अर्थ / बाणिज्य

मौद्रिक नीतिको समीक्षाले सेयर धितो कर्जा यथावत् राखेपछी फेरि बढ्यो सेयर बजार

इकागज |
फागुन ३, २०७७ सोमबार १६:२४ बजे

काठमाडौँः नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीतिको समीक्षामा सेयर धितो सम्बन्धी कर्जा यथावत् राखेपछि सोमबार सेयर बजारमा सोमबार उछाल आएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ९२.४२ अंक अर्थात् ३.७१ प्रतिशतले बढेको छ । 

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सेयर धितो कर्जा (मार्जिन लेण्डिङ्ग) कसिलो बनाउने अनुमान अनुसार गत साता सेयर बजारमा निरन्तर बिक्रीको चाप देखिएको थियो । नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीहरूको मूल्य प्रतिबिम्बित गर्ने सेन्सेटिभ इण्डेक्स १५.३३ अंक अर्थात् ३.३७ प्रतिशतले बढेको छ । 


आज नेप्सेमा सबै समूहका परिसूचकहरू उकालो लागेका छन् । गत साता घटेको लघुवित्त समूहका परिसूचक आज सबैभन्दा उच्च रूपमा ८.७४ प्रतिशतले बढेको छ । नेप्सेमा सोमबार ११ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

छिमेक लघुवित्त, ग्रामीण विकास लघुवित्त बैंक, मिथिला लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था, एनएमबी माइक्रोफाइनान्स, आरएसडीसी लघुवित्त वित्तीय संस्था, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर एकै दिनमा १० प्रतिशत माथि बढेको हो ।

आज नेप्सेमा २०५ कम्पनीको २ करोड २४ लाख ४७ हजार एक सय ५७ कित्ता सेयर ६८ हजार तीन सय १९ करोबारमार्फत् १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६ सय ६९ रुपैयाँमा किनबेच भएको छ । 

सेयर बजारमा कुल पुँजीकरण ३५ खर्ब ६३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । 
 


Author

थप समाचार
x