अर्थ / बाणिज्य

कारबाहीमा परेको सांग्रीलाको सेयर कारोबार खुल्यो

इकागज |
फागुन १८, २०७७ मंगलबार १२:४६ बजे

काठमाडौं : नेपाल स्टक एक्‍सचेञ्‍ज (नेप्से)को कारबाहीमा परेर बन्द भएको सांग्रीला डेभलपमेन्ट बैंकको सेयर कारोबार फुकुवा भएको छ । कारोबार समय चलिरहेको अवस्थामा लाभांश बाँडेको सूचना चुहाएको भन्दै नेप्सेले प्रतिबन्ध लगाएको थियो ।

आगामी दिनमा यस्ता विषयप्रति संवेदनशीलतालाई ख्याल गर्न निर्देशन दिँदै नेप्सेले कारोबार खोलेको हो । नेप्सेले पत्राचार गर्दै भनेको छ, 'आगामी दिनमा यस्ता विषयप्रति संवेदनशिलतालाई मध्य नजर गर्नुहुन सचेत गराउँदै कम्पनीको बन्द रहेको धितोपत्रको दोस्रो बजार फुकुवा गरिएको छ ।'


प्रतिबन्ध लगाएकै दिन सांग्रीला डेभलपमेन्ट बैंकले स्पष्टीकरण दिएको थियो । सांग्रीलाले 'अबका दिनमा नियमअनुसार सूचना पेश गर्ने' आशयसहितको स्पष्टीकरण नेप्सेमा बुझाएको थियो ।   

उसले सञ्‍चालक समितिको निर्णय तुरुन्‍त पठाउने मनशायले पत्र पठाएको बताएको थियो । नेप्सेले मुल्य प्रभावित हुनेगरी सूचना पठाएको भन्दै सांग्रीलाको सेयर कारोबारमा रोक्का राखेको थियो ।

सोमबार बैंकको बिहान १०:३० बजे बसेको २६०औं सञ्चालक समितिको बैठकबाट सेयरधनीहरूलाई आर्थिक वर्ष २०७६/०७७ को सञ्‍चित मुनाफाबाट चुक्ता पूँजी  को ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.२६३२ प्रतिशतले हुन आउने रकम ६८ लाख ५९ हजार ५ सय ५० नगद लाभांशसमेत गरी जम्मा ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

  


Author

थप समाचार
x