अर्थ / बाणिज्य

बारामा सूर्य नेपालको सुविधायुक्त अपार्टमेन्ट बन्दै, ११८६६ वर्ग मिटर जग्गामा २५ अपार्टमेन्ट

इकागज |
माघ २९, २०७७ बिहिवार १४:१७ बजे

काठमाडौं :  सूर्य नेपाल प्रालिले आफ्‍ना कर्मचारीहरूलाई आवासीय सुविधा दिनका लागि सुविधायुक्त अपार्टमेन्ट निर्माण गर्ने भएको छ । जितपुर सिमरा उपमहानगरपालिका-०२ मा कम्पनीले आफ्ना प्रबन्धक, कर्मचारी तथा उनका परिवारका लागि अपार्टमेन्ट बनाउन लागेको हो ।

यो आयोजनाको पहिलो चरणमा ५ हजार ४ सय १८ वर्ग मिटरको प्राम्भिक वातावरणीय परिक्षण प्रतिवेदन गत जेठमा सहरी विकास मन्त्रालयले स्वीकृत गरेको थियो । दोस्रो चरणको ५ हजार ५ सय ३९ वर्ग मिटर र क्लब हाउस र रिक्रियसन केन्द्रको ९ सय ७ वर्ग मिटर पेश भएको थियो ।


दुवै चरणको बिल्डिङको उचाइ २६.४ मिटर र ८ तल्लामा बन्ने उल्लेख छ । बिल्डिङले २६ हजार ९ सय ४७ वर्ग मिटर क्षेत्रफल ओगटेको छ ।

प्रस्तावित आयोजनाले स्थानीय समुदायमा रोजगारी सिर्जना हुने उल्लेख छ । स्थानीय बजार प्रवर्द्धित हुनुका साथै आर्थिक विकासमा समेत टेवा पुग्ने बताएको छ ।

वातावरणीय व्यवस्थापन खर्च ४० करोड रुपैयाँ

अपार्टमेन्ट निर्माणले पार्ने नकारात्मक प्रभाव न्यूनिकरणका लागि वातावरणीय व्यवस्थापन खर्च ४० करोड ५० हजार रुपैयाँ लाग्ने प्रतिवेदनमा उल्लेख छ । त्यसबाहेक वातावरणीय अनुगमन खर्च ३ लाख रुपैयाँ लाग्ने भनिएको छ ।

वातावरणीय प्रभावहरू थोरै क्षेत्रमा र मुख्य गरी निर्माण कार्यको समयमा सीमीत रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले सकारात्मक प्रभावहरू नकारात्मक प्रभावहरूको तुलनामा बढी महत्त्वपूर्ण रहेको औल्याएको छ । नकारात्मक प्रभावहरू न्यूनिकरण गर्न सकिने निष्कर्ष प्रतिवेदनले देखाएको छ ।

यस्तो छ भवनको वातावरणीय मुल्यांकन  

यो आयोजना समथर स्थलमा र समुन्द्री सतहबाट करिब १९ मिटरको उचाइमा छ । यो क्षेत्रको जलवायु उष्ण अर्थात वर्षामा न्यानो र जाडोमा चिसो छ । आयोजनाको जग्गा कम्पनीकै स्वामित्वमा छ ।

प्रस्तावित आयोजना पर्ने बारामामा ६ लाख ८७ हजार ७ सय ८ जनसंख्या छ । १ लाख ८ हजार ६ सय ३५ घरधुरी छन् । अपार्टमेन्ट बन्‍ने सिमरा उपमहानगरपालिकाले ३ सय ९ दशमलव ७ वर्ग किलो मिटर क्षेत्रफल ओगटेको छ । यहाँको जनसंख्या १ लाख १४ हजार १ सय ८५ ५ । यहाँ प्रत्येक वर्ष २.२५ प्रतिशतले जनसंख्या बढिरहेको छ ।

यो उपमहानगरपालिकामा विभिन्‍न उद्योगहरू सञ्‍चालनमा छन् । केही नयाँ उद्योगहरू समेत खुल्ने क्रममा छन् । प्रति दिन १५ टन फोहोर विसर्जन हुने गरेको तथ्‍यांकले देखाउँछ ।

यो आयोजना कार्यान्वयनमा फोहोरमैला व्यवस्थापन मुख्य चुनौती रहेको प्रतिवेदनमा उल्‍लेख छ । जमिनमुनि पानीको अधिकतम खपत समेत हुने उल्लेख छ । यस्ता प्रभावले स्थानीय स्रोत साधनमा प्रत्यक्ष सरोकार राख्ने प्रतिवेदनमा भनिएको छ ।


Author

थप समाचार
x