अर्थ / बाणिज्य

प्रदेश-२ सरकार भन्छ : एक वर्षमै ३५६ कि.मी. सडक निर्माण भयो

सुभाष कर्ण |
फागुन १, २०७७ शनिबार १७:४० बजे

जनकपुरधाम : प्रदेश २ सरकारले गत आर्थिक वर्षमा ३ सय ५६ किलोमिटर सडक निर्माण गरकेो दाबी गरेको छ । प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै त्यती सडक निर्माण भएको बताएको हो । 

भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले आर्थिक वर्ष २०७६/०७७ ले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै महामारीका बेलामा पनि पुर्वाधार निर्माणतर्फ सरकार सफल भएको बताए । उनले महामारीका कारण आशा गरे अनुरुप कार्य गर्न नसकेपनि उपलब्ध श्रोत साधनलाई समुचित प्रयोग गर्दै प्रदेशभित्र सडक निर्माण, सिँचाई, खानेपानी, भौतिक संरचना निर्माणलगायतको क्षेत्रमा उल्लेखनीय काम भएको बताए । 
 
मन्त्री सोनलले कोभिड महामारीको प्रकोपका बावजुद प्रदेश भित्र आर्थिक वर्ष २०७६/०७७मा कुल ३ सय ५६ किलोमिटर सडक निर्माण गरिएको बताए । जसमध्ये ५१ किलोमिटर कालोपत्रे सडक, ७५ किलोमिटर ढलान, १ सय ७० किलोमिटर ग्राभेल तथा ६० किलोमिटर नयाँ बाटो खोल्ने गरी निर्माण गरिएको उनको भनाइ थियो । 
 
प्रगति विवरण अनुसार सिँचाईतर्फ ५ हजार ४ सय ३० हेक्टर जग्गा सिंचित गर्नेगरी  ८ वटै जिल्लामा मझौला सिँचाई योजना कार्यान्वयनमा ल्याइने बताए । मन्त्रालयको प्रगति विवरणमा गत आर्थिक वर्षमा प्रदेशभित्र २६ वटा धर्मशाला निर्माण, ८ वटै जिल्ल्लामा गरी ९ वटा दलित छात्रावास निर्माण, ८ वटा ज्येष्ठ नागरिक आवास निर्माण कार्य सम्पन्‍न भएको उल्लेख छ । 


संघ सरकारको सहयोगमा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले संचालन गर्दै आएको जनता आवास कार्यक्रमअन्तर्गत गत २ आर्थिक वर्षमा २ हजार २ सय १ घर निर्माण कार्य सम्पन्‍नगरी हस्तान्तरण गरिसकिएको विवरणमा उल्लेख छ । चालु आर्थिक वर्ष जनता आवास कार्यक्रमअन्तर्गत ४ हजार ६ सय ५९ घर निर्माण कार्य सम्पन्‍न गर्ने लक्ष्य रहेको सोनलले बताए ।

कार्यक्रममा मन्त्री सोनलले फागुन महिना भित्रै प्रदेश परिवहन भनिएका यातायात सेवा संचालन गरिने जानकारी दिए । करीब चार महिना अगावै प्रदेश सरकारले प्रदेश परिवहनका लागि ५ वटा बस किनेर ल्याइसकेको छ । 


Author

थप समाचार
x