अर्थ / बाणिज्य

अघिल्लोपटक गभर्नरको सिफारिश तीन महिना दराजमा थन्क्याएका विष्णु पौडेलले कसलाई बनाउलान् डेपुटी गभर्नर ?

इकागज |
फागुन २, २०७७ आइतबार १०:३७ बजे

काठमाडौँः संयोगवश नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्ति गर्ने समयमा घुमिफिरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका महासचिव विष्णु पौडेल अर्थमन्त्री छन् । नेपाल राष्ट्र बैंकको दुईजना डेपुटी गभर्नरको पदावधि फागुन १८ देखि रिक्त हुँदैछ ।

नेपाल राष्ट्र बैंकका गभर्नरको सिफारिशमा अर्थमन्त्रीले डेपुटी गभर्नर नियुक्तिका लागि मन्त्रिपरिषद्मा नामहरू निर्णयार्थ पेश गर्छन् । यसअघि २०७२ मंसीरमा तत्कालीन डेपुटी गभर्नरद्वय महाप्रसाद अधिकारी र गोपालप्रसाद काफ्ले सेवा निवृत्त भएपछि तत्कालीन गभर्नर चिरञ्जिवी नेपालले दुई डेपुटी गभर्नरको लागि चार जना कार्यकारी निर्देशकहरू शिवनाथ पाण्डे, चिन्तामणी शिवाकोटी, शिवराज श्रेष्ठ र नारायणप्रसाद पौडेलको नाम सिफारिश गरेका थिए । अर्थमन्त्रीले उक्त सिफारिशको फाइल तीन महिना दराजमा थन्क्याएर नाम सिफारिश भएका सबैलाई भेट पनि दिएको जानकारहरू बताउँछन् । 


डेपुटी गभर्नर रिक्त भए भएपछि समयमा नियुक्ति गर्नुको साटो राष्ट्र बैंकबाट आएका सिफारिश ‘मैले नमागेसम्म नभिक्नु’ भनेर तत्कालीन अर्थसचिव लोकदर्शन रेग्मीलाई थन्क्याउन लगाइदिएका थिए । तीन महिनासम्म डेपुटी गभर्नरको नियुक्ति नगरिदिएपछि तत्कालीन गभर्नर चिरञ्जीवी नेपाल राष्ट्र बैंकभित्रै पनि अप्ठेरोमा परेका थिए । समयमा निर्णय नगरिदिएर राष्ट्र बैंकका कामकारबाहीलाई प्रभावित बनाएका तत्कालीन अर्थमन्त्री पौडेलले यसपटक कसलाई नियुक्त गर्न राष्ट्र बैंकका गभर्नरसँग सिफारिश माग्ने हुन् यकिन भैसकेको छैन ।

तर राष्ट्र बैंककै कार्यकारी निर्देशक एवं यसअघि लुम्बिनी प्रदेशको योजना आयोगका उपाध्यक्ष प्रकाश श्रेष्ठलाई उनले अर्थ मन्त्रालयमा सल्लाहकार बनाएकाले उनलाई पक्कै डेपुटी गर्भर बनाउँछन् भन्ने अनुमान नेपाल राष्ट्र बैंक भित्र छ । डेपुटी गभर्नरको नियुक्ति समयमा नहुँदा विभिन्न विभागहरूलाई नेतृत्व गर्नेदेखि अन्तर्राष्ट्रिय संस्थाहरूसँगको समन्वय समेत प्रभावित हुन्छ । 

प्रधानमन्त्री केपी शर्मा ओली र पौडेलले रुचाएका व्यक्तिहरू नै डेपुटी गभर्नर बन्छन् भन्ने यकिन भने छैन । तरल राजनीतिक परिस्थिति, सर्वोच्चबाट संसद् विघटन सम्बन्धी मुद्दाको फैसलाले राजनीतिक कोर्स र शक्ति केन्द्र परिवर्तन गर्न सक्ने र फागुन १८ पछिसम्म वर्तमान सरकारले नै नियुक्त गर्ने अवस्था रहेमा पनि सरकार टिकाउने सन्तुलनमा डेपुटी गभर्नरमा भागबण्डा पनि हुनसक्ने देखिएको छ । 

राजनीतिक लबिङ र शक्तिको आधारमा प्राप्त हुने पद भएकाले डेपुटी गभर्नर बन्नका लागि सबै शक्ति केन्द्रमा उत्तिकै दौडधूप भइरहेको छ । वर्तमान सरकारकै निरन्तरता भएमा अर्थमन्त्री विष्णु पौडेलका सल्लाहकार रहेका कार्यकारी निर्देशक  श्रेष्ठ र राष्ट्रपति विद्यादेवी भण्डारीको समेत रोजाइ रहेकी र प्रधानमन्त्री केपी शर्मा ओलीकी गृह जिल्ला (झापा)की नीलम ढुङ्गाना तिमल्सिना रहेकी छिन् । त्यस्तै, अर्का कार्यकारी निर्देशक देव कुमार ढकाल पनि डेपुटी गभर्नरको तीव्र आकांक्षी हुन् । 

यसअघि युवराज खतिवडा गभर्नर छँदा अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशकका लागि सल्लाहकारमा ढुङ्गानालाई नपठाएर राष्ट्र बैंकका कनिष्ठ कर्मचारी आफ्ना छोरीज्वाइँ रामशरण खरेललाई पठाएका थिए । यसपटक राष्ट्रपति भण्डारीले उनलाई अन्याय गर्न नहुने भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीलाई ढुङ्गानाको नाम सिफारिश गरिसकेको बताइन्छ । प्रतिनिधिसभा पुनर्स्थापना भएको खण्डमा भने मिलिजुली सरकार बन्न सक्ने भएकाले डेपुटी गभर्नर दुईओटा दलले आपसमा बाँडेर नियुक्त गर्नेछन् । त्यसमा आफ्नो रोजाइका व्यक्तिलाई डेपुटी गभर्नर बनाउने कि राष्ट्रपति रिझाउने भन्नेमा अर्थमन्त्री बिलखबन्दमा पर्ने देखिन्छ । 

राष्ट्र बैंकका १७  कार्यकारी निर्देशकहरूमध्ये ९ जनाले डेपुटी गभर्नर बन्नका लागि प्रतिस्पर्धा तीव्र पारेका छन् । श्रेष्ठ, ढुङ्गाना, ढकालसहित भुवन कँडेल, पिताम्बर भण्डारी र सुमनकुमार अधिकारी पनि डेपुटी गभर्नर बन्ने दौडमा छन् । यसअघि चिरञ्जीवि नेपाल गभर्नर छँदा अनुसन्धान विभागको नेतृत्व पाएका गुणाकर भट्टलाई पनि नेपाली कांग्रेसँगको भागबण्डामा सम्भावित उम्मेद्वारको रूपमा हेरिएको छ  । नेपाली कांग्रेसले भागबण्डा पाएमा पिताम्बर भण्डारी पनि त्यत्तिकै प्रबल दाबेदार रहेको बताइन्छ । 

अर्थमन्त्री पौडेलले यसअघि डेपुटी गभर्नरको नियुक्ति ढिला मात्र गरेनन्, राजनीतिक आस्थाका आधारमा कार्यसम्पादनमा कमजोर र आचरणमा समेत प्रश्न उठाइएका व्यक्तिलाई डेपुटी गभर्नर बनाए । डेपुटी गभर्नर श्रेष्ठ केही समय अघि फर्जीको अभियोगमा निलम्बित समेत भए । यसपटककको उनलाई त्यो गल्ती सच्याउने अवसर छ । 


Author

थप समाचार
x