अर्थ / बाणिज्य

अन्तिम सवा घण्टाको कारोबारमा पहिरो जानबाट जोगियो सेयर बजार

इकागज |
फागुन ११, २०७७ मंगलबार १५:४५ बजे

काठमाडौँः मंगलबार ‘प्रि–ओपनिङ’पछि लगातार ओरालो लागेको सेयर बजार कारोबार समयको अन्तिम सवा घण्टामा पुनः लयमा फर्केको छ । मंगलबार सेयर बजार परिसूचक (नेप्से इण्डेक्स) शून्य दशमलव ८१ प्रतिशत अर्थात् २१.१६ अंकले घटेर २,५८६.५१ बिन्दूमा पुगेको छ । पछिल्लो एक घण्टाको कारोबारले सेयर बजारमा पहिरो जानबाट जोगाएको छ । 

बजार निरन्तर बुल ट्रेण्डमा रहिरहँदा लगानीकर्ताले दीर्घकालीन प्रतिफल (बोनस र हकप्रद सेयर) प्रतिफलका लागि लगानी गरेको विश्लेषण भइरहँदा बजारको प्रवृत्ति भने त्यस्तो देखिएन । छाटो समयको लाभ हिसाब गरेर सेयर बेचेर बाहिरिन खोज्ने लगानीकर्ताको चाप बजारमा देखिन्छ । सेयर बिक्री गरेर बाहिरिन खोज्ने लगानीकर्ता धेरै हुँदा मंगलबार बिक्रीका लागि राखिएको सेयर नै बिक्री भएन । यद्यपि प्रि–ओपनिङमा उक्त कम्पनीहरूको सेयर मूल्य ह्वात्तै बढेको थियो । सोमबार र मंगलबार १०–१० प्रतिशतले बढेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफा)को सेयर मंगलबारकै कारोबारमा ऋणात्मक सर्किट ब्रेकर लागेर अन्तिम कारोबार मूल्य ५९४ रुपैयाँ प्रतिकित्ता तय भएको छ । 


मंगलबार नेप्सेमा ट्रेडिङ समूहबाहेक सबै उपसमूहकका परिसूचकहरूमा गिरावट आएको छ । ट्रेडिङ समूहको परिसूचक ०.९ प्रतिशतले बढेको छ । नेपाल टेलिकम समेतको सेयर सूचीकरण भएको अन्य समूहमा सबैभन्दा ठूलो गिरावट (२.३३ प्रतिशत) आएको भएपनि नेपाल टेलिकमको सेयर मूल्य भने १.४८ प्रतिशतले बढेर १,३४५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

यसबाहेक सबै समूहका परिसूचक ऋणात्मक छन् । बैंकिङ्ग समूह ०.४१, होटल १.५४, विकास बैंक १.१२, जलविद्युत् ०.६, वित्त ०.५९, निर्जीवन बीमा ०.४, म्यानुफ्याक्चररिङ र प्रडक्सन १.६८, अन्य २.३३, माइक्रोफाइनान्स ०.१४, जीवन बीमा ०.११ र म्युचुअल फण्ड १.१९ प्रतिशतले गिरावट आएको छ । 

सोमबार सेयर मूल्य १० प्रतिशतले बढेका निफ्रा र आँखु खोला हाइड्रोपावरको सेयर मूल्यमा आज क्रमशः १० र ६.६७ प्रतिशतले गिरावट आएको छ । युनिलिभर नेपाल र एनएमबी (५०) को सेयर मूल्य पनि ५ प्रतिशतभन्दा धेरैले गिरावट आएको छ । 

यद्यपि, नेपाल फाइनान्स लिमिटेड, अपि पावर लिमिटेड, लिबर्टी इनर्जी कम्पनी र हिमालयन पावर पार्टनर लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । 

मंगलबार निफ्राको १० लाख ८१ हजार ३९५ कित्ता सेयर ११ हजार ५५ ओटा कारोबारमार्फत् ७३ करोड ९४ लाख ५२ हजार ५ सय १८ रुपैयाँमा किनबेच भएको छ । यसका अतिरिक्त माथिल्लो तामाकोसी, नबिल, एनआइसी एसिया र ग्लोबल आइएमइ बैंकको ठूलो परिमाणमा सेयर खरिद–बिक्री भएको छ । 

मंगलबार नेप्सेमा २०५ कम्पनीको ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार चार सय २६ रुपैयाँ मूल्यका एक करोड ७७ लाख १४ हजार नौ सय १२ कित्ता सेयर ८३ हजार तीन सय ५७ कारोबारमार्फत् खरिद–बिक्री भएको छ ।


Author

थप समाचार
x