अर्थ / बाणिज्य

कोभिडले घटायो टेलिकमको आम्दानी, ६ महिनाको आम्दानी १७ अर्ब ७२ करोड रुपैयाँ

इकागज |
माघ ३०, २०७७ शुक्रबार १४:१२ बजे

काठमाडौं :  कोभिड-१९ महामारीको प्रभाव नेपाल टेलिकमको ६ महिनाको आम्दानी देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा टेलिकमले १७ अर्ब ७२ करोड ४९ लाख १३ हजार ५ सय ३ रुपैयाँ आम्दानी गरेको छ । यो गत आवको तुलनामा १ दशमलव ७४ प्रतिशतले घटेको हो । गत आवको पहिलो ६ महिनामा कूल सेवा वापतको आय १८ अर्ब ३ करोड ९५ लाख ७६ हजार ८९ रुपैयाँ थियो ।

कोभिड-१९ को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा कमी आएको टेलिकमले जानकारी दिएको छ ।


बैंक तथा वित्तिय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपको प्राप्त हुने ब्याजदर घटेपछि आम्दानी समेत प्रभावित भएको टेलिकमले बताएको छ । अघिल्लो बर्षको प्रथम त्रैमासिकको तुलनामा चालु आवको सोहि अवधिमा घट्न गएको हुँदा व्याज आम्दानीमा करिब २० करोड ७४ लाख रुपैयाँले कमी आएको उसले भनेको छ।

कोभिड-१९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलव्ध गरिएको हुँदा जिएसएम सेवातर्फ अघिल्लो आवको प्रथम त्रैमासिकको तुलनामा डाटाको उपभोग बढेतापनि राजस्वमा कमी आएको छ ।

कोभिड-१९ महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको अभुतपूर्व गिरावट आएको उल्लेख छ ।ओटीटीको वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्दता सेवामा आएको भारी गिरावट आएको टेलिकमले जानकारी दिएको छ ।

उल्लेखित प्रत्यक्ष असरका अतिरिक्त समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि तथा विदेशी मुद्रा सटहि दरमा आएको परिवर्तन आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको छ ।

चालु आवको प्रथम त्रैमासिकमा कूल सेवा वापतको आय ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार ४१ रुपैयाँ थियो । यो अवधिको द्वितीय त्रैमासिक अवधिमा कूल सेवा वापतको आयमा ४५ करोड ४२ लाख ३३ हजार ४ सय २१ रुपैयाँले वृद्धि भई ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार ४ सय ६२ रुपैयाँ छ ।

गत आवको द्वितीय त्रैमासिक अवधिमा कूल सेवा वापतको आय ८ अर्ब ९९ करोड ८७ लाख २९ हजार २ सय ९९ रुपैयाँ थियो । चालु आवको द्वितीय त्रैमासिक अवधिमा कूल सेवा वापतको आयमा ९ करोड ८ लाख ४४ हजार १ सय ६२ रुपैयाँले वृद्धि भई ९ अर्ब ८ करोड ९५ लाख ७३  हजार ४ सय ६२ रुपैयाँ छ ।

चालु आवको प्रथम त्रैमासिकमा खुद मुनाफा १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार ३ सय ८१ रुपैयाँ थियो । चालु आवको द्वितीय त्रैमासिक अवधिमा खुद मुनाफा २५  करोड ३८ लाख ५५ हजार ६ सय ९७ रुपैयाँले  वृद्धि भएको छ । द्वितीय त्रैमासिकमा १ अर्ब ७७ करोड १६ लाख २५ हजार ७९ रुपैयाँ छ ।

 


Author

थप समाचार
x