अर्थ / बाणिज्य

गत वर्षको तुलनामा वाणिज्य बैंकको कर्जा वृद्धि ६० प्रतिशत

इकागज |
फागुन १४, २०७७ शुक्रबार १९:२४ बजे

काठमाडौँः वाणिज्य बैंकहरूको कर्जा वृद्धि उल्लेख्य बढेको छ । साउनदेखि फागुनको पहिलो सातासम्म ४ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल कर्जा प्रवाह २ खर्ब ६८ अर्ब रुपैयाँ थियो । 

गत वर्ष फागुनपछि कोभिड–१९ महामारीको संक्रमण फैलन नदिन बन्दाबन्दी गरेपछि आर्थिक क्रियाकलाप सुस्त भएसँगै कर्जा प्रवाह घटेको थियो । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहालले असोजयता कर्जा प्रवाहको रफ्तार बढेको बताए । कर्जा प्रवाह वृद्धिसँङ्ग निक्षेपको कर्जाको तुलनामा स्रोत (निक्षेप र प्राथमिक पुँजी योग) अनुपात अहिले ७६.०१ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले अहिले यो अनुपात ८५ प्रतिशतभित्र राख्नुपर्ने व्यवस्था गरेको छ । यसअघि स्रोतको ८० प्रतिशतसम्म मात्र कर्जा दिन पाइने व्यवस्था थियो । 


नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष दाहालले अहिले बैंकहरूसँग अधिक तरलता १०० अर्ब रुपैयाँभन्दा कम रहेको बताए । 

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ६० प्रतिशतले बढ्नु उत्साहजनक भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । ‘गत वर्ष चैतयता कोभिड–१९ महामारीका कारण कर्जा प्रवाह घटेको थियो । विस्तारै जनजीवन सामान्य हुँदै उद्योग र व्यवसाय सुचारू भएपछि कर्जाको माग पनि बढेको छ,’ उनले भने ।

नेपाल राष्ट्र बैंकले गरेको व्यवसाय सञ्चालन पुनरावृत्ति सर्वेक्षणले गत वर्ष असारको तुलनामा पुस मसान्तमा व्यवसाय सञ्चालन दर दोब्बर बढेको उनले बताए । ‘गत असारमा २८.७७ प्रतिशत मात्र सञ्चालनमा आएको थिए, पुस मसान्तमा पुनः तिनै उद्योग, व्यवसायको सर्वेक्षण गर्दा ५४ प्रतिशत पूर्ण रूपमा सञ्चालनमा आइसकेका थिए,’ उनले भने । 

यस आर्थिक वर्षमा फागुन पहिलो सातासम्म वाणिज्य बैंकहरूको निक्षेप भने ३ खर्ब ९ अर्ब रुपैयाँले बढेको छ । गत वर्ष सोही अवधिमा निक्षेप एक खर्ब ८८ अर्ब रुपैयाँले बढेको छ । गत आर्थिक वर्षमा फागुनको पहिलो सातासम्म वाणिज्य बैंकहरूको कुल निक्षेप ३० खर्ब ६६ अर्ब रुपैयाँ र कर्जा २७ खर्ब ५३ अर्ब रुपैयाँ रहेको थियो । 

चालु आर्थिक वर्षमा फागुन पहिलो सातासम्म वाणिज्य बैंकहरूको कुल निक्षेप ३७ खर्ब ९९ अर्ब रुपैयाँ र कर्जा ३३ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ । 


Author

थप समाचार
x