६१.८९ अंकमा रोकिएको छ ।

नेप्सेमा मंगलबार विकास बैंक र वित्त कम्पनी समूहबाहेक सबै समूहका परिसूचक ओरालो लागेको छ । आइतबार र सोमबार नेप्सेमा दैनिक कारोबार १० अर्ब नाघेकोमा मंगलबार कारोबार रकम पनि घटेको छ । 


मंगलबार नेप्सेमा १९४ कम्पनीका १ करोड ५९ लाख ८५ हजार पाँच सय ९५ कित्ता सेयर ५१ हजार एक सय ९८ कारोबारमार्फत् ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार एक सय ९३ रुपैयाँमा किनबेच भएको छ ।

मंगलबार सेयर बजार ओरोलो लागेपनि गुडविल फाइनान्स, समृद्धि फाइनान्स र श्री इन्भेस्टमेन्ट फाइनान्सको सेयर मूल्य ९ प्रतिशतले बढेको छ भने कालिका पावर कम्पनीको सेयर मूल्य ५.७७ प्रतिशतले बढेको छ । त्यस्तै नेपाल ल्युब आयल लिमिटेडको सेयर मूल्य पनि झण्डै ५ प्रतिशतले बढेको छ । 

मंगलबार नेप्सेमा ग्रामीण विकास लघुवित्त संस्थाको सबैभन्दा ठूलो २७ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै प्रभु बैंकको २३ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । प्रभु बैंकको ५ लाख १६ हजार ५ सय २९ कित्ता सेयर किनबेच भएको छ । प्रभु बैंकबाहेक सेयर संख्याको हिसाबालले ठूलो परिमाणमा सेयर किनबेच भएका कम्पनीहरूमा सानिमा इक्विटी फण्ड, ग्लोबल आइएमई बैंक, सिद्धार्थ इक्विटी फण्ड तथा कुमारी बैंक लिमिटेड रहेका छन् । 

मंगलबार बजार पुँजीकरण ३४ खर्ब १६ अर्ब २१ करोड २४ लाख ६० हजार रुपैयाँ पुगेको छ । 


Author

थप समाचार
x