अर्थ / बाणिज्य

सरकारी स्वीकृतिसँगै बुटवलको शिरमा केबलकार बन्‍ने

चन्द्रागिरी केबलकार समूहकै मुख्य लगानी

बिक्रम खड्का |
माघ ३०, २०७७ शुक्रवार १७:३ बजे

बुटवल : व्यापारिक केन्द्रका रूपमा परिचित बुटवलको शिरमा केबलकार निर्माण हुने भएको छ । बुटवलको उत्तरतर्फको बसन्तपुरमा केबलकार बनाउन लागेको लुम्बिनी केबलकार प्रालिले सबै स्वीकृतिहरू पाएसँगै निमार्णको सुरुवात भएको छ । सरकारले केही दिनअघि मात्र वन क्षेत्र उपयोग गर्न प्रालिलाई स्वीकृति दिएको थियो ।

कार्ययोजना निमार्ण थालेको १४ वर्षमा सरकारी स्वीकृति पाएको संस्थाले अबको दुई वर्षभित्रै केबलकार सञ्‍चालन गर्ने दाबी गरेको छ । मन्त्रिपरिषद्‍को बैठकबाट रुपन्देही र पाल्पा जिल्ला अन्तर्गत पर्ने ६.७ हेक्टर वन क्षेत्र प्रयोगको स्वस्कृति दिएको छ । लुम्बिनी केबलकार प्रालिले २५ वर्षको लागि वन क्षेत्र उपयोग गर्न पाउने सम्झौता गरेको छ । 


लुम्बिनी केबलकारले रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ को चुरे सामुदायिक वन समेतको ३.१६ हेक्टर र पाल्पाको तिनाउ गाउँपालिका–३ को चिउरीडाँडा न्याउली सामुदायिक वन समेतको ३.११ हेक्टर वन क्षेत्र प्रयोग गर्न पाउने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ । सरकारले वनक्षेत्रमा रहेका १ हजार ३ सय ३८ वटा पोल तथा रुखहरू हटाउनसमेत स्वीकृति दिएको छ । 

केबलकार निर्माणको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने तयारी गरिएको छ । बुटवलमा सत्तापक्षको नेकपाले आयोजना गरेको सभामा सहभागी हुन आउन लागेका प्रधानमन्त्री ओलीले सोही दिन केबलकारको  शिलान्यास गर्ने कार्यक्रम छ । 

काठमाडौँको चन्द्रागिरी केबलकारमा सञ्चालन गरेका नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसहितको टोलीले केबलकार सञ्चालन गर्न लागेको हो । बुटवल–३ बमघाटमा तल्लो स्टेसन र तिनाउ–३ बसन्तपुरमा माथिल्लो स्टेसन रहने केबलकारको लम्बाइ करिब ३ किलोमिटर हुने प्रालिका लगानीकर्ता मध्येका एक लालप्रसाद वस्यालले जानकारी दिए ।

पाल्पा क्षेत्रमा पर्ने बसन्तपुरबाट भारतको नौतनवासम्मका दृष्यावलोकन गर्न सकिन्छ । बुटवलमा चर्को गर्मी हुने समयमा पनि सो स्थानको माैसम निकै अनुकुल हुने दाबी गरिएको छ । भौतिक पूर्वाधारको अभावका कारण निकै विकट सो क्षेत्रमा केबलकार निमार्ण भए बुटवल आसपासका क्षेत्रको पर्यटकीय विकास हुने दाबी केवलकार संचालकहरूले गरेका छन् । अस्ट्रियाको कम्पनीले केबलकार निमार्णको जिम्मा पाउने भएको छ । जसले चन्द्रगिरीमा पनि केबलकार निमार्ण गरेको थियो । 
 
केबलकार तथा स्टार होटल, मन्दिरहरूलगायतका अन्य पूर्वाधार निमार्णका लागि झण्डै ३ अर्बको प्रोजेक्ट बनाएर अघि बढिएको सञ्चालक मध्येका एक रमेश शर्माले बताए । उनका अनुसार यो आयोजनामा मुख्य लगानी चन्द्रढकालकै रहेको छ । करिव २५ प्रतिशत भने स्थानीय केही जनप्रतिनिधिहरू लगायतको छ । 

बुटवल–३ वडाध्यक्ष लालप्रसाद वस्याल, ५ का अध्यक्ष तेजप्रसाद सुनारलगायतका स्थानीय केवलकार कम्पनीमा लगानीकर्ताका रूपमा देखिएका छन् । उनीहरूमार्फत स्थानीय समस्याहरूको समाधान गरिएको छ । केही समयअघि स्थानीय बुटवल सामुदायिक वन उपभोक्त समितिका प्रतिनिधिहरूले कम्पनीसँग स्थानीयलाई रोजगारी, तथा अन्य सुविधाको माग राखेका थिए । त्यसमा कम्पनी सकारात्मक देखिएपछि स्थानीय विवाद तत्कालका लागि देखिएको छैन । 

उक्त आयोजनाले बुटवल क्षेत्रको प्रयटनमा विशेष टेवा पुग्ने बुटवल उपमहानगरपालिकाले दाबीगरेको छ । आयोजनाको तल्लो स्टेसन निमार्ण स्थालमा भेटिएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जतिसक्दो आयोजना सम्पन्नका लागि आफूहरूको सकारात्मक सहयोग हुने बताए । 

उनले भने, ‘स्थानीय केही समस्याहरू आए हामीले सहजिकरण गरिदिन्छौं, माथीबाट सबै स्वीकृति गरेका ल्याएका कारण आयोजनामा अरु समस्या देखिएन, अब छिट्टै बन्ने छ ।’

उता पाल्पाको तिनाउ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बसन्तपुरमा केबलकार बन्ने कुराले आफूहरू उत्साहित भएको बताए । उनले आफ्नोतर्फबाट आवश्यक सहयोग हुने पनि बताए । 

नुवाकोटमा पनि केवलकारको तयारी 
बुटवलकै शिर पाल्पाको नुवाकोटसम्म पनि केवलकार बन्ने भएको छ । अधिकांश स्थानीयको लगानी रहेको सिद्धार्थ केबुलकार प्राइभेट लिमिटेडले पनि अबको पन्ध्र दिनमा केवलकार निमार्णको सुरुवात गर्ने भएको छ । 

बुटवल उपमहानगरपालिका–१ देउरालीबाट पाल्पाको नुवाकोटगढीसम्म केबुलकार सञ्चालनको प्रक्रिया थालेको कम्पनीको दाबी छ । उक्त कम्पनीलाई पनि वन मन्त्रालयले पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गरी स्वीकृत गरिसकेको छ । पूरक वातावरणीय प्रभाव मूल्याङ्कन भएपछि केबुलकार जाने बाटोमा पर्ने एक हजार २ सय रूख काट्न स्वीकृत भैसकेको सिद्धार्थ केबुलकार प्रालिका अध्यक्ष राजेन्द्र सिंह गुरुङले बताए । 

यसअघि वन मन्त्रालयको स्वीकृतिमा पहिलो चरणमा बटम स्टेशनका केही रूख काटिएको थियो । उक्त कम्पनीमा ९९ जना स्थानीय व्यवसायी मिलेर ८० करोडमार्फत प्रक्रिया थलिएको सञ्चालक मध्येका एक माधव नेपालले बताए । सो केबुलकारको लम्बाइ पनि दुई किलोमिटर हुने छ । बुटवल–नुवाकोट केबुलकारका लागि सिद्धार्थ केबुलकार प्रालिले डीपीआरसमेत सम्पन्न गरिसकेको छ ।

केबुलकार सञ्चालनपछि आन्तरिक एवं बाह्य पर्यटकहरू नुवाकोटसम्म पुग्ने केबुलकार प्रालिका सञ्चालक नेपालले दाबीसमेत गरे । बुटवलबाट उत्तर ११ किलोमिटरको दूरीमा नुवाकोट रहेको छ । अहिले पनि सो स्थानमा  गर्मी छल्न र वनभोज खान जाने क्रम सुुरु भएको छ । नुवाकोटको पर्यटन प्रवद्र्धनका लागि प्रदेश ५ सरकारले सांस्कृतिक डबली पनि निर्माण गर्दैछ । सो स्थानमा ट्रयाकिङ तथा गाडिमा पनि जान सकिन्छ ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x