अर्थ / बाणिज्य

बैंक तथा वित्तीय क्षेत्रले उचाल्यो सेयर बजार

सात समूहका परिसुचक घट्दा पनि नेप्से ८ अंकले बढ्यो

इकागज |
माघ २८, २०७७ बुधबार १५:२७ बजे

काठमाडौं : २५०० को सीमा पार गरेर पनि निरन्तर उकालो लाग्दै गरेको सेयर बजार सुचक नेप्से मंगलबार २७ अंकले घट्यो । अघिल्लो दिन ३७ अंकको छलाङ मार्दै २५६१ बिन्दूमा पुगेको नेप्से मंगलबार फराकिलो अन्तरले घटेपछि नेप्सेमा करेक्सन आउने धेरैले अनुमान गरेका थिए । तर,  बुधबार ८.६६ अंकले बढेपछि नेप्सेको उकालो अझै नटुंगिने संकेत देखिएको छ ।

बुधबार नेप्से निकै उतारचढाव पार गर्दै २५४३.०३ बिन्दूमा पुगेको छ । सात समूहका परिसुचक घट्दा पनि नेप्से परिसुचक भने बढ्यो । बैंक तथा वित्तीय क्षेत्रको प्रतिनिधित्व गर्ने बैंकिङ र फाइनान्स समूहका परिसुचकले बजारलाई उचाल्न मद्दत पुगेको हो ।


सबैभन्दा बढी सेयर मुल्य बढ्नेमा ग्लोबल आइएमइ बैंक, कुमारी बैंक, प्रभु बैंक र सनराइज बैंक छन् । ग्लोबल आइएमइ बैंकको सेयर प्रति कित्ता २५ रुपैयाँ बढेको छ । यसको मुल्य प्रति कित्ता चार सय ४८ रुपैयाँ पुगेको छ ।

कुमारी बैंकको सेयर कित्तामा १९ रुपैयाँ बढेको छ । कुमारीको सेयर मुल्य प्रति कित्ता ३ सय १३ रुपैयाँ छ । २२ रुपैयाँले बढेको प्रभु बैंकको सेयर प्रति कित्ता चार सय ९२ रुपैयाँ छ । सनराइज बैंकको सेयर १३ रुपैयाँले बढेर ३ सय २४ रुपैयाँ छ । गुर्खाज फाइनान्सको सेयर मुल्य त १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो ।

सात समूहको परिसुचक राताम्मे

कारोबारमा आएका १२ समूहमध्ये सात समूहका परिसुचक राताम्मे भएका छन् । ट्रेडिङ, म्यानुफ्याक्चरिङ र माइक्रोफाइनान्स समूहमा सबैभन्दा बढी गिरावट रह्यो ।

ट्रेडिङ इन्डेक्स ३.२१ प्रतिशतले बटेको छ । म्यानुफ्याक्चरिङ समूहको परिसुचक १.१५ प्रतिशतले घटेको छ भने माइक्रोफाइनान्स समूहमा १ प्रतिशतको गिरावट रह्यो ।

कोभिड-१९ का कारण लगातार ओरालो लागिरहेको होटल समूहमा भने केही सकारात्मक संकेत देखिन थालेको छ । बुधबारको कारोबारमा होटल समूहको परिसुचक २ प्रतिशतले बढ्यो ।

घट्दो कारोबार

पछिल्लो समय १० अर्बभन्दा माथि पुगेको सेयर कारोबार बुधबार ७ अर्ब ६५ करोड रुपैयाँमा खुम्चिएको छ । सबैभन्दा बढी कारोबार हुनेमा बैंकहरू छन् ।

ग्लोबल आइएइ बैंकको ५२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । प्रभु बैंकको सेयर किनबेच ४६ करोड रुपैयाँ बराबर छ । कुमारी बैंकको ३७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ । एनसीसी बैंकको समेत कारोबार २७ करोड ६५ लाख रुपैयाँ छ ।

यसबीच ६२ हजार १५ पटकको कारोबारमा १ करोड ४९ हजार कित्ता सेयर किनबेच भएको छ ।


Author

थप समाचार
x