अर्थ / बाणिज्य

कर्मभूमि समाज र एनबी बैंकबीच ‘सहुलियतपूर्ण कर्जा’ प्रदान गर्ने सम्झौता

इकागज |
फागुन १०, २०७७ सोमबार १९:४ बजे

काठमाडौँः कर्मभूमि समाज र नेपाल बंगलादेश (एनबी) बैंकबीच कर्मभूमि समाजले सिफारिश गरेका व्यवसायहरूमा कर्जा लगानी  गर्ने सम्झौता भएको छ ।
सीप भएकाहरूलाई उद्यमशील बनाउन बैंक तथा वित्तीय संस्थामार्फत् कर्जा सुविधा उपलब्ध गराउन मध्यस्थकर्ताको काम गर्दै आएको कर्मभूमि समाज र बैंकबीच देशमा उद्यमशीलता प्रवर्धन गरी गरिबी निवारण तथा विपन्न क्षेत्रलाई माथि उकास्न साना, मझौला उद्यम (एसएमईज्), व्यावसायिक कृषि र पशुपालन कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केकालाई परियोजना कर्जा, सहुलियतपूर्ण महिला उद्यमशीलता कर्जा र दलित समुदाय उद्यमशीलता कर्जा प्रदान गर्ने सहमति भएको हो ।

सम्झौता अनुसार कर्मभूमि समाजले कर्जाको आवश्यकता रहेका उद्यमी, व्यवसायी पहिचान गरी ऋण लिनेका तर्फबाट बैंकको मापदण्ड अनुसारका कागजात, प्रस्ताव बैंक समक्ष पेश गर्नुका साथै कागजातहरूको पहिलो चरणको जाँचबुझ समेत गर्नेछ । यसका साथै समाजले नेपाल राष्ट्र बैंकको निर्देशिकाले तोकेबमोजिम शर्तहरू पालना गरी कर्जाका लागि ऋणग्राहीका तर्फबाट उक्त कागजातहरू तथा ऋणीका बारेमा बैंकका लागि आवश्यक जानकारी पेश गर्नेछ ।


ऋण लिने पक्ष र बैंकबीचको पुलको रूपमा समाजले ऋण लिने पक्षका क्रियाकलापहरू नजिकबाट अनुगमन गरी दुवै पक्षका बीच सहजकर्ताको भूमिका निर्वाह गर्ने बताइएको छ । ऋण लिने पक्षका नाममा कर्जा बुकिङ गर्दा समाजको सिफारिशमा भएको हुने तर कर्जा प्रवाह गर्दा बैंकले आफ्नो आन्तरिक कार्यविधि, जोखिम मूल्यांकन, नेपाल राष्ट्र बैंकको निर्देशिका तथा आफ्नो विवेक प्रयोग गर्ने सम्पूर्ण अधिकार बैंकमा निहीत रहने सम्झौतामा उल्लेख छ ।

कर्जा भुक्तानीको प्राथमिक दायित्व ऋणीको हुनेछ । बैंकसँगको सम्झौता अनुसार कर्मभूमि समाजले कर्जाको भूक्तानी सेड्युल अनुसार साँवा, ब्याज तथा शुल्क भुक्तानीमा पूर्ण रूपमा सहयोग गर्ने उल्लेख छ ।

सहुलियत कर्जा सम्बन्धि सरकारको नीति तथा नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार ब्याजदर र जोखिम बापतको शुल्क बैंकले निर्धारण गर्नेछ र राष्ट्र बैंकको निर्देशन अनुसार यो परिवर्तन हुन सक्ने जनाइएको छ । यसका साथै बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालनका लागि कर्मभूमि समाजलाई सहयोग गर्ने भएको छ ।

उक्त सम्झौतापत्रमा कर्मभूमि समाजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजु नेपाल  र एनबी बैंकका एसएमई तथा रिटेल बैंकिङ प्रमुख सुदीन ढुङ्गेलले हस्ताक्षर गरेका छन् ।
 


Author

थप समाचार
x